साहित्यकार , गायिका अम्बिकालाई अली मियाँ पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारी यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कारबाट सम्मानित भएकी छन् । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ ।

लोककवि अली मियाँको १ सय २ औं जन्म जयन्तीको अवसरमा बिहीबार आयोजित समारोहमा प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रतिष्ठानका सल्लाहकार तारा बराल, अध्यक्ष हनिफ मियाँ लगायतले अम्बिकालाई सम्मान गरे । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली मियाँको २०६३ साउन १७ गते निधन भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले कला, साहित्यले समाजको चित्रण र नयाँ पुस्तालाई सकारात्मक बाटोमा लैजाने बताए । उनले अली मियाँले झै लोकसाहित्य र कलाको प्रवद्र्धन गरेमात्र उनको स्मृति दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरे ।

पुरस्कृत व्यक्तित्व अम्बिकाले अली मियाँकै बाटोमा आफू अघि बढिरहेको सुनाइन् । उनले भनिन्, ‘लोककविकै बाटोमा हिडेकी छु । यो पुरस्कारले जिम्मेवारी र दायित्व थपेको छ ।’

डा. बाबुराम अधिकारीले अली मियाँलाई राष्ट्रियता, धार्मिक सहिष्णुता र मानवताका अग्रणी कविको रुपमा चिनाए । लोककविका सिर्जनामा विद्यावारिधि गरेका डा. अधिकारीले लोककविले तत्कालीन समाजको अवस्था र विकृतिलाई लोकलयमा उजागर गरेको उल्लेख गरे ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षता भएको कार्यक्रममा सल्लाहकार तारा बराल, पात्रकारहरु कृष्णप्रसाद बास्तोला र आरजु विष्ट ‘स अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, प्रतिष्ठानका सचिव पद्मराज ढकाल र सदस्य रवीन्द्र माकाजुले बोलेका थिए ।

प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन् । अनेक संघ, संस्थाबाट सम्मानित भण्डारीका २ कविता संग्रह, १ खण्डकाव्य र १ मुक्तक संग्रह प्रकाशित छन् ।

नेपाली मौलिक गीतलाई महत्व दिने उनले पछिल्ला केही वर्षका हरेक तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन् । यसअघि यो पुरस्कारबाट पद्यराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, सकुन ज्ञवाली, भीष्म बास्तोला, ऋतु लामा लगायत सम्मानित भइसकेका छन् ।