बागलुङमा सुरु भयो महोत्सव

- उद्योगबाटै देशको समृद्धि : तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्योगको विकासकाले मात्रै देश विकास सम्भव भएको बताएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको छैठौं बागलुङ महोत्सव २०७६ शुक्रबार उद्घाटन गर्दै उनले देशलाई अगाडि बढाउनका लागि वाणिज्यभन्दा पनि उद्योगको विकासमा लाग्न उनले आग्रह गरे । ‘तपाईहरुको उद्योग वाणिज्य संघ छ, त्यसमा उद्योगतर्फ कति सदस्य छन् र वाणिज्य तर्फक कति सदस्य छन् भन्ने कुराले देशको विकास कता जाँदैछ भन्ने कुरालाई स्पष्ट गर्छ,’ उनले भने, ‘तपाईहरुले आफ्नो सदस्यलाई वाणिज्य क्षेत्रबाट भन्दा उद्योग क्षेत्रबाट अगाडि बढाउनुस् ।’

देशभित्रै उद्योग स्थापना भएर वस्तु निर्यात गर्न सकेमात्रै नेपाल आत्मनिर्भर बन्ने उनको भनाइ छ । ‘देश आत्मनिर्भर बन्नका लागि वस्तु आयात होइन, निर्यात गर्ने हुनुपर्छ,’ उनले भने । नयाँ संविधान जारी भए पनि सोच र संस्कार पुरानै भएका कारण विकासले गति लिन नसकेको उनको दाबी छ ।
साविकको धौलागिरि क्षेत्रको विकासका लागि फरक ढंगले सोच्नुपर्ने उनले तर्क गरे ।

‘हामी पर्यटनका विकास गर्नुपर्छ भनेर भन्छौं तर त्यसका लागि आधारभूत कुरामा लगानी गर्दैनौं,’ उनले भने, ‘साविकको धौलागिरिमा अहिले पनि राम्रा खालका पर्यटक आए यहाँ राख्ने गतिलो होटेल छैनन् । यो कुरामा हामीले ध्यान दिनु जरुरी छ ।’ कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले यहाँको विकासका लागि महत्वपूर्ण योगदान गर्ने उनले उल्लेख गरे ।

लोकमार्गको बागलुङ घोडाबाँधे खण्डको काम असार मसान्तसम्म सक्ने गरी भइरहेको छ । करिडोरको ट्रयाक खुलेकाले यसले बागलुङको समृद्धिको यात्रा सहज हुने उनले बताए । कालिगण्डकी करिडोर म्याग्दी सम्मको क्षेत्र बागलुङबाटै जोडिनुपर्ने भन्नेतर्फ संकेत गर्दै उनले सडक दुबैतर्फ आवश्यक रहेको टिप्पणी गरे । ‘सडक बागलुङतर्फ र पर्वततर्फ दुबैतिर आवश्यक छ, नाम जेसुकै राखौं, सडक दुवैतर्फ आवश्यक छ,’ उनले भने, ‘म यताको विकास उता लाने गर्दिन । दुईटै क्षेत्रको विकासका लागि म सक्रिय छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लगानी मैत्री वातावरणका लागि कतिपय ऐन कानुनसँगै व्यवहार सुधार्नु जरुरी रहेको बताए । ‘लगानी गरी व्यवसाय गर्नका लागि हाम्रा कतिपय ऐनकानुन बाधक छन्, त्यसलाई बदल्नुपर्छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रै व्यवहारका कारण पनि लगानीकर्ता आकर्षित हुन नसकेको अवस्था छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्र थापा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, बागलुङ नगर प्रमुख जनकराज पौडेल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, निवर्तमान अध्यक्ष जयराम भारी, पूर्व अध्यक्ष वसन्तकुमार श्रेष्ठ, बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले बागलुङमा पर्यटन विकासबारे विचार राखे ।

महोत्सव पुस २० सम्म चल्नेछ । महोत्सवमा प्याराग्लाइडिङ, ताराखेल ९आर्चरी०, पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, भजन प्रतियोगिता, खुला लोकनृत्य लगायतका प्रतियोगिता हुने छन् । महोत्सवबाट हुने आम्दानीले धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा छात्रवृत्ति कोष स्थापना, शैक्षिक सामग्री प्रदान र बागलुङ बजारको सिसी क्यामेरा मर्मत तथा जडानको लक्ष्य राखिएको छ ।

२ सयभन्दा बढी स्टल राखिएको महोत्सवमा २० स्टलमा बागलुङका स्थानीय उत्पादन विक्री र प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारको प्रस्तुती रहनेछ ।