संकटमा अन्नपूर्णबासीलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको साथ

संकटको समयमा झनै सक्रिय र सहयोगी भूमिकामा देखिएको छ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका । प्रचारप्रसारमा त्यति नदेखिने यस गाउँपालिकाले आन्तरिक तयारी र व्यवस्थापनमा भने उदाहरणीय कार्य गरिरहेको पाईएको छ ।

न त गाउँलेलाई यतिबेला स्वास्थ्य उपचार पाईदैंन कि भन्ने डर छ, न त खान नपाएर मरिन्छ कि भन्ने पिर छ । लकडाउन भएकै दिनदेखि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली नै खटाई तत्कालै विदेशबाट आएकाहरुको पहिचान गरी सो व्यक्ति र परिवारका सदस्यलाई छुट्टाछुट्टै क्वारेनटाइनको व्यवस्था मिलाएर राख्ने काम गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाले कोरोना भाईरस संक्रमणको अवस्थालाई ध्यानमा राख्दै विदेशबाट आएकाहरुलाई साविकका गाविसहरुमा ७ वटा स्कुलमा र एउटा होटल भाडामा लिएर क्वारेनटाइनको व्यवस्थापन गरिरहेको अध्यक्ष कुँवरले बताए ।

गाउँपालिकाका अध्यक्ष कुँवरले भने, ‘जोखिम कम गर्न गाउँपालिका छिर्ने बित्तिकै क्वारेनटाईनमा राख्ने र त्यसको निगरानी गर्न हामीले ९ वटा स्वास्थ्य ईकाइहरुका २६ जना स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको टोली नै २४ सैं घण्टा खटाई रहेका थियौं ।’ यसका लागि गाउँपालिकालले सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालै पिपिई (पर्सनल प्रोटेक्सन इक्कुप्मेन्ट) बितरण गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलका अनुसार यतिबेला क्वारेनटाइनमा रहनु भएका २८ जनामा कोरोना भाईरसको संक्रमण चेक गर्दा नेगेटिभ देखिए पछि आ–आफ्नो घरमा गईसक्नु भएको छ भने २ जना अझै क्वारेनटाइनमा नै छन् । गाउँलेहरुलाई तत्कालै स्वास्थ्य सम्बन्धि सेवा दिन चालकलाई पिपिईसहितको व्यवस्था गरेर दुई ठाउँबाट एम्बुलेन्स सेवा दिईरहेको पनि स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाले तत्कालै स्वास्थ्य उपचारको व्यवस्था, एम्बुलेन्सको २४ सैं घण्टा सेवा, आवश्यक अन्न भण्डारण, निशुल्क तरकारीका बिउबिजन वितरण लगायतका कामहरुले गर्दा यतिबेला गाउँलेहरु ढुक्क देखिन्छन् । गाउँपालिकाकाले प्रत्येक वडाका ५ जना किसानहरुलाई ६ थरीका तरकारीका बिउबिजनहरु निशुल्क रुपमा वितरण गरिसकेको छ । संकटको यो अवस्थामा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु झनै सहयोगीर सक्रिय बनेको गाउँलेहरु बताउँछन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले यो भन्दा पनि अझै ठुलो संकट आउन सक्ने भन्दै त्यसको तयारीमा जुटिरहेको जनाए । उनले भने, ‘स्थानीयस्तरमा नै उत्पादन भएका किसानका कोदो लगायतका अन्नबालीहरु खरिद गरी भण्डारण गर्ने कार्य तिब्ररुपमा भईरहेको छ ।’
गरिब, असहाय र मजदुरहरुका लागि गाउँपालिकाले फरक फरक खालको मापदण्ड बनाएर अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष कुँवरको भनाई छ ।

शहरमा राहतका नाममा छिनाझम्टी भईरहेको बेलामा भने गाउँघरमा त्यस्तो अवस्था देखिएको छैन । यतिबेलासम्म गाउँपालिकामा राहत बाँड्नु नै पर्ने अवस्था सिर्जना नभएको गाउँपालिकाका अध्यक्ष कुँवरले बताए । उनले भने, ‘अहिलेसम्म त्यस्तो कठिन स्थिति आएको छैन । अब लकडाउन थपियो भने तत्कालै गाउँपालिकाले वास्तविक मजदुरहरुलाई मात्र उचित व्यवस्थापनका लागि योजना अनुसार कार्य अगाडि बढाउने छ ।’

असहाय, गरिब र अपाङ्ग परिवारलाई सोही अनुसार राहत वितरण गर्ने योजना गाउँपालिकाले बनाएको छ । काम गर्ने वास्तविक मजदुरहरुलाई उचित कामको व्यवस्थापन गर्दै ज्याला दिएर गर्जो टार्ने यसबाट गाउँको विकासमा सहयोग पुग्ने अध्यक्ष कुँवरको विश्वास छ ।

यतिबेला प्रत्येक वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको टोली लकडाउन भएकै दिनदेखि नियमित रुपमा आजसम्म फिल्डमा नै खटिईरहेको अध्यक्ष कुँवरले जनाए । अन्नपूर्ण गाउँपालिकाले लकडाउनका कारण दीर्घरोगीहरुले नियमित रुपमा खानुपर्ने औषधीहरुमा समस्या झेल्न नपरोस् भनेर जनप्रतिनिधिहरुलाई खटाईएको हो ।