प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशन एवं साधारणसभाले इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चुनेको छ ।
यसअघि तदर्थ समिति अध्यक्ष रहेकी इन्दिरालाई नै अधिवेशनले निरन्तरता दिएको हो । उनी प्राडा सूर्यमणिकी छोरी हुन् । उपाध्यक्षमा प्राडा देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी र कोषाध्यक्ष डा. बाबुराम अधिकारी चयन भए । सदस्यमा डा. ईश्वरीराज लौडारी, सुरेश रानाभाट, डा. उत्सव अधिकारी, उपप्राध्यापक वेदनिधि अर्याल र शंकर खराल छन् ।
संस्थाका सल्लाहकारमा डा. जगमान गुरुङ र प्राडा दीलबहादुर र संरक्षकमा कपिलनाथ कोइराला छन् । पोखरामा प्रधान कार्यालय रहेको प्रतिष्ठानले चितवन शाखामा पनि ११ सदस्यीय कार्यसमिति चुनेको छ ।
डा। ईश्वरीराज लौडारीको अध्यक्षतामा ११ सदस्यीय चितवन शाखाको कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा दिलबहादुर बोगटी, सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष प्रभा अधिकारी अर्याल, सदस्यमा रामबाबु घिमिरे, मणिराम शर्मा, चन्द्रकान्त पौडेल, प्रमोद सेढाई, गाविन्द अधिकारी र सुरेन्द्र धिताल छन् । सल्लाकार समितिमा केदारनाथ खनाल, रमेशबाबु ढकाल, चण्डिकाप्रसाद अधिकारी, टेकनारायण भुसाल र तिलकराज पौडेल छन् ।
कार्यक्रमका पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रतिष्ठानमार्फत् राजनीति, धर्र्म र साम्प्रदायिक स्वार्थभन्दा माथि उठेर प्राज्ञिक कर्ममा लाग्न आग्रह गरे । उनले प्राडा सूर्यमणि चितवनका मात्रै नभएर देशकै ख्यातिप्राप्त व्यक्तित्व भएको स्मरण गरे ।
प्रतिष्ठानका सल्लाहकार प्राडा दीलबहादुर क्षेत्रीले अधिकारीको ‘खस राज्यको इतिहास’ कृतिले अन्य समूहमा राखेको खस जातिलाई मूल प्रवाहमा ल्याएको दाबी गरे । क्षेत्रीले कसैको पहिचान खोसेर अर्कैलाई पहिचानको टोपी लगाइदिने संस्कारको आलोचना गरे । उनले आफ्ना गुरु सूर्यमणिले ‘खस किङडम’ पुस्तक नलेखिदिएका भए तमाम खस जातिको अस्तित्व नामेट हुन सक्ने आशंकासमेत गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा भीमराज अधिकारी, केदारनाथ खनाल, रामबाबु घिमिरे, जगदीश्वर खनाल, टेकनारायण भुसाल र गोविन्द सापकोटाले बोलेका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष डा. बाबुराम अधिकारी र सचिव महेशप्रसाद अधिकारीले प्रस्तुत गरेका आर्थिक र प्रगति प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका अधिकारीका इतिहास, दर्शन, साहित्य, भाषाविज्ञान र राजनीतिक विषयका १८ पुस्तक प्रकाशन छन् भने १ सय २० भन्दा बढी अनुसन्धानमूलक लेख विभिन्न जर्नलका छापिएका छन् । प्रतिष्ठानले उनको नाममा स्थापित पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङलाई ५० हजार र ताम्रपत्रले सम्मान गरिसकेको छ ।
विसं २००५ मंसिरमा तनहुँको मिर्लुङ बाहुनडाँडामा जन्मिएका अधिकारी पोखरा महानगरपालिकाको पहिलो पक्की घर बनाउने प्राविधिक हुन् । चितवनको पहिलो विद्यावारिधि गर्ने रेकर्ड उनी उनकै नाममा दर्ज छ ।
२०६३ जेठ २ गते ५८ वर्षमा क्यान्सर रोगका कारण उनको निधन भएको थियो । उनका ३ छोराबुहारी हाल अमेरिकामा छन् । अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्राडा देवीप्रसाद कडेंल, डा. ईश्वरीराज लौडारी, संरक्षक कपिलनाथ कोइराला र सचिव महेशप्रसाद अधिकारीले प्रतिष्ठान र सूर्यमणिका योगदानबारे बोलेका थिए ।






