फागुन २५ गते २०७६

ताजा समाचार

फागुन २५ गते २०७६

महिलालाई पहिलो अवरोध परिवारबाटै !



अहिले पनि सम्झिन्छु म त्यो दिन । मैेले संयोजन गरेको कार्यक्रममा सम्मान गर्न लागिएकी दिदीसँग गहन प्रश्न गरेकी थिएँ । मैले त्यही दिन नै त्यो प्रश्नको उत्तर पाएकी थिएँ । तर मैले उहाँको उत्तरमा आनन्द लिइरहेकी त थिए तर सन्तुष्ट भने थिइनँ । १० वर्ष बितिसक्दा पनि ताजै लाग्छ मलाई उहाँको त्यो उत्तर । त्यो विश्लेषण, अनुहारमा एउटा, मुखमा एउटा उत्तर । कति रात सोचें, कति दिन सम्झें, जे होस् आज पनि त्यो दिन म सम्झिइनै रहन्छु ।

किनकी कुरा त्यहाँ महिलाको अस्तित्व र स्वतन्त्रताको थियो । कति उत्तर झूटा थिए या सत्य थिए, म आज बल्ल नियाल्दै छु । एउटा नेतृत्वमा पुगेका महिला र समाजमा आफ्नो पहिचान बनाउन पुगेका महिलालाई अहिले पनि बाधा खोज्न बहिर जानु पर्दैन । प्रायः घरमा सिर्जना गरिन्छ । हामी २१ औं शताब्दीका परिवर्तित महिलाको उदाहरण दिएर कुरा गर्छौ तर पनि हामीलाई थाहा हुँदैन ती महिलाले स्टेजमा भाषण गर्न र १ रात घर छोडेर हिड्नका लागी कति पापड बेल्नुपरेको हुन्छ । उनीहरुले शब्दमार्फत विश्वास दिलाउनका लागि निकै प्रयत्न गर्नुपरेको हुन्छ । त्यही परिवेश वा विषयमा पुरुषले भने महिलाको अनुमति लिनै पर्दैन । जानकारी दिए पुग्न, कहिलेकाँही त जानकारी पनि दिइदैन ।

सानैबाट विद्यालय जाँदा ढिलो होस् कि कतै खेल्न जाँदा छोरालाई यसको स्पष्टिकरण शायदै दिनुपर्छ तर छोरीले कारण बताउनै पर्छ । नभए यातना सहनुको विकल्प हुँदैन । बच्चैबाट म छोरी भएकाले म कमजोर छु र छोराहरु अर्थात् पुरुषहरुले बढी अधिकार पाउनु ठीकै हो भन्ने मानसिकता हाम्रो समाजले सिकाइरहेको छ । अधिकांश परिवारमा पुरुषको स्थान पहिलो र महिलाको दोस्रो देखिन्छ । अर्थात आइमाइ दोस्रो दर्जामै छन् ।

समय बदलियो, युग फेरियो, राज्य व्यवस्था नयाँ आयो । महिलालाई पुरुषसरह हक, अधिकारको व्यवस्था भयो । ऐन, कानुनमा समानता भए पनि समाज उस्तै छ, समाजका हर्ताकर्ताको दिमाग उस्तै छ । महिलाले केही नयाँ र फरक खालको काम गर्न खोजे उसलाई प्रोत्साहनको सट्टा लाञ्छना लगाइन्छ । यो क्रम परिवारबाटै सुरु हुन्छ । अग्निपरीक्षा दिने सीताको कथा गौरवगाथाका रुपमा सुन्ने हाम्रो समाज यो युगमा पनि सीताहरुको अग्निपरीक्षा लिन चाख मान्छ ।

महिलालाई अवरोध खोज्न कतै जानुपर्दैन, घरबाटै सुरु हुन्छ । समाजसम्म पुग्दा त यस्ता अवरोध लहरै भेटिन्छन् ।

सामाजिक, राजनीतिक, व्यावसायिक, धार्मिक जुनसुकै काम गर्न पनि घरबाहिर निस्कनै पर्छ । घरको चौघेरोबाट निस्किएपछि महिलामाथि औंला उठाउन सुरु गरिन्छ । आइमाईले यो काम गर्न सक्दिन, हिक्मत छैन, क्षमता छैन जस्ता टिप्पणीबाट उसलाई हतोत्साही बनाइन्छ । त्यतिले उपछि हटिन भने चरित्रमाथि औंला उठाइन्छ । ती काममा सहकार्य गर्नेहरुसँग नाम जोडिन्छ । कतै कतै त अनैतिक सम्बन्ध भएकैले अवसर पाएको, काम पाएको भन्नेहरु पनि भेटिन्छन् । महिलालाई अवरोध खोज्न कतै जानुपर्दैन, घरबाटै सुरु हुन्छ । समाजसम्म पुग्दा त यस्ता अवरोध लहरै भेटिन्छन् ।

यस्ता अवरोधहरु छिचोल्दै, कठिनाइ झल्दै अघि बढ्ने महिला थोरै छन् । उनीहरुलाई प्रोत्साहन मिल्ने ऐतिहासिक दिन हो विश्व नारी दिवस । समाजका बन्धन र परिवारको अप्ठेरालाई झेल्दै जिम्मेवार, कर्तव्यनिष्ठ र इमान्दार भएर जीवनपथमा अघि बढिरहेका नारीहरुको महान् पर्व हो यो । लिंगकै आधारमा विद्यमान विभेदहरुलाई अन्त्य गर्दै सभ्य समाज र जिम्मेवार नागरिक बन्न यो दिनले प्रेरणा देओस् । अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना !