पोखरा १७ महतगौंडामा रहेका जानकी माविले ४२ औं वार्षिकोत्सव शुक्रबार मनाएको छ । २०३५ सालमा स्थापना भएको जानकीले यस शैक्षिक सत्रबाट कक्षा ९ को पढाइ सुरु गरेको छ ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले विकासको आधार नै शिक्षा भएकाले यसको विकासका लागि योजनावद्ध रुपले काम गरिरहेको बताए । उनले विद्यालयमा आवश्यक भौतिक संरचना, सञ्चालन गर्ने स्रोत व्यवस्थापन, जनशक्ति व्यवस्थापनसमेतलाई समेटेर योजना निर्माण गर्न सुझाव दिए । अधिकारीले भने, ‘योजना बनाएर आउनुहोस्, स्रोत व्यवस्थापनका लागि वडा सरकार सहकार्य गर्न तयार छ ।’
गुप्तेश्वर गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारी विद्यालयको गुणस्तरमा प्रश्न गर्नैहरुले लगानी कति छ भन्ने नसोचेको उल्लेख गरे । उनले भने, ‘सरकारी स्कुलमा लगानीचाहिँ कति भएको छ ? प्रतिफलमात्रै खोज्ने ?’ उनले गुफाको आम्दानीबाट अन्य शिक्षालायलाई सहयोग गरिएको उल्लेख गर्दै जानकीलाई पनि सहयोग गर्ने आश्वासन दिए ।

छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीले सामुदायिक स्कुल सपार्न अभिभावकको विशेष भूमिका हुने उल्लेख गरे । उनले भने, ‘अभिभावकको खवरदारी, विद्यार्थीको मेहनत, शिक्षकको लगनमात्र भएर पुग्दैन । सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा प्रधानाध्यापक गोपालराज पौडेलले विद्यालयको अवस्थाबारे प्रकाश पारे । यस शैक्षिक शत्रबाट कक्षा ९ सञ्चालन भए पनि शिक्षक दरबन्दी नहुँदा समस्या परेको उनले सुनाए । पौडेलले भने, ‘यो स्कुलमा विद्यार्थीको कमी हुने देखिँदैन तर हामीलाई समस्या शिक्षक दरबन्दीकै छ ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भण्डारीले आगामी शैक्षिक सत्रबाट कक्षा १० सञ्चालन हुने जानकारी दिँदै सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रममा नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना, शिक्षक अभिभावक संघ अध्यक्ष प्रेम थापा, पोखरा १७ का वडा सदस्य बैकुण्ठ भण्डारी, अखिल नेपाल शिक्षक संगठन कास्की अध्यक्ष श्रीधर गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा नगर कमिटी अध्यक्ष विष्णुहरि त्रिपाठी, शिक्षक तुल्सी गिरी लगायतले बोलेका थिए । जानकीमा १३ शिक्षक, २ कर्मचारी र २ सय २२ विद्यार्थी छन् ।
शुक्रबारै विद्यालयमा २ अक्षयकोष स्थापना भएका छन् । समाजसेवी लेखनाथ चालिसेले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । महतगौंडाका व्यवसायी तथा समाजसेवी सिविन्द्रराज भण्डारी र सीता काफ्ले भण्डारीले ५५ हजार ५ सय ५५ रुपैयाँको कोष स्थापना गरेका छन् । दुवै अक्षयकोषबाट वार्षिकरुपमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रममा शिक्षकद्वय कमलप्रसाद आचार्य र सिर्जना पोखरेल, कर्मचारी भीमकुमारी आले र उत्कृष्ट अभिभावकका रुपमा डिलुमाया भण्डारीलाई सम्मान गरियो । विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेको समारोहमा शैक्षिक पुरस्कार र छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा ८० जना विद्यार्थीको सित्तैमा दन्त परीक्षण गरिएको छ । गोमा फाउन्डेसनले गरेको शिविरमा प्राविधिक सहयोग न्यु स्याङ्जा डेन्टल सर्भिसले गरेको थियो । फाउन्डेसन जानकीकै छात्रा गोमा पराजुलीले स्थापना गरेको संस्था हो । फाउन्डेसनले कक्षा ६ की छात्रा प्रशंसा रानालाई नगद, स्टेसनरी र ड्रेस प्रदान गरेको छ ।










