महासंकट मुकाबिला गर्ने योजना कहिले ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले आज पूरा विश्व आक्रान्त बनेको छ । सारा विश्व ठप्प छ । विश्वमा शक्तिशालि र उदयमान राष्ट्रहरु समेत आफ्ना नागरिकहरुले अनाहकमा जीवन गुमाइरहेको हेर्न बाध्य छन् । विश्वमा आर्थिक क्रियाकलापहरु ठप्प भएका छन् । यसले गर्दा कोरोनाको समस्या त केही समयमा हल होला तर यसबाट आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावहरु भयाभव बन्दै गइरहेको छ र आर्थिक क्षेत्रमा यसको असर दीर्घकाल समेत देखिन सक्छ । विश्वका विभिन्न मुलुकहरु आफ्ना नागरिकहरुलाई परेको आर्थिक तथा सामाजिक असरको लागि विभिन्न आर्थिक एवं मानवियता सहायताहरु दिनहुँ घोषणा गरिरहेका छन् ।

आम नेपालीको अभिभावकत्व ग्रहण गरेको नेपाल सरकारले समेत अन्तराष्ट्रिय क्षेत्रबाट केही सिकेर यस कोरोनाको असरको बारेमा सुष्म अध्ययन गरी मध्यकालिन तथा दिर्घकालिन योजना बनाउन आवश्यक देखिन्छ । देशको आर्थिक क्रियाकलापहरु करिव १ महिनादेखि ठप्प छ । यसले गर्दा रोजगारी, राजश्व आम्दानी, वित्तीय लगानी लगायतका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष असरहरु परिरहेको छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा यसको असर दिर्घकालसम्म समेत देखिन सक्छ । त्यसैले सरकार तथा निजी क्षेत्र मिलेर यसको लागि दिर्घकालिन योेजनाहरु बनाउन आवश्यक छ ।

नेपालमा आजको मितिसम्म पनि राजश्व आम्दानीले चालु खर्च समेत नधान्ने स्थिति छ र सम्पुर्ण विकास खर्चहरु आन्तरिक ऋण तथा बाह्य ऋण र आन्तराष्ट्रिय सहयोगको भरमा भइरहेको छ । नेपाललाई बाह्य ऋण र अनुदान सहयोग गर्ने राष्ट्रहरु आफै आक्रन्त बनेको अवस्थामा हामीलाई सहयोग गर्न सक्ने अवस्था नआउन सक्छ र नेपालको विकास खर्चहरु शुन्यमा झर्ने दिनबाट समेत हामी टाढा छैनौं । त्यसैले अबको बाटोे कता, सरकारले दुरदर्शी भएर आगमाी दिनका लागि दीर्घकालिन योजनाहरु बनाउन आवश्यक छ ।

नेपालको व्यापार घाटा दैनिक बढ्दो छ । पछिल्लो सात महिनाकै तथ्याङ्क हेर्ने हो भने समेत कुल ८०३ अर्बको आयात हुदाँ ६४ अर्बको मात्र निर्यात छ । आयात र निर्यातको अन्तर अत्याधिक धेरै छ । आर्थिक वर्ष २०७६÷७७ को ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । नेपालसँग भएको विदेशी विनिमय सञ्चिति न्युन छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आज काम विहीन भइरहेको छ र यसको असर विप्रेषण आप्रवाहमा पर्ने निश्चित छ । त्यसले समेत आगामी दिनमा विदेशी विनिमय सञ्चिति समेत न्युन हुन जाने देखिन्छ । यसको प्रत्यक्ष असर आयात तथा अन्तरािष्ट्रय व्यापारमा पर्नेछ ।

देशमा सञ्चालित विभिन्न उद्योग, कलकारखाना, व्यवसायहरु ठप्प छन् । नेपाल सरकारलाई तिर्नुपर्ने चैत्रको दोश्रो किस्ता अग्रिम कर भुक्तानी गर्न सकिरहेका छैन । नेपाल सरकारले निर्धारण गरेको राजश्व आम्दानीको लक्ष्य पूरा नहुने स्थिति देखिसकेको छ र यसले गर्दा राजश्व आम्दानीले समेत चालु खर्च नधाध्ने देखिन्छ । विभिन्न व्यवसायिक प्रतिष्ठानहरुले कर्मचारी कटौती गरिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने आम नेपालीहरुको दैनिकी कष्टपद बन्दै गइरहेको छ । देशमा बेरोजगारीको समस्या बढ्दै गएमा र व्यवसाय उद्योगधन्दा सञ्चालन हुन नसकेमा देशको आर्थिक क्रियाकलापमा प्रतिकुल असर पर्ने देखिन्छ । यसर्थ नेपाल सरकारले उद्योग कल कारखाना व्यवसाय तथा दैनिक ज्याला मजदुरी गर्नेहरुको समस्या समाधान गर्न दिर्घकालिन योजनाहरु तयार पार्न आवश्यक छ ।

नेपाल सरकारले कोरोना रोगको महामारीसँग लडिरहेको नेपाली अर्थतन्त्रलाई सम्बोधन गर्र्न ल्याएका अल्पकालिन योजनाहरु स्वागत योग्य रहेका छन् । ऋणीहरुले बैंक वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ता तथा व्याजको भुक्तानी अवधि थप, चैत्र मसान्तमा तिर्नुपर्ने दोश्रो किस्ताको भुक्तानी अवधि थप, विभिन्न संस्थाहरुले नेपाल सरकारलाई कारोेना रोकथामको लागि प्रदान गर्ने सम्पूर्ण रकम कर गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था, लगायतका योजनाहरु स्वागत योग्य भएता पनि पूर्ण छैनन् । त्यसैले नेपाल सरकारले आगामी दिनमा नेपालको अर्थतन्त्रलाई नयाँ उचाई दिन र हाल महामारीको रुपमा फैैैलिरहेको नेपाली अर्थतन्त्रलाई नयाँ जीवन दिन आफ्नो तन मन लगाएर अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योेजनाहरु बनाउन आवश्यक रहेको छ ।