सेती गर्जमा बन्जी मज्जा

पोइको तारन्तारको गालीबाट उम्किन जोई अग्लो बरको रुखमा चढी । टुप्पामा पुगेपछि सधै बलियो हुँ, सबै काम गर्न सक्छु भन्ने बूढालाई भनी, ‘तिमी डरछेरुवा छौं, सक्छौं भने यहाँ आऊ ।’

कसोकसो गरी बूढा टुप्पैमा आइपुग्न लाग्यो । रुखमै रामधुलाइ हुने अवस्था बुझेकी ऊ हाम फाली । बूढी सुरक्षित फेदमा देखेर आफू पनि हाम फालेको बूढो भने ठहरै भयो ।

चलाख बूढीले खुट्टामा डोरी बाँधेकी थिई तर बूढाले त्यो पत्तै पाएन । समुन्द्री टापु भानुतु मा यस्ता अनेकौं कथा प्रचलित छन् । विस्तारै यम हार्बिस्टसँग जोडिएको यो चलन यहाँको संस्कार भएको छ । राम्रो अन्न फलाउन मान्छेको टाउकोले भूई छुनुपर्ने यहाँ बासिन्दा विश्वास गर्छन् ।

भुनुतुबाट सुरु भएको भूई छुने खेल अहिले विश्वप्रसिद्ध छ । पोखरा १७ रातोपहिरामा पनि बन्जी जम्प बन्दै छ । संसारकै अग्लो शिखरको देशमा बन्जीजम्पले आफ्नो वास्तविक प्राकृतिक घर भेट्टाएको छ । नेपालको बन्जी अनुभव शायद विश्वकै सर्वाेत्कृष्ट छ ।

नेपाली र विदेश दुवैलाई अनुपम र साहासिक आनन्द दिन गण्डकी प्रदेशका युवाको समूहले बन्जी नेपाल एड्भेन्चर्स प्रालि पोखरा खोलेको छ । काठमाडौं, पोखरा र आसपासका जिल्लाका युवाले करिब ८ करोड लगानी गरेका छन् ।

सन्तोष भट्टराईले मकाउ, जापान, सिंगापुर लगायतकामा बन्जी जम्पमा काम गरे । एक दशक बढीको अनुभव र विशेषज्ञता भएका उनले उत्साही युवालाई समेटेर बन्जी जम्प सुरु गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘जन्मस्थलनजिक कर्मस्थल बनाउन लगानी गरें । भिजिट नेपाललाई सफल बनाउन र देशलाई समृद्ध बनाउन यसले योगदान गर्छ ।’

बन्जीजम्प निर्माण करिब ८० प्रतिशत सकिएको छ । जनवारी १ मै सुरु गर्ने लक्ष्य भए पनि प्राविधिक कारणले फागुन ९ गतेबाट सेवा थाल्ने योजना छ । १ महिना परीक्षणपछि व्यवसायिक सेवा शिवरात्रीबाट सुरु हुनेछ । २० जना जतिलाई रोजगारी दिने उनले बताए । उमेर पुगेका विद्यार्थीले पनि यहाँ पार्ट टाइम काम पाउने छन् ।

पोखराको १७ रातोपहिरामा बन्जी जम्प बन्दै छ । संसारकै अग्लो शिखरको देशमा बन्जीजम्पले आफ्नो वास्तविक प्राकृतिक घर भेट्टाएको छ

पोखराको मुख्यबजार पृथ्वीचोक र लेकसाइड दुवैबाट करिब २ किमीमा छ यो स्थल । सजिलै पर्यटक पुग्न सक्ने ठाउँमा रहेको बन्जीजम्पलाई फरक तरिकाले चनाउने कम्पनीको योजना छ । नेपाली र विदेशीलाई समान शुल्क लिइनेछ । भट्टराई भन्छन्, ‘स्वदेशी र विदेशीलाई फरक फरक शुल्क लिनु ठगी हो । नेपालीले तिर्न सक्ने खालको रेट हुन्छ हाम्रो । कोही नेपाली पैसा भएन भनेर निराश भएर फर्किनु नपर्ने खालको शुल्क राख्छौं ।’

बन्जी निर्माण जलप नेपाल भरतपुर, चितवनले गरिरहेको छ । यसको भर्टिकल टावर ३२ मिटर आग्लो छ । यसबाट सेती खोंचसहित पोखरा १७ र १५ का विभिन्न भाग आवलोकन गर्न मिल्छ । यसलाई भ्युटावरको रुपमा विकास गर्ने योजना छ । तेर्साे टावर ५५ मिटर लामो छ । यहाबाट सेती नदी किनारमा १२० देखि १३० मिटर जम्प गराउने योजना छ । जम्प गरेर तल पुगेपछि माथि आउन हिड्नु पर्दैन । विन्स मेसिनबाट माथि ल्यान्इछ ।

बन्जीजम्प परिसरमा क्याफे र कार्यालय रहने छन् । अगाडि पार्किङ स्थल छ । हाम फाल्नु अगाडि व्यक्तिको हेल्थ चेकअपमात्र गरिने छैन, बन्जीजम्पबारे छोटो ब्रिफिङ पनि गरिनेछ । प्राथमिक उपचार र रेस्क्यु टिम जम्प चल्ने अवधिभर सधै तयार राखिनेछ । क्षयरोग, उच्च रक्तचाप, गर्भवती र स्किन एजर्ली भएकालाई भने जम्प गराइदैन ।

पोखरा १७ रातोपहिरामा बन्दै गरेको बन्जीजम्प । तस्बिर : सुदर्शन रञ्जित

अपांगलाई पनि उचित व्यवस्था मिलाएर जम्प गराउन मिल्छ । फरक खालको अनुभवका लागि रनिङ जम्प, साइकल जम्प, टेन्डम जम्प पनि यहाँ गराइनेछ । १ सय २५ केजीसम्मले सिंगल जम्प गर्न सक्छन् । डबल जम्प गर्ने व्यवस्था पनि छ । तर, दुवैको तौल कुल १ सय १० केजीभन्दा बढी हुुनु हुँदैन ।

बन्जी जम्पका लागि पहिलो चासो सुरक्षा र दोस्रोमा बल्ल आम्दानी भएको भट्टराई बताउँछन् । उनले भने, ‘बन्जी जापानबाट आएका विज्ञहरुले सेटअप गर्छन् । हाम्रो चासो पहिला सुरक्षा, त्यसपछि बल्ल मुनाफा हो ।’ यो बन्जी जापानको फ्रेन्चाइज हो । कम शुल्कमा बढीलाई सेवा दिएर नाफा कमाउने उनी सुनाउँछन् ।

रनिङ जम्प, साइकल जम्प, टेन्डम जम्प पनि गराउने कम्पनीको योजना छ ।

अहिलेलाई पोखरा एअरपोर्ट र भविष्यमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पिकअपको व्यवस्था मिलाइनेछ । अनलाइन पेमेन्टको समेत व्यवस्थ गरेको कम्पनीले जनरल म्यानेजर नियुक्त गरी सकेको छ । समीक्षा घिमिरे कम्पनी म्यानेजर हुन् ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी र पोखरा १७ का आध्यक्ष तीर्थराज अधिकारीले परियोजना निर्माणका लागि हौसला दिएको उनले सुनाए । भट्टराई भन्छन्, ‘सुन्दर सहर पोखरामा अर्काे आकर्षण थप्न लागेका छौं, सबैको साथ पाउने अपेक्षा छ ।’

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।