बैंककमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्दै बुद्धिज एटेलियर

नेपाल भ्रमण वर्ष २०२० मा देश चिनाउन विभिन्न कार्यक्रम भइरहेका छन् । यसपालि २० लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको सरकारसँगै निजी क्षेत्र र नागरिकसमेत यसका लागि जुटेका छन् । भ्रमण वर्षमा देश चिनाउन र नेपाली कला प्रवद्र्धन गर्न थाइल्यान्डको बैंककमा नेपाली कलाकारको अन्तर्राष्ट्रिय सामूहिक चित्रकला प्रदर्शनी हुने भएको छ ।

आयोजक बुद्धिज एटेलियरले आइतबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । हङकङमा रहेको उज्ज्वल आर्टस्ले यहाँ प्रदर्शनीको चाजोपाँजो मिलाएको हो । कार्यक्रमको सहआयोजकसमेत रहेको यसका सञ्चालक उज्ज्वल अधिकारी बुद्धिज एटेलियरका उत्पादन हुन् । कास्कीका अधिकारी त्यहाँ अध्ययन गरिरहेका छन् ।

नेपालको सुन्दरता, संस्कृति र परम्परा कलामार्फत उजागर गरी भ्रमण वर्षलाई विदेशमा प्रचारप्रचार गर्न प्रदर्शनी आयोजना गरिएको संयोजक हेमकान्ति गुरुङले बताइन् । बिजनेस हबका रुपमा विकास भएको थाइल्यान्ड एसिया र युरोपका धेरै पर्यटकले भ्रमण गर्ने भएकाले उनीहरुलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

इम्ब्रेस नेपाल शीर्षकमा एटेलियरले मार्च ६ देखि ८ सम्म प्रदर्शनी आयोजना गरेको हो । संयोजक हेमकान्तिले प्रदर्शनी गर्न विदेश रोजे पनि उद्देश्य नेपाली कलाकै प्रवद्र्धन भएको बताइन् । उनले भनिन्, ‘विदेश रोजे पनि उद्देश्य नेपाली कला विदेश पु¥याउनु र चिनाउनु नै हो ।’

पानी रंग वा अरु रङबाट बनाइएका ४० वाई ३० सेमीका कला यसमा समावेश हुने छन् । सबै चित्र इम्ब्रेस नेपाल शीर्षकलाई प्रतिनिधित्व गर्न सक्ने हुनुपर्ने हेककान्तिले खुलाइन् । यसमा नेपालका २० र विदेशी १० गरी ३० कलाकार सहभागी हुने जनाइएको छ । पोखराबाट ८ महिला कलाकारसहित ११ कलाकार प्रदर्शनीमा सहभागी हुँदै छन् । प्रदर्शनीमा रसिया, भियतनाम, भारत, माल्टा र थाइल्यान्डका कलाकारका कला पनि समावेश गरिनेछ ।

अग्रज कलाकार लोकप्रसाद गुरुङले विद्यालय र विश्वविद्यालय तहमा कलाको पढाइ हुने वातावरण बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘पोखरामै फाइन आर्ट पढाइ हुनुपर्छ । यस्ता प्रदर्शनीले कलाकारलाई ऊर्जा भर्छन् ।’

नेपालको सुन्दरता, संस्कृति र परम्परा कलामार्फत उजागर गरी भ्रमण वर्षलाई विदेशमा प्रचारप्रचार गर्न प्रदर्शनी

प्रदर्शनीमा सहभागी हुन चाहने कलाकारले फेब्रुअरी २ भित्र पेन्टिङका तस्बिर आयोजकलाई पठाइसक्नुपर्ने छ । प्रदर्शनी, प्रमाणपत्र र क्याटलगका लागि १ सय ५० अमेरिकन डलर कलाकारले तिनुपर्ने आयोजकले जनाएको छ । ७ दिनको यात्रा टिमसँग गर्न चाहनेले ५ सय ५० डलर तिर्नुपर्छ । प्रदर्शनीसहित होलिडे टुरमा सहभागी हुनेले भने ७ सय डलर तिर्नुपर्ने छ । व्यक्तिगत तवरमा थाइल्यान्ड गएर ३ दिने प्रदर्शनीमा आफ्ना कला समावेश गर्न चाहने कलाकारले भने २ सय डलर तिर्नुपर्ने आयोजकले जनाएको छ ।

बुद्धिज एटेलियर २ दशकदेखि क्रियाशील पोखराका एक पुरानो स्टुडियो हो । बालबालिकालाई पेन्टिङ प्रशिक्षण र कलाकार बन्न चाहनेलाई वाटर कलर प्रशिक्षण पनि यसले दिँदै आएको छ । धेरै कलाकार उत्पादन गरिसकेको यो स्टुडियो मिनी वाटर कलर स्कुलका रुपमा चिनिएको छ ।

यसले फेसेज अफ नेपाल, पूर्ण मिलन, भाइब्स अफ हार्ट लगायतका थिममा यसअघि अनेकौं प्रदर्शनी आयोजना गरिसकेको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।