चैत्र २७ गते २०७६

ताजा समाचार

चैत्र २७ गते २०७६

कविता : भूइँकुहिरो



छैनन् धेरै ठूला सपनाहरू छैनन्
थप कुनै रहर र चाहनाहरू छैनन्
जे जति प्राप्त छ –
आफ्नो सामर्थ्यले आजसम्म
त्यो रहिरहोस् अनन्तसम्म आफैँसित
बस्, त्यत्ति भए पुग्छ मलाई।

देखेकी छु-
इन्द्रेनी सपना पछ्याएर
आफ्नै रङ् गुमाउनेहरू पनि देखेकी छु
मृगतृष्णा सजाएर
बनिबनाउ घर भत्काउनेहरू पनि देखेकी छु
गगनचुम्बी अहम् महल ठड्याएर
मानवता गुमाउनुभन्दा
भुइँमान्छे हुनु प्रीतिकर लाग्छ मलाई
तिमी भुइँकुहिरो भन्न सक्छ्यौ
भुइँकुहिरो भने भुइँ कुहिरो नै सही
सोच त कति विशाल हृदयले फैलिएको छ
भुइँकुहिरो पनि !

मान्छेहरू जतिजति शक्तिशाली हुँदैजान्छन्
उतिउति एक्लिँदै जान्छन्
जति सम्पन्न हुँदै जान्छन् वैभवले
मन उति दरिद्र बन्दैजान्छ प्राय:
ठूलो हुनु
शक्तिशाली हुनु
वैभवशाली हुनु
यी सब भ्रममा बाँच्नु हो
मलाई तिमीजस्तो भएर बाँच्नु छैन
मलाई मजस्तै भएर बाँच्न मनपर्छ
मात्रै यौटा आम मान्छे
तिमी भन्नसक्छ्यौ, सामान्य स्वास्नीमान्छे
मलाई सामान्य स्वास्नीमान्छे भइरहनु
यौटा असामान्य सफलताजस्तो लाग्छ

मलाई
बाँचेर अहम्
पहाडसरि अग्लिनुभन्दा
बेँसीहरूमा भुइँकुहिरो हुन मनपर्छ ।