कविता : म टुलुटुलु हेरिरहेछु

तिनै मजदुर/श्रमिक
जसले मेरो घर बनाए
मन्दिर, मस्जिद, चर्च बनाए
मुर्ति बनाए, पार्क बनाए
स्कुल, हस्पिटल, अफिस, दरबार बनाए
रंग्याए अनि सुन्दर बनाए

कपडा, जुत्ता सिलाए
रिक्सा, गाडी, टेम्पो चलाए
फलफूल र तरकारी मेरो घर पुर्याए
चटपट, पानीपुरी, मिठाइ बनाए
मेरो जीवन सुन्दर अनि समृद्ध बनाउन
उनीहरुको धेरथोर योगदान छ ।

आज घाम, पानी नभनी
भोकैभोकै
सडकै सडक
असिनापसिना भई
कुम्लो बोकेर हिडिरहदा
म टुलुटुलु हेरिरहेकी छु

सोचिरहेछु
मेरो सुन्दर जीवन
अनि सुन्दर देश बनाउन
उनीहरुले पुर्याएको
योगदानको बदला
म कसरी तिरु ?

आफ्नै गास कटाएर पनि
धेरथोर खाना पस्किन सक्दिन र ?
पानी र खाजा दिन सक्दिन र ?
जातजाति, धर्म, संप्रदाय वर्गभन्दा माथि उठेर
अत्मिय दाजुभाइ, दिदीबहिनीका लागि
म मानवीय धर्म कसरी निभाऊ
उनीहरुलाइ कसरी सघाउ
के टुलुटुलु हेरेर बसौ ?
म अत्यासिएकी छु, छट्पटिएकी छु ।