गत ३१ डिसेम्बरमा चीनको वुहान राज्यबाट प्रकोपको औपचारिक घोषाणा भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वका कम्तिमा २०८ देशमा फैलिएर विश्वव्यापी महामारीको रुप धारण गरिरहेको छ | यो लेख तयार पार्दासम्म यसबाट संक्रमण हुनेको संख्या विश्वभर १२,७७,१९६ छ |मृतकको संख्या विश्वभर ६९,५६७ छ भने रोग लागेर उपचार पछि निको भएकाको संख्या जम्मा २,६६,४५८ छ | करिब करिब नियन्त्रण नजिक पुगेको चीनमा ८१,७०८ जनामा संक्रमण देखिदा ३,३३१ जनाको मृत्यु भएको छ भने ७७,०७८ जना निको भएका छन् | त्यस्तै १,२९९ जना संक्रमित अझै छन् |
विश्वका शक्तिशाली र प्रविधिको सहज पहुँच भएका देशहरुमै यसको संक्रमण डरलाग्दो किसिमले फैलिरहेको छ | स्वास्थ्यको क्षेत्रमा विश्वकै अब्बल मानिएका ३ देशहरुको सुचिमा सुचिकृत भएको इटालीमा १५,८८७ जनाको मृत्यु भएर रेकर्ड कायम गरेको यो भाइरसबाट विश्व महाशक्ति मानिएको अमेरिकामा अहिले सम्म ९,६२० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा बढि छ | त्यस्तै स्पेनमा १२ हजार, फ्रान्समा ८ हजार, वेलायतमा साढे ४ हजार र इरानमा साढे ३ हजार बढिले ज्यान गुमाइसकेका छन |
सम्पन्नशाली अन्य देशहरुमा समेत यसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ | माघ १० गते चीनबाट काठमाडौ आएका ३२ बर्षीय पुरुषमा नेपालभित्र यो भाइरसको पहिलोपटक संक्रमण देखिएको थियो | उपचार पश्चात उनि निको भइसकेका छन् | त्यसपछि फ्रान्स बाट नेपाल आएकी १९ बर्षीय युवतीमा चैत १० गते दोस्रो पटक कोरोना संक्रमणको पुष्टि भएको थियो | त्यसपछि UAE बाट नेपाल आएका धादिङ्गका ३२ बर्षीय पुरुषमा चैत १२ गते, UAE बाट नेपाल आएका कैलालीका ३४ बर्षीय पुरुषमा चैत १४ गते, वेल्जियामबाट नेपाल आएकी बागलुङ्गकि १९ बर्षीय युवतीमा चैत १५ गते, UAE बाट नेपाल आएकी बागलुङ्गकि ६५ बर्षिय महिलामा चैत २० गते, भारतबाट आएका कन्चनपुरका ४१ बर्षिय पुरुषमा चैत २२ गते, भारतबाट आएका कन्चनपुरका २१ बर्षिय पुरुषमा चैत २२ गते तथा आफन्त मार्फत घरमै संक्रमित भएकी कैलालीकि ३४ बर्षीय महिला गरि हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |
सम्पन्नशाली राष्ट्रहरुलाई तहसनहस बनाएको कोरोना भाइरसको महामारी नेपालमा फैलियो भने यसले गर्ने मानवीय क्षति, समाज र देशको आर्थिक तथा सामाजिक विकासमा पार्ने असरबारे अनुमानसम्म गर्न सकिदैन | सरकार तथा आम नागरिक सजग नभएमा महामारी फैलन सक्ने खतरा संगै यसको महामारी फ़ैलिएमा नियन्त्रण गर्न सरकार तथा उपचार गर्ने चिकित्सक असफल हुनसक्ने निश्चित जस्तै छ | प्रकोप नियन्त्रणका लागि वा सम्भावित प्रकोप हुन नदिन तिनै तहका सरकार र आम नागरिक सचेत रहन अतिआवश्यक छ | प्रकोप फैलिन नदिन सरकार संगै हामि नागरिकको भूमिका निकै महत्वपुर्ण हुन्छ | आवश्यक उपचारको व्यवस्थासंगै दैनिकीमा कडाइ तथा हाम्रो उचित कदमले हामि, हाम्रो समाज र सिंगो नेपालले यो महामारी लाइ पराजित गर्न सक्छौं | सरकारले गर्नुपर्ने काम र लिनुपर्ने निर्णयका बारे सरकारलाई आवश्यक सुझाव र दवाब सिर्जना संगै अत्यावश्यक काम बाहेक घरबाट बाहिर नआउँ सरकारले गरेको आग्रहलाई पालना गर्नु हाम्रो दायित्व हो | कोरोना संक्रमणका चार चरण छन् |
WHO को प्रोटोकलअनुसार बिदेशबाट आएकाहरु मध्ये सङ्क्रमित पुष्टि भए यो कोरोना सङ्क्रमणको पहिलो चरण हो।बिदेशबाट आएका सङ्क्रमितहरुको आफन्तमा संक्रमण देखिनु भनेको कोरोना संक्रमणको local trasmission हो, यो कोरोना संक्रमणको दोस्रो चरण हो। यदि छरछिमेकलाई पनि संक्रमण भयो भने यो community transmission हो यो तेस्रो चरण हो। Community transmission महामारी पूर्वको अवस्था हो, महामारी कोरोना सङ्क्रमणको चौथो चरण हो । नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेसंगै नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ | लक्षण नदेखीकनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा घरबाट बाहिर नजानु नै बुद्धिमानी हुन्छ | यदि बाहिर निस्कनु परे अनिवार्य मास्कको प्रयोग गरौँ | एक अर्का बिचको दुरी कम्तिमा ६ फिट कायम गरौँ, बेलाबेलामा स्यानिटाइजरको प्रयोग गरौँ र साबुनपानिले हात धुने गरौँ | रुघा लागे वा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा गैर आफ्नो स्वास्थ्य जांच गराऔं |
भारतलगायतका अन्य मुलुकबाट आउनुभएका हरुले विशेष ध्यान पुर्याउनु आवश्यक छ | कुनै एक जनाको लापरवाहीले गर्दा सिंगो देश दुर्घटनामा पर्न सक्छ त्यसैले सचेत भएर सुरक्षित बस्नु नै यसबाट बच्ने उत्तम उपाय हो | तपाइहाम्रो सानो लापरवाहीले तपाइँहामि र हाम्रो परिवार मात्रै होइन समाज र सिंगो देश दुर्घटनामा पर्न सक्छ | कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं | तथ्यांक स्रोत : वर्ल्डोमिटर









