धनबहादुर गल्फ च्याम्पियन

आर्मी गल्फ क्लबका गल्फर धनबहादुर थापा २० औं सूर्य नेपाल वेस्टर्न ओपन टुर च्याम्पियन बनेका छन् । शिवराम श्रेष्ठलाई २ स्ट्रोकले पछि पार्दै उनले उपाधि जितेका हुन् ।

उनले नगद १ लाख २५ हजार पाए । थापालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले उपाधि प्रदान गरे । वेस्टर्न ओपनमा उनको जित यो तेस्रो हो । यसअघि उनले २०१५ र १७ मा पनि उपाधि उचालेका थिए ।

फ्रन्ट नाइनमा २ अन्डर खेलेका थापाले तेस्रो दिनसम्म ४ अन्डर २ सय ३ स्कोर बनाए । फ्रन्ट नाइटमा २ अन्डर राखी ३२ को स्ट्रोर्क बनाएका उनले ब्याक नाइनमा भने अघिल्लो गति कायम राख्न सकेनन् । ब्याक नाइनमा १८ औं होलमा बोगी व्यहोरे पनि उनीले लेभल पार खेले ।

तेस्रो होल र ९ औं होलमा उनको बर्डीले उनको उपाधि सुनिश्चित बनाइदियो । ‘तेस्रो होलमा हेजार्ड हानें । तर ग्रिनको ३० फिट परबाट पट छिर्यो,’ उनले भने, ‘ २१० यार्ड नवौं होलमा पनि बल ग्रिनमा पर्यो । जसले अर्को बर्डी हान्न सहज भयो ।’ १८ औं होलमा पहिलो सट उनले ओबी हिर्काएका थिए ।

अन्तिम दिन लयमा समातेर ३ अन्डर ६६ खेले पनि शिवराम श्रेष्ठले उपविजेतामा चिक्त बुझाउनुपर्यो । उनी समग्रमा ३ अन्डर २ सय ५ को स्कोरमा रहे । बिहीबारको ३ ओभरले उनलाई उपाधिबाट टाढा पुर्यायो ।

श्रेष्ठले चौथो, पाँचौ र सातौं होलमा बर्डी हिर्काए । फ्रन्ट नाइनको उनको ३ अन्डर ३१ को गति १० औं होलमा बोगी खेप्नुपरेपछि सिथिल बन्यो । १५ औं होलमा बर्डी हानेका उनले बाँकी होलमा पार खेले । उनले ७५ हजार पाएका छन् ।

धराने गल्फर शुक्रबहादुर राई तेस्रो बने । उनले ३ ओभर २ सय १० को कार्ड बनाउँदै नगद ५५ हजार जिते । उनले तीनै दिन समान १ ओभर खेले । उनले तेस्रो र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन २ ओभर ३६ को कार्ड बनाए । ब्याक नाइनमा १ अन्डर ३४ को कार्ड बनाएर उनले शुक्रबार १ ओभर ७० को स्कोर बनाए । उनले १२ र १५ होलमा बर्डी हिर्काए । १८ औं होलमा बोगी व्यहोरे ।

प्रतियोगितामा चौथो बनेका जयराम श्रेष्ठले समग्रमा ५ ओभर २ सय १२ खेले । उनले नगद पुरस्कार ४५ हजार थापे । भुवनकुमार रोका ६ ओभर २ सय १३ को स्थितिमा रहे । सञ्जय लामाले टाइ खेल्ने क्रममा अन्तिम दिन २ ओभर ७१ मा टुंग्याए ।

लामा र रोकासँगै टाइमा रहेका निरज तामाङ भने ‘डिस्क्वालिफाइड’ भए । उनले १८ औं होलमा त्रिपल बोगी खेपे । तर स्कोर कार्डमा डबल बोगी उल्लेख गरेपछि उनलाई डिस्क्वाईलिफाइ गरिएको हो ।

रवि खड्का सातौं बने । उनले अन्तिम दिन ३ ओभर ७२ को कार्ड बनाउदा समग्रमा ९ ओभर २ सय १६ मा रहे । आठौं स्थानमा भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठ रहँदै नगद पुरस्कार २८ हजार प्राप्त गरे । उनीहरुको १० ओभर २ सय १७ स्कोर छ । विनोद तामाङ दशौं बनेर नगद २५ हजार पाए । ३० प्रोबाट अन्तिम दिन कट जोगाउँदै २४ गल्फर प्रतिस्पर्धामा थिए ।

एमेच्योरतर्फको उपाधि जितेन्द्र राईले जिते । उनले पहिलो दिनदेखि नै अग्रता लिएका थिए । राईले १८ ओभर २ सय २५ खेले । दोस्रो बनेका सुरेश तामाङले समग्रमा २५ ओभर २ सय ३२ को कार्ड बनाए ।

अहिलेसम्मका विजेता
१) रमेश नगरकोटी सन् १९९९ र २००२
२) दीपक थापामगर २००० र २००३
३) पशुपति शर्मा २००१
४) दीपक न्यौपाने– २००४ र २००६
५) शिवराम श्रेष्ठ– २००५, २०११, २०१२, २०१३, २०१६
६) मणि राई– २००८
७) रवि खड्का– २००९
८) सञ्जय लामा– २०१० र २०१८
९) भुवन नगरकोटी– २०१४
१०) धनबहादुर थापा–२०१५, २०१७ र २०१९