पोखरा १७ को ढुंगेसाँघु मार्गमा किड्स प्याराडाइस मन्टेसरी एन्ड चाइल्ड केयर खुलेको छ । सरस्वती पूजाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले छात्र अर्पण पौडेललाई क लेख्न सिकाएर मन्टेसरी सुरुआत गरेकी हुन् ।
शर्माले सरस्वती पूजाको पवित्र दिनमा पवित्र कार्य सुरुआत हुनु प्रशंसनीय भएको बताइन् । उनले बालमैत्री र देशको आवश्यकता अनुसारको शिक्षा प्रदान गरी भूमिका निर्वाह गर्न अनुरोध गरिन् । उनले भनिन्, ‘देशका योजनाकार, अभियान्ता, नेता सबै बनाउन जग शिक्षा नै हो । यहाँहरुले बनाएको पूर्वाधार बलियो, भरपर्दाे र युग अनुसारको होस् ।’
प्रदेश सांसद कृष्ण थापाले पोखरा १७ मा विकास, निर्माणका ठूला, ठूला योजना बनिरहेकाले चाडै वडाले फड्को मार्ने सुनाए । उनले यस क्षेत्रको योजनावद्ध विकासका लागि ३ तहकै सरकारबीच सहकार्यका लागि सधै पहल गर्ने प्रतिवद्धता गरे ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले वडामा १६ निजी विद्यालय, ३ सामुदायिक, १ सामुदायिक क्याम्पस र १० मन्टेसरी रहेको बताए । उनले युगानुकूलको शिक्षा र भोलिको नेपालको सबल नेतृत्व तयार गर्न शैक्षिक संस्थाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्टेसरीका प्रिन्सिपल मञ्जु ढकालले बालबालिकालाई युग सुहाउँदो परिवेशमा मन्टेसरी प्रणालीमा शिक्षा दिइने बताइन् । सञ्चालक निर्देशक कृष्णबहादुर ढकालले पर्याप्त खेल मैदान, आफ्नै जमिन, बालबालिकाका लागि आवश्यक सबै खालका शैक्षिक सामग्री र पूर्वाधारसहित गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता गरे ।

सञ्चालक सदस्य पदम ढकालले सामाजिक दायित्व निर्वाह गर्दै त्यस क्षेत्रमा बालबालिकालाई आधुनिक युग अनुसारको शिक्षा दिन मन्टेसरी स्थापना गरिएको बताए ।
कार्यक्रममा पार्दी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोयानाथ लम्साल, तल्लो रातोपैह्रा टोल विकास संस्थाका अध्यक्ष प्रकाश रेग्मी, पत्रकार रामजी लम्साल लगायतले बोलेका थिए ।
बिहीबारै मन्टेसरीमा २५ विद्यार्थी भर्ना भएका छन् । अहिलेकै पूर्वाधारले ५० विद्यार्थी धान्ने र आवश्यकता अनुसार पूर्वाधार थपिने जनाइएको छ ।




