साहित्यकार सञ्जीव पौडेल अक्षरयात्रा प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । पौडेल २ दशकदेखि साहित्य सिर्जना र साहित्यिक अभियानमा सक्रिय छन् । उनको ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् ।
जीवन र जीवनको यथार्थ बोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ हरेक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा हुने तत्स्थानीय सिर्जना र रचनावाचनमा सहभागी हुने प्रतिभावान स्रष्टालाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
शनिबार रूपा गाउँपालिका ७ को हंसपुरमा आयोजित अक्षरयात्राको १ सय ७५ औँ शृङ्खलाका संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उनलाई पुरस्कृत गरेका हुन् । युवा साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाले स्थापना गरेको यो पुरस्कारको राशि ५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
संस्कृतिकर्मी श्रेष्ठले साहित्यकारमा समयचेत र निरन्तरता प्रमुख कुरा भएको बताए । उनले सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्नेमा जोड दिए । अब स्थानीय सरकारले त्यहाँको साहित्य, कला र संस्कृति संरक्षणमा विशेष योजना ल्याउनुपर्ने विचार राखे ।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले लेखक कलाकार निष्कृय बस्दा राज्यले विकास र सभ्यताको फड्को मार्न नसक्ने जनाए । उनले भने, ‘साहित्यकारले राजनीतिकर्मीलाई निरन्तर मार्गनिर्देश गर्नुपर्छ ।’ रूपा गाउँपालिकाले स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणका लागि निरन्तर पहल गर्दै आएको जनाउँदै उनले आगामी आर्थिक वर्षबाट साहित्य, कला, सङ्गीत र संस्कृतिको प्रवर्धनका लागि विशेष योजना अघि बढाउने प्रतिवद्धता गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सूर्य खड्का बिखर्चीले साहित्यिक पुरस्कारले सर्जकमा ऊर्जा थप्ने सुनाए । २०२२ सालमा गण्डकी प्रदेशस्तरीय साहित्य सम्मेलन भएको हंसपुरको ऐतिहासिक स्थलमा नै कार्यक्रम आयोजना गरी हंसपुरकै स्रष्टालाई सम्मानित गर्न पाउँदा गर्व महसुस भएको रूपा गाउँपालिकाका वडा नं।–७ का अध्यक्ष दयासागर सुवेदीले बताए ।
कार्यक्रमका सहभागीलाई स्थानीय समाजसेवी कालीदास सुवेदीले वि।सं। २०२२ साालको ऐतिहासिक साहित्य सम्मेलनका बारेमा जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले स्रष्टाका सिर्जनाले नै समाज सुन्दर हुने औंल्याइन् ।
कार्यक्रममा पुरस्कृत स्रष्टा पौडेललाई साहित्यकार सुरज उपाध्यायले समयको आवाज बुझ्ने, विधागत रुपमा सचेत सर्जकको रुपमा चिनाए । पुरस्कृत सर्जक पौडेलले पुरस्कारले साहित्य लेखनमा ऊर्जा थपेको सुनाए । उनले माटो र बाटोलाई निरन्तर सिर्जनामा उतार्ने प्रण गरे ।

कार्यक्रममा अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’ र अक्षरयात्रा पुरस्कारका संस्थापक गोविन्द गिरीले पुरस्कार स्थापना र अक्षरयात्राबारे बोलेका थिए । यसअघि यो पुरस्कारबाट प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी र सुरज उपाध्याय पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा प्रकट पगेनी ‘शिव’, सूर्य खड्का बिखर्ची, लक्ष्मण थापा, मोहन भण्डारी, शिव सङ्कल्प, ईशा शाह, लालमणि पोखरेल, त्रुपक, विष्णुप्रसाद पोखरेल, जीवनाथ सुवेदी, माया कुँवर, मेघराज आचार्य, श्रीराम अधिकारी ‘गोर्जे’, नवराज देवकोटा, नेत्रराज घिमिरे, विश्वराज न्यौपाने, सौगात पोखरेल, सरला लामिछाने ‘सरू’, बिर्सना बस्नेत, मिर्मिसा पराजुली, पारु भण्डारी, भरतराज पौडेल, के।आर। ढकाल, गोविन्द गिरी, सुरज उपाध्याय, सञ्जीव पौडेल, अशोक ढकाल, कमल सुवेदी, करुणा भट्टराई, हरिराज अधिकारी, देवीरमण न्यौपाने, तारा पौडेल लगायतले रचना सुनाए ।
कार्यक्रम रूपा गाउँपालिका अध्यक्ष नवराज सुवेदी, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारीको संयुक्त अध्यक्षतामा भएको हो । कार्यक्रम सञ्चालन गजल सन्ध्याका सचिव त्रुपकले गरेका थिए ।




