कोरोना : कमाउने मौका नबनोस्

विश्वमा महामारीको रुपमा फैलिररहेको कोरोना भाइसको कारण हालसम्म करिव ११ लाखभन्दा मानिस संक्रमित रहेको र करिब साढे ६० हजार मानिसको मृत्यु भएको व्यहोरा सर्वविदितै छ । कोरोनाको संक्रमण हावासरी फैलिरहेको विश्वमा दिनानुदिन संक्रमितको संख्या बढीरहेको र मृतकको संख्या समेत बढिरहेको परिपेक्षमा नेपालमा हालसम्म जम्मा ६ जनामा संक्रमण देखिनु र कोरोनाको कारण मानिसको मृत्यु नहुनु दैव संयोग हो वा वास्तविकता बाहिर नआएको हो यकिन गर्न सकिएको छैन । दैनिक १०० हाराहारीमा सो रोगको परीक्षण भैरहेको र आगामी दिनमा समेत परीक्षणको दायरा बृद्धि नगरेमा नेपालमा समेत यो भयाभव स्थितिको रुपमा देखिने कुरामा कुनै दुइमत नहोला ।

आशा थियो मेरो देशले समेत यो विपतको घडीलाई दृढचित्त भएर सामना गर्र्नेछ र नेपाल सरकार तथा आम नेपालीको संयुक्त प्रयासमा कोरोनाले नेपालमा प्रवेशको अनुमतिसमेत पाउने छैन । नेपाल सरकारले समयमा नै विदेशबाट आउने अन्तराष्ट्र्रिय उडान रोक्नु, विभिन्न परीक्षा स्थगन गर्नु, सभा सम्मेलन गर्न रोक लगाउनु, साथै देश नै लकडाउन गरी कफ्र्युमय बनाउनाले मेरो सरकार नेपाली जनताको स्वास्थ्यप्रति यति संवेदनशील भएर लागेको छ । म पनि एक नेपाली भएकोले यसमा प्रत्यक्ष संलग्न थिए । दैनिक नेपाल सरकारले गरेका निर्णयहरु शिरोधार्य गर्नु मेरो कर्तव्य होे । म सरकारद्धारा जारी भएका निर्देशनहरु अक्षरशः पालना गरिरहेको छु ।

आज म नेपाल सरकारले गरेको लकडाउनको कारण फुर्सदिलो छु । प्रत्येक समाचारका शव्दहरु नछुटाई पढ्ने फुर्सद मसँग छ । विभिन्न अनलाइन तथा पत्रपत्रिकामा आएका समाचारहरु अक्षरश पढ्नु हालको मेरो दिनचर्या रहेको छ । नेपाल सरकारले विभिन्न स्वास्थ्य उपकरण किन्दा महंगो भयो । को कसको मिले मतोे भयो लगायतका समाचारका शीर्षक पढ्दा म आफैमा भित्रभित्रै जल्दछु र म कल्पना गर्न बाध्य छु देश विपदमा फसेको बेला मलम पट्टी लगाउनुको साटो यो त कुर्सीमा बस्नेहरुलाई त कमाउने सुवर्ण अवसर रहेछ । आफ्ना सात पुस्ता सन्ततिको लागि जर्गेना गर्ने उत्तम समय रहेछ । यहाँ नेपाली जनताको स्वास्थ्य र देशभन्दा बढी त आफ्नो अकुत सम्पत्तिले भरिभराउ गर्ने दाउ रहेछ ।

यो विपदको घडीमा मलाई सरकारले सहयोग गर्नेछ भन्ने भ्रम लिएर बसेको छु । सोच्छु यो देशप्रति मेरो आशा होे या भ्रम !

नेपाल सरकारले सर्वसाधारण जनताको हितका लागि आफ्नो ध्यान एकीकृत गरिरहेको छ भन्ने मेरो भ्रम रहेछ । आशा थियो लामो समयको संघर्ष र वलिदानी पछि गठन भएको सरकारले भ्रष्ट्रचारको जालो निमिट्यान हुने गरी चुड्ने छ र अब नेपालको सुवर्ण दिनहरु आउने छन् । मेरा सबै कल्पनाहरु भ्रम रहेछन् । यहाँको सादगी र आफ््नोे सारा जीवन देश विकासको लागि समर्पण गरिरहेको छु भनेर राष्ट्रवादको वकालत गर्नेहरु भष्ट्रचार र अनियमिततासँग जोडिएकाहरुलाई पानीले चोेख्याउने र उनीहरुको लागि बोलिदिने व्यत्तित्व भएका छन् । राष्ट्र यस्तो विपदको घडीमा फसेको बेला समेत देशको भन्दा पहिला आफ्ना स्वार्थ पूरा गर्न अग्रसर छन् म भने नेपाल सरकार कोरोना विरुद्ध लड्ने छ र यो विपदको घडीमा मलाई सरकारले सहयोग गर्नेछ भन्ने भ्रम लिएर बसेको छु । सोच्छु यो देशप्रति मेरो आशा होे या भ्रम !

म पनि नेपालका कुल ३ करोड नागरिकमध्ये एक हुँ । दैनिक ज्यालादारी र श्रम गरेर आफ्नो जीविकोपार्जन गरिहेको छु । दैनिक मजदुरी मेरो कर्म थियो । नेपाल सरकारले गरेको लकडाउनपछि म बेरोजगार भएको छु । समाचारका शीर्षक पढ्ने बाहेक मेरो कुनैै काम छैन आजकाल । सहरको कुनाकुना चोकचोक चार्हन बानी लागेको म आज एउटा कोठाको चार कुनामा सीमित छु । मेरो छटपटाहट कोठामा सीमित छ । म एक नजरबन्दमा रहेको कैदी जस्तै भएको छु । विभिन्न सञ्चार माध्यमका शीर्षकहरुमा नेपाल सरकारले काम विहिन भएका महजदुर र छाक मुख जोर्न गाह्रो सारो भएका श्रमिकहरुलाई सहयोग गर्छ रे भन्ने प्रकारका समाचार पढ्दा मलाई पनि केही आशा पलाउनु शोभाविक नै हो । तर फेरि सोच्छु नेपाल सरकारसँग कति मजदुर दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्छन भन्ने आँकडा के छ । कही यो पनि सस्तो लोकप्रियताको लागि ल्याइएको नारा त हैन ।

म दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेको जानकारी पाउन संयन्त्र सरकारसँग के छ ? सरकारले दैैनिक ज्यालादारी तथा मजदुरी गर्ने र जीविकोपार्जन गर्न समस्या भएका मजुदुरलाई आर्थिक सहयोग गर्ने भन्ने कुरा सुनेर म दंग छु । त्यही पनि एक मनले सोच्ने गर्छु कही कतै यो नारा आफ्ना कार्यकर्ता पोस्न र आफ्नो कमाउने भाँडो सोझ्याउन पो ल्याएको हो कि ? आफ्ना देशमा कति नागरिक दैनिक ज्यालादारीमा कार्यरत छन् कुन कुन पेशा गर्नेलाई प्रत्यक्ष असर गरको छ । दैनिक जीविकोपार्जन गर्नलाई धौधौ परेका नागरिक कति छन् पूरा अध्ययन गरेर सरकारको अनुभुति गराएमा त सरकारको कार्यक्रम सफल नै हुने थियो तर पनि अझै भित्र भित्रै शंका छ मलाई कही कतै यो पनि कार्यकर्ता पोस्नका लागि प्रयोग हुने हतियार पो हो कि सरकार ? सर्वप्रथम म लगायतका मजस्तै नेपालीको भ्रम चिर्नु नै उत्तम हुन्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।