किन हेलचेक्र्याई गर्दै छौ हामी ?

एक्काइसौ शताव्दीको दोश्रो दसकको अन्त्यमा विश्वमा महामारीको रुपमा कोरोना भाइरसको उदय भएको छ र हालसम्म करिब ७० हजार मानिस यसको शिकार भएका छन् । विश्वका महाशक्ति राष्ट्रहरु यसबाट सबैभन्दा बढी पिडित भएको कुरा विश्व स्वास्थ्य संगठनबाट जारी भएका सूचना तथा जानकारीहरुले देखाइरहेको छ । विश्वका महाशक्ति राष्ट्रहरुको जुघाँकोे लडाईको कारण बढी ग्रसित भए या त समयमा नै रोकथामका कार्यहरु अवलम्बन नगर्दा बढी ग्रसित भए यो त अध्ययनकोे विषय होला नै । तर आजको मितिमा अमेरिका, इटाली, स्पेन लगायतका विकसित मुलुकहरु यो रोगबाट बढी ग्रसित भएको कुरामा भने दुइमत नहोला ।

नेपाल सरकारले कारोना भाइस संक्रमण तथा रोकथामका लागि पूरा नेपाल नै लकडाउन गरेको आज १४ दिन भैसकेको छ र सरकारले पुन १ हप्ता थप गर्ने निर्णयसँगै लकडाउन अवधि २१ दिन पुगेको छ । लकडाउनले गर्दा हामी फुर्सदिला भएका छौं । यस्तो विनासको घडीमा समय परिवारसँग विताउनु र सामाजिक दुरी कायम गर्नु नै आजको उपयुक्त कार्य हो ।

विश्वको महाशक्ति राष्ट्रको रुपमा रहेको अमेरिकाले समेत आफ्नो वशमा राख्न नसकेको यस रोग नेपालमा फैलिएमा भुसको आगो सरी फैलिने र कैयौं नेपाली नागरिक विवशमा आफ्नो ज्यान गुमाउन बाध्य हुने खतराको घण्टी दिनु बजिरहेको छ । आजको दिनसम्म पनि हामीसँग आवश्यक स्वास्थ्य सम्बन्धी उपकरणहरु पर्याप्य छैनन् । रोग लागेपछि उपचार पाउन गाह्रो छ त्यसैले रोग लाग्न नदिनु नै आजको समयको उत्तम विकल्प हो

नेपाल सरकार तथा विभिन्न स्वास्थ्य सम्बन्धी निकायहरुले जारी गरेको निर्देशन तथा सूचनाहरु अक्षरश पालना गर्नु आजको हाम्रो कर्तव्य हो । सरकारले जारी गरेको निर्देशनहरु हामी नेपालीलाई दुःख दिन जारी गरेको नभई हाम्रो स्वास्थ्य प्रति गम्भिर भएर सरकारले आफ्नो अभिभाकत्व ग्रहण गरेको कुरा बुझ्न जरुरी छ । सरकारले चालेका कदमहरुमा हातमा हात मिलाएर हिड्नु आजको आवश्यकता हो ।

नेपाल सरकारले यसरी गम्भिर भएर लकडाउन गरेको छ । नेपाली जनताको स्वास्थ्यमा आउन सक्ने असर प्रति संवेदनशील भएर लागि परिरहेको छ । तर हामीलाई सरकारले गरेको लकडाउन उल्लघंन गर्न पाउँदा ठूलै प्रगति गरेको आभाष हुन्छ । सुरक्षा निकायको आँखा छलेर बजार घुम्दा, स्थानिय निकायले जारी गरेको निर्देशनहरु पालना नगरी आफ्ना इच्छा आकंक्षा पूरा गर्दा हामी आफुले आफुलाई ठूलै भएको सम्झन्छौ तर यो त महामारीले विनाशको रुप नलिएसम्म हो । यदि यसको असर महामारीको रुपमा देखिएको भने हामीले विगतमा गरेको कार्यहरुलाई पश्चाताप्को रुपमा लिनु बाहेक कुनै विकल्प हामीसँग बाँकी रहदैन

नेपाल सरकारले अत्यावश्यकका सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ । काम नपरी घर बाहिर ननिस्कन तारन्तर सूचना तथा निर्देशनहरु जारी गरेको छ । तर पनि हामी लकडाउन कतिको सफल भएको छ भन्ने अध्ययन गर्न बजार घुम्न निस्किरहेका छौ । यो लकडाउनको समीक्षा गर्ने काम हाम्रो हो र ? हामी विहान वेलुका चोकको चिया पसलमा भेला भएर कोरोनाको समीक्षा गरिरहेका छौ र सरकारलाई पाठ पढाइरहेका छौ सरकारले कोरोना रोकथामको लागि यो गर्नुपर्छ उ गर्नुपर्छ । तर हामीले कहिलै मनन गरेको छैनो कि सम्य नागरिक भएर गर्नु पर्ने कतव्य यही हो ? अरुको मुल्याकंन गर्न त पहिला आफु ठिक ठाउँमा हुनु नै आवश्यक हुन्छ ।

विश्वका उदयमान राष्ट्रहरु समेत यस रोगबाट आक्रान्त भएका छन् । सारा विश्वलाई जितेर अनेकौ सिर्जना गर्न सफल भएका राष्ट्रहरुलाई समेत आज कोरोना रोग टाउको दुखाईकोे विषय बनेको छ । आफ्ना हजारौ जनताको अकालमा ज्यान जाँदा समेत टुलुटुलु हेर्नु बाहेक कुनै विकल्प उनीहरुसँग छैन । नेपाल जस्ता विकाशशील राष्ट्रहरुमा त यसको असरले विकराल रुप लिने निश्चितै छ । आजको हाम्रो क्रियाकलापहरु नै भोलिको विनाशका मुख्य कारक तत्व बन्न सक्छन् । यसर्थ हामीले हाम्रो दैनिकीलाई सुधार्न आवश्यक छ । सरकारले जारी गरेको निर्देशनहरु हुबहु पालना गर्नु सामाजिक दुरी कायम गर्नु र आफ्नो तथा परिवारको स्वास्थ्यमा विशेष ध्यान दिनु नै आजको अपरिहार्यता हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।