महासंकटमा जिम्मेवार नागरिक कसरी बन्ने ?

विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन । २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाले विश्व भ्रमण गरिसकेको छ । विश्वका शक्तिशाली देश तथा स्वास्थ्य व्यवस्था उत्कृष्ट भएका मुलुकसमेत कोरोनाले ग्रस्त छन् ।

नेपालमा ६ हजार २ सय ९९ परीक्षण भएकोमा १६ जनामा पोजेटिभ देखिएको छ । पहिलो पटक माघ १० गते चीनबाट आएका ३२ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो हो । उनलाई अहिले निको भइसकेको छ । त्यसको ठिक दुई महिनापछि चैत्र १० गते फ्रान्सबाट आएकी १९ वर्षिय महिलामा संक्रमण देखियो । सुरुमा बाहिरी देशबाट र छिमेकी देशबाट आउनेमा मात्र संक्रमण देखिएकोमा पछिल्लो पटक नेपालभित्रै १ व्यक्तिबाट अर्कोमा संक्रमण भएको पुष्टि भएको छ । त्यसमा पनि ५ जना सुदूरपश्चिमकै मान्छे हुनु र संक्रमण दोस्रो स्टेजमा पुगेको केस पनि सुदूरपश्चिममा नै हुनु सुदूरपश्चिमबासीका लागि खतराको सूचक हो । यसले हामीमाझ एक किसिमको जोखिमपूर्ण चुनौति थपिदिएको छ ।

सुदूर पश्चिममा भारतबाट आउनेको संख्या धेरै छ । जब भारतमा कोरोना संक्रमण फैलिन थाल्यो र पोजेटिभ रिपोर्टहरु बढ्दै गए, त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल भित्रिन थाले । यसले सीमा नाकाहरुका भिडभाड बढायो, केही नाकाहरुमा नाराबाजी सम्म भयो र लकडाउन हुँदाहुँदै सुदूरपश्चिम सीमानाका दुई पटक खोल्नु पर्याे र खुला सीमाबाट समेत लुकीछिपी आउने क्रम पनि जारी रह्यो । खुला सिमानामा चेक जाँच र चिकित्सक, स्वास्थ्यकर्मी राखेर सामान्य ज्वरो र रुघाखोकी चेक र हेल्प डेस्क राख्दा पनि विभिन्न तरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संक्रमण भएका बिरामीहरु भित्रिएर झनै जोखिम बढेको हो । छिमेकी भारत र अन्य संक्रमित राष्टबाट आएका नागरिकलाइ अनिवार्य क्वारेन्टाइनमा राख्न सकेको भए, नागरिक स्वयमले होटेलहरुमा पाटी र सिधै कामधन्दामा फर्किनु पहिले होम क्वारेन्टाइनमा बसेको भए यसको जोखिम पक्कै कम हुन्थ्यो ।

अरुलाई दोष लगाएर, अरुको टिका, टिप्पणी गरेर आलोचनामात्र गर्न बानी परेका हामी यस पटक पनि चुक्यौ । यस्तो सङ्कटका बेलामा अरुको मुख ताक्नुभन्दा पनि हामी आफै आफ्नो ठाउँमा अनुशासित भए घर, परिवार, समाज र सिंगो राष्ट्र नै यस विपत्तिबाट बच्न सक्छ । कही कुरा पनि भइसकेपछी चेन्ज गर्न सकिदैन तसर्थ हुननदिनु नै बुद्धिमानी हो । हामीले आ–आफ्नो क्षेत्रमा देशभित्र बनाएका अनुशासन पालन, राज्यको नीतिको अवलम्बन गर्न सकियो भने धेरै ठूलो विपदबाट बच्न सकिन्छ । यो लडाइ कुनै जात, धर्म, क्षेत्र, पार्टीको नभएर हामी सबैको साझा दुस्मनको रुपमा रहेको भाइरसको विरुद्ध हो । यो महामारी र विपत्ति आइलागेको बेलामा पार्टी, देश र राज्यलाई दोष लगाउनुअघि एकपटक आफैलाइ सोचौँ त, के कति सहयोग गरिरहेका छौँ हामीले ? के सामाजिक सञ्जालमा टिकाटिप्पणी र आलोचनामात्र गरिरहेका त छैनौ ? के राज्यले बनाएको, तोकेको मापदण्ड अपनाएका छौँ ?

सरकारले गरेको केही कार्य प्रशंसनिय छ भने कतिपय ठाउँमा त्रुटि भएका छन् । यसो भयो भन्दैमा त्रुटि खोजीखोजी टिकाटिप्पणी गर्ने र कसैको खेदो खन्ने समय यो पक्कै पनि होइन ।

के विपदका बेला सर्वाहारा, निमुखाहरुलाई पालो दिएका छौँ कि आफ्नो लागि ४ ओटा ग्यासभित्र राखेर पाइदैन भन्दै हिँडेका छौँ ? अन्धविश्वाशी समाचार फैलाएर समुदायमा डर, त्रास पैदा गरेका त छैनौ ? खोइ, कसले कति िजम्मेवारी बहन गरेका छौँ ? के कहिल्यै आफू पूर्ण रुपमा सचेत नागरिक भएको कर्तव्य निभाएका छौँ ? एकछिन सोच्नुहोस त ?

