कवितामार्फत हेमराजको सम्झना

शनिबार साहित्यकार हेमराज पहारीको १० औं स्मृति दिवस । पोखरेली साहित्यकारले पहारीलाई कविताबाटै सम्झिएका छन् । उनको योगदान र नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्न गठित हेमराज पहारी स्मृति प्रतिष्ठानको आयोजनामा केही प्रतिनिधि कविले आफ्ना रचना सुनाए ।

साहित्यकार सरुभक्तले हेमराजका कृतिहरु बजारमा अप्राप्त भएकाले पुनप्रकाशन गर्न आग्रह गरे । सुरुमा असल शिक्षकका रुपमा चिनेका पहारीलाई निकै पछिमात्र साहित्यकारका रुपमा चिन्न पाएको उनले उल्लेख गरे । साहित्यकार रमेश श्रेष्ठले आफूलाई पहारीले विद्यालय तहमा पढाएको सम्झिए । कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’, सरस्वती प्रतीक्षा, नुमराज बराल, अम्बिकाप्रसाद भट्टराई, रमा प्रासर, गौरी तमु, सुवास मल्ल र सुदर्शन पौडेलले कविता सुनाएका थिए ।

प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले पहारीका कृतिहरु प्रकाशन, पुरस्कार प्रदान, अन्तक्र्रिया लगायतका कार्यक्रम गरिरहेको बताइन् । उनले पहारीको नियात्रा सञ्चयन उत्तरी गोलाद्र्धको एक फन्को चाडै अंग्रेजीमा प्रकाशन गर्ने जानकारी दिइन् ।

उपाध्यक्ष गोबिन्दराज पहारीले हेमराजलाई असल शिक्षक, सचेत नागरिक र प्रगतिशील सर्जकका रुपमा चिनाए ।