कविता : सीमाबाहिरको नागरिक

छु सीमा बाहिर
देशी पुलिस र सेना छन्
सीमाभित्र जाने कोशिश हो
त्यहाँ नेपाली पुलिस र सेना छन्
खल्तीमा यौटा नागरिकता छ
जसमा ‘नेपाली’ लेखिएको छ
खै कुन हो त मेरो देश ?

सीमा बाहिर
जहाँबाट निस्कन खोजिरहेको छु
त्यो नेपाल होईन
संसार त्रस्त छ
कोरोना भाइरसको संत्रास व्यापक छ
सीमाभित्र
जहाँ म पस्न खोजिरहेको छु
मेरो प्रवेश ‘लक डाउन’ले रोकिएको छ
के त्यही होइन र मेरो देश ?
फेरी किन म सीमा बाहिर ?

म श्रमिक
जहाँको विकासका लागि
आफ्नो सपना र पसिना लगाएको छु
संकटको समय म विदेशी भएको छु
म अभाव र गरिबीले विदेशीएको युवक
आफ्नो कमाईको रेमिटेन्स
नेपालको अर्थमन्त्रीको
कूल गार्हस्थ उत्पादनमा बुझाएको छु
संकटको समय म विदेशिएको नेपाली भएको छु
श्रम र पसीना मोदीजीलाई बेचेको हुँ, तर
रेमिटेन्स ओलीजीलाई नै पठाएको छु, र
संकटको घडिमा
सीमा बाहिरको खुला आकास मुनि
मानिसहरुको भीडमा खाँदिएको छु

जहाँ मोदी र ओलीका भाईरसहरुबाट
अहिलेसम्म बाँचेको छु
हल्ला सुन्छु मोदीजीले
मास्क लगाउ, घरभित्र बस र बारम्बार हात धोउ
भन्नु भएको छ रे
देशमा सरकार छ
ढुक्कसंग घरभित्र बस भन्नु भएको छ रे
हल्ला सुन्छु ओलीजीले
मास्क लगाउ, घरभित्र बस र बारम्बार हात धोउ
भन्नु भएको छ रे
देशमा चनाखो सरकार छ,
घरभित्र सुरक्षित बस भन्नु भएको छ रे
खै त घर ?
म त घर खोजिरहेको छु

दुबै देशका
सीमामा बसेका सुरक्षाकर्मीहरु
रोकिरहरेका छन् मलाई
खल्तीमा यौटा नागरिकता छ
जसमा ‘नेपाली’ लेखिएको छ
खै कुन हो त मेरो देश ?

मात्र ‘मास्क’ लगाएका सरकारहरु
टेलिभिजनको पर्दाभित्र ‘लक’ डाउन भएर
‘साबुन’ र ‘सेनिटाइजर’ दलेर हातमा
मुखबाट चिप्ला कुराहरु ओकलिरहेको बताउँछन्
सीमा बाहिर र भीत्रका लगभग म जस्तै
निम्छरा सुरक्षाकर्मी
वास्तवमा तिनीहरुले पनि
सोधिरहेका होलान्
मैले जस्तै
खै कुन हो त मेरो देश ?
खै त घर ?

अधिकारी डिप्लोमा इन्जिनियर्स एशोशिएसन नेपाल (डिन)का प्रमुख सल्लाहकार हुन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।