हालै नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भै सक्नु भएको छ । उहाँलाई बधाई र उत्कृष्ट कार्यकालको शुभकामना । देश चुनौतिपूर्ण अवस्थाबाट गुज्रिदै गएको अवस्थामा उहाँको कुशल नेतृत्वको महशुस देशले गर्न सकोस् ।
उहाँले राष्ट्र बैंकको नेतृत्व गरेसँगै अबको केहीमहिना पछि उहाँको दस्तखत भएको कागजका टुक्राहरु (नोट) आउँछन्, जस्लाई हामी पैसा भन्दछौं र त्यसको आदानप्रदानमा विभिन्न कारोबार गर्छौं, खरिद बिक्री गर्दछौं । त्यो कागजमा जमानत छ, त्यसैले त लेनदेन र खरिद बिक्रिमा सबैले विश्वास गर्दछौं ।
विगततर्फ फर्केर हेर्ने हो भने, वस्तु विनिमयको युगबाट समाज मुद्राको प्रचलनतर्फ आयो । पछि कागजी नोटको प्रचलन हुँदै आएको छ । हालै, डिजिटल मुद्राको प्रचलन पनि आउन थालेको छ । नेपालको सन्दर्भमा राष्ट्रबैंकले पहिलो पटक नोटको निस्कासन सन् १९५६ मा सुरु गरेदेखि बैंकिङ्ग बैधतासहितको नेपाली नोटको प्रचलन भएको पाइन्छ । नेपाल राष्ट्रबैंकले वस्तु तथा सेवाको माग र आपुर्तिको सन्तुलन कायम गर्दै, सो बरावरको जमानतको आधारमा नेपाली रुपैयाको विनिमय दर सन्तुलन राख्दै नोटछपाई र प्रचलनमा ल्याएको पाईन्छ ।
सरकारले नेपाली नोटको छपाईमा वर्षेनि अरबौं रुपैया खर्च गर्नुपर्ने वाद्यता रहेको छ । नोेटको छपाई हालसम्म नेपालमा गर्न सकिने व्यवस्था छैन । विदेशमा छपाई गर्दा विदेशी मुद्रा डलरमा भुक्तानी गर्नु पर्दछ । यसले राज्यकोषको ढुकुटीमा व्ययभार थप गरेको छ । नेपाली नोटको आयु लगभग ३.२५ वर्ष रहने नेपाल राष्ट्रबैंकको अनुमान रहेको छ । त्यस पछि ती नोटहरुको सट्टामा नयाँ नोट छपाई गर्ने र झुत्रो नोट धुल्याउने कार्य गर्ने गरिन्छ । यदि नोटको जतन गर्ने हो भने पनि राज्यको नोट छपाईमा खर्च कम हुने थियो । यहाँ नोटको सट्टामा बैकल्पिक व्यवस्था र उपायहरुको प्रयोग गर्दा सुरक्षित, मितव्ययी र सहज हुने विकल्पहरुको बारेमा चर्चा गर्न खोजिएको छ ।
नेपाल राष्ट्र बैंकको २०७६ माघ महिनामा प्रकाशित भएको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा क, ख, र ग वर्गको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपखाताको संख्या ३,११,१२,१९४ (तीन करोड एघार लाखबाह्र हजार एक सय चौरानब्बे) पुगेको छ । यो खाता संख्यानेपालको जनसंख्याको करिव ८० प्रतिशत हो । यहाँ एकै व्यक्तिका धेरै बैंक तथा वित्तीय संस्थामा भएको खाता संख्यासमेत जोडिएको छ । तथापी, सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना, सामाजिक सुरक्षा रकमहरु बैंक खातामार्फत भुक्तानी र सबै नेपालीको बैंक खाता अभियान आदिले गर्दा धेरै नागरिकमा वित्तीय पहुँच बृद्धि हुँदै गएको अनुमान गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ९ हजार ५ सय ५० पुगेको छ र प्रतिशाखा औसत ग्राहक संख्या पनि क्रमशः कम हुँदै गएको छ । हरेक नागरिकको बैंक शाखासम्मको दुरी र कारोबार समय पनि छोटिदै गएको तथ्याँकहरुले देखाएको छ ।
तसर्थ, नेपाली मुद्रा छपाईमा राज्यको ठूलो धनराशी खर्च भएको र छपाई गरिएको नोटहरु प्रचलनमा ल्याउँदाहुने सुरक्षा र जतनका जोखिमहरु रही रहने हुनाले यसको बैकल्पिक उपायहरु जस्तै ः डिजिटल बैंकिङ्ग र चेकको प्रयोगलाई व्यापकगर्न÷गराउन सकिएमा अझै प्रभावकारी हुन सक्ने देखिन्छ । यसको लागितपसीलका केही उपायहरु अवलम्बन गर्न सकिन्छ ।
सबै नागरिकको अनिवार्य रुपमा बैंक खाता खुलाउने ।
डिजिटल बैंकिङ्ग र चेकको प्रयोग गर्ने तरिका बारेमा जानकारी (सचेतना) दिने ।
डिजिटल बैंकिङ्ग र चेकको सुरक्षाबारेमा जानकारी (सचेतना) दिने ।
डिजिटल बैंकिङ्ग र चेकको दुरुपयोग बारेमा जानकारी (सचेतना) दिने ।
डिजिटल बैंकिङ्ग र चेकको प्रयोगबाट हुने फाईदाहरु बारेमा जानकारी (सचेतना) दिने ।
डिजिटल बैंकिङ्ग र चेकको प्रयोग गर्ने नागरिकलाई थप प्रोत्साहनवा सहजिकरण गर्ने ।
नगद कारोबारको सीमालाई घटाउने ।
उपरोक्त बुदाँहरुको बारेमा ग्राहकलाई बुझाउन सकेमा नगदनोटको सट्टामा बैकल्पिक कारोबारले भ्रष्टाचार, कालोबजारी र कालोधन नियन्त्रणमा सहयोगी सिद्ध हुनेछ । त्यसैले अब केन्द्रीय बैंक लगायत, नेपालमा भएका बैंक तथा वित्तीय संस्थाले सम्भव भएसम्म बढी भन्दा बढी नागरिकलाई नगद नोटरहित डिजिटल बैंकिङ्ग एवं चेकबाट बढी भन्दा बढी कारोबार गर्न प्रोत्साहन गर्न सम्बन्धित सबै पक्षले आआफ्नो स्थानबाट पहल गर्न जरुरी छ ।
(लेखक ः अनन्तमान श्रेष्ठ हाल मुक्तिनाथ विकास बैंकमा कार्यरत हुनुहुन्छ )




