विश्वमा महामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट हालसम्म करिब ६ लाख व्यक्ति संक्रमित भइसकेको र साढे २७ हजारको मृत्यु भैसकेको व्यहोरा सर्वविदितै छ । विश्वका करिब १८९ देशमा फैलिएको यस भाइरस बाट नेपाल बच्ने कुरै भएन । हालसम्म नेपालमा समेत सो भाइरसको संक्रमण ४ जना व्यक्तिमा देखिएकोमा १ जना निको भइसकेको र अन्य ३ जना व्यक्ति उपचार गराइरहेको व्यहोरा नेपालमा सञ्चालित विभिन्न टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको प्रमुख समाचारको रुपमा दिनहु प्रकाशन गरिरहेका छन् ।
आज यति जनाकोे रगत परीक्षण भयो यति जनालाई क्वारेन्टाइनमा पठाइयो भन्ने लगायतका समाचार सुन्दा सुन्दा आम नेपाली दिक्कको भावना व्यक्त गर्दछन् । नेपाल सरकारले गएको मंगलबारबाट सात दिनको लागि पुरै देश लकडाउन गरेको छ । सम्पूर्ण कार्यालय बन्द छन् । बजार सुनसान छ । सडक खाली छन् । मात्र सामाजिक सञ्जालका भित्ताहरु पोतिएका छन् । नेपाल सरकारले विद्यालयहरु बन्द गरेको छ । परीक्षाहरु स्थगन गरेको छ ।
अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द गरेको छ । व्यक्तिलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको छ । एक हिसाबले भन्ने हो भने देश कफ्र्यु मय भएको छ । दैनिक अस्तव्यस्त जिन्दगी बिताउनेहरुलाई यस प्रकारको वातावरण बाट निसासिनु स्वभाविक नै हो । तर सरकारले सो सब गरेको तपाई हाम्रो लागि हो भन्ने बुझ्न जरुरी छ ।
बजारमा विद्त वर्गको खण्डन सुनिने गर्छ । एसइइको परीक्षा केही अघि नै स्थगन गर्नुपथ्र्याे । लकडाउन गर्दा एक दुई दिनको समय दिएर गरेको भए उत्तम हुने थियो । सायद यस तथ्य पनि आआफ्नो ठाउँबाट सही होलान् तर सरकारले सरुवा रोग रोकथामको लागि अविलम्बन गरेका कार्य सर्वस्वीकार्य रहेको कुरामा भने दुई मत नहोला । नेपाल सरकार आफ्ना नागरिकको स्वास्थ्यमा पर्न सक्ने असरप्रति यति संवेदनशील भएर लागि परेको अवस्थामा यसलाई आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु सबै आम नेपालीको दायित्व र कर्तव्य हो । साथै लकडाउनमात्र कारोना रोग रोकथामको लागि पर्याप्त उपाय होइन । सरकारले अन्य उपायसमेत यथासम्भब छिटो अवलम्बन गर्न जरुरी छ ।
संक्रमणबाट जोगिएमा हावा खाने बजार घुम्ने क्रम लामो समयसम्म पनि गर्न पाइन्छ तर एकछिनको छटपटावटले आज बजार घुम्न निस्किदाँ यो नै अन्तिम बजार भ्रमण पनि हुन सक्छ ।
लकडाउनको समयमा सबै नेपाली घरमै नजरबन्दको स्थितिमा छन् । तर सौभाग्य भन्नै पर्छ कोरोना भाइरसले घर परिवारसँग नजिक हुने वातावरण सिर्जना गरेको छ । घर परिवारसँग नजिक भएर र यस विषम परिस्थितिलाई समेत उत्पादनशील क्षेत्रमा लगाएर र आफ्नो व्यक्तित्व विकास हुने प्रकारका कार्य गरेर बिताउन सकिन्छ । विभिन्न पुस्तक पढ्ने, नयाँ नयाँ सिप सिकाइको लागि अध्ययन गर्नु नै हालको लागि उपयुक्त कार्य हुन सक्छन् । अध्ययन गर्ने बानीको विकास गर्न समेत यो अनुकुल समय हुन सक्छ ।
हाल इन्टरनेटको प्रयोग साविकभन्दा ७० प्रतिशत बढी भइरहेको छ र मानिसको पहिलो रोजाई सामाजिक सञ्जाल फेसबुक नै बनेको छ । यसले क्षणिक समयको लागि केही रमाइलो भएता पनि सामाजिक सञ्जालले मानिसको व्यक्तित्व विकासमा कुनै योगदान नगर्ने र समयको बरबादीमात्रै हो भन्ने पनि बुझ्न जरुरी छ । अझ आजको समयमा च्याउ सरी उम्रिएको विभिन्न न्युज पोर्टलहरुले भ्रामक समाचार फैलाइरहेको छन् र सो समाचारको अध्ययन गरी हामी सोही समाचारको आधारमा देश र विश्वलाई आफ्नो मानसपटलमा राखिरहेका छौ । यसर्थ, यो समयमा सामाजिक सञ्जालको अधिक प्रयोगसमेत फाइदाजनक नहुन सक्दछ ।
कोरोना भाइरस संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प हो । यसर्थ, कारोना भाइरस बाट आफु बच्न र अरुलाई समेत बचाउनको लागि सामाजिक दुरी कायम गरौं । अत्यावश्यक परेको अवस्तामा बाहेक घरबाट बाहिर ननिस्कऊँ । बेलुकीपख मानिस हावा खान एकछिन चोक घुम्न भन्दै बाहिर निस्किरहेको पाइन्छ । तर कोरोना भाइसले समय नभनिकनै संक्रमण गर्ने जोखिम भएको हुनाले दुइ चार दिन चोक नघुम्दै र बजार परिक्रममा नगर्दैमा केही विग्रनेवाला छैन । संक्रमणबाट जोगिएमा हावा खाने बजार घुम्ने क्रम लामो समयसम्म पनि गर्न पाइन्छ तर एकछिनको छटपटावटले आज बजार घुम्न निस्किदाँ यो नै अन्तिम बजार भ्रमण पनि हुन सक्छ । त्यसलै समयमा नै सजग हुन जरुरी रहेको छ ।









