१० करोड कारोबार गर्दै सकियो बागलुङ महोत्सव

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा चलेको छैठौ बागलुङ महोत्सव सोमबार सकिएको छ । प्रत्येक २ वर्षमा सञ्चालन हुदै आएको बागलुङ महोत्सव यस वर्ष पौष ११ देखि २१ गतेसम्म भएको थियो ।

बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवद्धर्न गर्नको लागि आयोजना गरिएको महोत्सवमा दश करोड बढीको कारोबार भएको संघले जनाएको छ । ‘महोत्सवभित्र १० करोड भन्दा बढीको कारोबार भएको छ,’ संघका महासचिव नरेश कँडेलले भने, ‘महोत्सवबाट कति मुनाफा भयो कति खर्च भन्ने हिसाब किताब छिटै सार्वजनिक गर्छौं ।’

यो पटक महोत्सवलाई बहुउद्देश्यीय स्वरुप दिने प्रयास गरिएको छ । महोत्सव सकिएपछि महोत्सवका लागि स्थान उपलब्ध गराउने धौलागिरि बहुमुखी क्याम्पस बागलुङलाई विद्यार्थी छात्रवृत्ति कोष स्थापनाका लागि नगद ५ लाख संघले प्रदान गरेको छ । टिकट व्यवस्थापनबापत मानवसेवा आश्रम बागलुङलाई एकमुष्ठ २ लाख रुपैयाँ दिईएको छ ।

‘क्याम्पससंगको पूर्व सहमति अनुसार अक्षयकोषका लागि हामीले नगद हस्तान्तरण गरेका छौं, शैक्षिक सामग्रीका लागि पनि छिटै सहयोग प्रदान गछौं,’ कँडेलले भने ,‘के कति टिकट विक्री भयो भन्ने कुराको हिसाबकिताब त निकाल्न बाँकी नै छ । मानवसेवा आश्रमलाई २ लाख प्रदान ग¥यौं ।’
महोत्सवमा विभीन्न प्रतियोगितात्मक कार्यक्रम भएका छन् ।

यो वर्ष नयाँ खेलका रुपमा आर्चरी अर्थात ताराखेल समावेश गरियो । प्याराग्लाईडिङ विशेष आकर्षण हुने भनिए पनि पहिलो दिन बाहेक प्याराग्लाईडिङ उड्न सकेन । पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, खुल्ला लोकनृत्य प्रतियोगिता लगायतका प्रतियोगिता भए ।

यो वर्षको आम्दानीले आर्थिक पत्रकारिता पुरस्कार र बागलुङ बजारक्षेत्र भित्रको सिसि टिभी क्यामेरा मर्मत गर्ने पनि संघको योजना छ । यो वर्ष बागलुङमा पहिलो पटक लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा बहस प्रारम्भ भयो । महोत्सवको पूर्व सन्ध्यामा भएको लगानी बहसले उपलब्धी नै दिन नसके पनि यहाँको आर्थिक विकासका लागि बहस प्रारम्भ भने गरेको छ ।

नयां वर्षमा पोखरा जाने कैयौं युवायुवतीलाई न्यू ईयर इभले बागलुङमै राख्न सफल भयो । दैनिक रुपमा संगितमय कार्यक्रमले बागलुङको सांगितीक महोल ततायो । राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुतीमा बागलुङेहरु चिसोको परवाह नगरी रमाए । समग्रमा महोत्सव सफल भएको संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘आज यो महोसत्व सकिने दिन आएको छ, तपाईहरुको साथ र सहयोग देख्दा महोत्सव समापन नगरौं जस्तो लागेको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘यो सफलताले हामीलाई आगामी दिनमा पनि महोत्सव गर्नका लागि प्रेरणा मिलेको छ । यो महोत्सव सफल भएको छ ।’

महोत्सवले कला संस्कतिसंगै व्यापारको समेत प्रवद्र्धन गरेको उनको दाबी छ । गण्डकी प्रदेश सरकार वन वाताबरण तथा पर्यटनमन्त्री विकास लम्सालले देशको समृद्धिका लागि उत्पादन बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘हामीले तपाईहरुलाई के कस्तो सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं,’ उनले भने, ‘हामीले वाताबरण बनाउने काम गर्छौं । तपाईहरुले उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुस् । देशको विकास धेरै पर छैन ।’

गण्डकी प्रदेश सरकारले उत्पादन मूलक क्षेत्रमा काम गर्न र स्वरोजगार बन्नका लागि दुई अर्ब रुपैयाँ अनुदान बाँडेको उनको भनाई छ । ‘हामीले रोजगारीको अवसर सिर्जनका लागि दुई अर्ब बढि अनुदान रकम बाँडेका छौं,’ उनले भने, ‘होम स्टे सञ्चालन, कृषि पशुपालनमा दिईएको अनुदानले अहिले नै प्रतिफल दिएको त छैन । तर यसले प्रतिफल दिनुपर्छ त्यही अनुसार काम अगाडी बढ्नुपर्छ ।’

निजी क्षेत्रको लगानी सहयोग बिना सरकार मात्रै अगाडी बढ्न नसक्ने उनको भनाई छ । ‘हामीले पूर्वाधार निर्माण गर्ने हो, लगानी गर्ने, उत्पादन गर्ने तपाईहरु नै हो, त्यसैले तपाईहरुको साथ बिना हामीले मात्रै अगाडी बढेर हुँदैन,’ मन्त्री लम्सालले भने ।

कार्यक्रममा संघीय सांसद मनकुमारी केसी, कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, महासचिव नरेश कँडेल, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु लगायतले बोलेका थिए ।