ल्होसार मनाउँदै कास्कीका ह्योल्मो

शनिबार ह्योल्मो, तामाङ, थकाली लगायतका आदिवासीले ल्होसार मनाउँदै छन् । नेपाल, चीन, भियतनाम, थाइल्यान्ड, मंगोलिया, भारत, कोरिया, सिंगापुर लगायतका मुलुकमा यी जातिका आदिवासीले संस्कृति अनुसार मुसा वर्गलाई स्वागत गर्दै ल्होसार मनाउँछन् ।

ल्होसार उनीहरुको नयाँ वर्ष हो । चन्द्रपात्रोका आधारमा मनाइने ल्होसार परम्परा संसारकै पुरानोे चिनियाँ मंगोल सभ्यतासँगै सुरुआत भएको विश्वास गरिन्छ । नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले २१४७ औं च्याग फो जिवा ल्हो सोनाम ल्होसरका अवसरमा ग्रहशान्ति पूजा आयोजना गरेको छ ।

गत वर्षमा भएका कामको समीक्षा गर्दै, राम्रा कामलाई निरन्तरता दिने, अधुरा काम पूरा गर्ने र नराम्रा कुरा परित्याग गरी नयाँ जोश, जाँगरका साथ आउने दिनमा दुख कष्ट नपरोस भनी पूजामा कामना गरिन्छ । लामा गुरुहरुद्वारा गरिएको पूजामा पिता पुर्खाको सम्झना गर्दै संसार भरका मानव तथा जीवात्माको मुक्ति र कल्याणका निम्ति प्रार्थना गरिएको नेपाल ह्योल्मो समाज सेवा संघ कास्की अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले बताए ।

आफ्नो घर आँगन, टोल छिमेक सफा, सुग्घर बनाएर ल्होसार ह्योल्मो समुदायले ल्होसारको स्वागत गरेका छन् । ल्होसारमा बौद्ध लामा गुरु र ठूलावडावाट टीका र आशीर्वाद ग्रहण गर्ने र समूहमा खानपिन तथा नाचगानका साथम शुभकामना आदानप्रदान गरिने सचिव दिलबहादुर ह्योल्मोले जानकारी दिए । यसै दिन विश्व शान्तिको प्रतीक मान्दै बौद्ध झण्डा लुङदार हरेक घरमा टाँगिने उनले जानकारी दिए ।

दिन माघ ११ देखि ल्होसार विभिन्न टोल टोलमा चेलिवेटी भेटघाट, सामूहिक भोज, सांस्कृतिक कार्यक्रम गरी १५ दिनसम्म मनाउने योजना रहेको समाजका सहसचिव रीता ह्योल्मोले बताइन् । १२ जीव जन्तुलाई प्रतीक मानि ल्हो खोर्लो (वर्ष चक्र)मा आधारित भई मंगोल समुदायले माघ शुक्ला प्रतिपदाका दिन ल्होसार मनाउँछन् । ल्होसारसँग वसन्त ऋतु सुरआत हुने विश्वाससमेत गरिन्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोनामा ल्होसारको शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले नेपालीबीच वन्धुत्व, एकता र प्रेमको भावना विकासित गराई समृद्ध र समुन्नत नेपाल बनाउने प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।

यसैबीच सोनाम ल्होसार तथा शिवरात्रिको अवसरमा अनेरास्ववियु अमरसिंह क्याम्पस कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम अयोजना गरेको छ। कार्यक्रममा सांसद दुर्गा विक, कमिटी अध्यक्ष मनिष तामाङ लगायतले बोलेका थिए ।