अरुको टिकाटिप्पणी र आलोचना गर्नु अगाडि आफुलाई पनिआफ्नो पेशा र ज्ञानले भ्याएसम्म सहयोग गर्नु जरुरी हैन र ? कि दिनरात काममा खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्नु, सिमानाकामा क्वारेन्टाइनमा बस्नुस भन्दा झडप गर्नु र भागेर आउनु उचित हो ? अनि अन्धविश्वासका कुरा जस्तो कालो टिका लगाऊ भन्नु, भ्रामक समाचार फैलाउनु, कहिल्यै दीपप्रज्वलन त कहिल्यै थाल ठटाई गर्नु कत्तिको उचित हुन्छ ?

सरकारले यो विषयमा केही गर्दै नगरेको भने होइन । महामारीका बेला बाधा अवरोध जरुर हुन्छन् । सरकारले गरेको केही कार्य प्रशंसनिय छ भने कतिपय ठाउँमा त्रुटि भएका छन् । यसो भयो भन्दैमा त्रुटि खोजीखोजी टिकाटिप्पणी गर्ने र कसैको खेदो खन्ने समय यो पक्कै पनि होइन । आफुसँग भएको स्रोत, साधनको प्रत्येक व्यक्ति, समुदाय, संस्था र सरकारले सही ढङ्गले सदुपयोग गरौँ र गर्न सिकाआँै । प्रत्येक समुदायलाई एक युनिटमा विभाजन गरेर हरेक युनिटमा आफैहरुबाट भरपर्दा टिम लिडर बनाएर युनिट एक्सन टिम बनाउने र हरेक एक्सन टिमले फो आरको काम गर्ने । जस्तो

रेकर्ड ः हरेक घरको, हरेक सदस्यको विवरण ९नाम,उमेर,लिङ्ग, ट्राभल हिस्ट्री बुझ्ने । यसले गर्दा भिडभाड नि हुँदैन र सबैले आफ्नो टोल भएको हुँदा थाहा पाएका हुन्छन् ।

रेकक्नाइज अर्थात पहिचान ः सम्भावित लक्षण, जोखिम, परिवारका अन्य आवश्यकता पहिचान गर्ने ।

रेगुलेट अर्थात परिचालन ः लकडाउनको समयमा घरभित्रेै सरसफाइ, जनचेतना प्रवाह, सामाजिक अनुशरण गर्ने र सार्वजनिक स्थलमा भेला, भोजभतेर, जन्ती विल्कुल नगर्ने ।

रिपोर्ट ः सम्भावित लक्षण देखा परे तुरुन्त रिपोर्ट तयार गर्ने, तथ्य प्रेषण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने, शङ्का लागेमा अस्पताल पुर्याउने ।

यस्तो सङ्कटका बेलामा अरुको मुख ताक्नुभन्दा पनि हामी आफै आफ्नो ठाउँमा अनुशासित भए घर, परिवार, समाज र सिंगो राष्ट्र नै यस विपत्तिबाट बच्न सक्छ 

डब्लुएचओका अनुसार शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ्य रहनुलाई स्वास्थ्य भनिन्छ । त्यसैले यस्तो महामारीको समयमा हामीले बलियो हुन जरुरी हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आ–आफ्नो स्तरबाट सबैले दिंँदै आएको साथलाइ निरन्तरता दिनु जरुरी छ । अझै हामी संयमित बनौँ । बस्दा दिक्क लाग्यो भन्दैमा सडकमा निस्किन बन्द गरौँ । घरमै बसेर पुस्तक पढ्नुहोस्, आफुलाइ मन पर्ने चलचित्र हेर्नुहोस, परिवारसँग नजिक हुने समय हो यो, घरभित्रै सिक्नुुस् र सिकाउनुस् ।

यस्तो अवस्थामा सरकारले पनि देश र जनताको स्वास्थ्य अवस्थाका लागि निकै ध्यान दिनुपर्ने देखिन्छ । मानिसमा बढ्दै गरेको डर, त्रास र फैलिदै गएको संक्रमणलाई सरकारले गम्भीर तरिकाले सोच्न जरुरी छ । एउटा मात्रै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले मात्र पर्याप्त परीक्षण सम्भव छैन । दक्ष जनशक्ति र प्रविधिको पहुँच भएका देशकै प्रतिष्ठित विश्वविद्यालय र अन्य सरकारी र निजी संयन्त्रहरुलाई प्रयोगमा ल्याउन जरुरी छ । स्वास्थ्य सम्बन्धी विज्ञहरुलाई फ्रन्टलाइनमा राखेर काम गर्नु जरुरी छ । जस्तोसुकै काममा पनि केही सीमित व्यक्तिहरु यता पनि विज्ञ त्यता पनि विज्ञ हुने प्रवृत्तिले ठोस कदम चाल्न सकिदैन ।

क्वारेन्टाइनमात्र बनाएर पुग्दैन, मापदण्डहरु पनि पुग्नुुपर्ने हुन्छ । यति भन्दै गर्दा दैनिक ज्यालादारीमा काम गर्दै जीवनयापन गरिरहेका मजदुरहरुलाई खाद्यान्न आपूर्ति गर्नु जरुरी छ । सबै मन्त्रालय, संघ संस्था, प्रदेश सरकार र स्थानीय तहलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयले एक नीति बनाएर अघि बढ्नुपर्छ । प्रत्येक नागरिकले यि नियम मेरो लागि हुन भन्दै पालना गरेर सरकारलाई साथ दिँदै यो विपत्तीलाई कम गर्नुपर्ने देखिन्छ ।

भारती पद्यकन्या क्याम्पसमा माइक्रोबयोलोजी अध्ययनरत छिन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।