देशमा विकासको गति अगाडि बढिरहदा पनि नेपालमा मानिसको सोचमा विकास हुन भने थोरै समय लागेको हो कि जस्तो देखिएको छ। अहिले देशमा विकासको गति तीव्र छ। तर देश विकास भएको भन्दा पनि मानिसको ध्यान भने के बिग्रियो, केमा चुक्यो भन्ने कुरामा बढी केन्द्रित छ।
हो, देश विकासका निम्ति एउटा सजग नागरिकले देशका कुनै नराम्रा काममा औंला ठड्याउन जरुरी छ । यदि नागरिकले देशको वर्तमान र भविष्यको अवस्थालाई नियालें भने नागरिकको भूमिका अझै अधुरो नै देखिन्छ । यी सबै कुरामा एउटा नागरिकले भूमिका देखाउनका निम्ति देशमा हुने हरेक घटना क्रमको अध्ययन गर्न जरुरी हुन्छ। अहिलेको अवस्थामा हामीलाई कसैले कागले कान लग्यो भन्यो भने पनि हामी कान छाम्ने होइन कि कागको पछि लाग्छौं ।
अहिले देशमा स्थायी सरकार छ। सरकारले जनताका हितमा धेरै काम गरेको छ । कति काम जनताले सोचेको जस्तो छिटो हुन सकेका छैनन् होला । लोकतन्त्रमा जनताले खबरदारी गर्नु आवश्यक हुन्छ तर विरोधका लागि मात्र विरोध हैन, तर्कयुक्त विरोध गर्न सके त्यो देश र जनताको हितमा नै हुनेछ । उदाहरणका लागि हामी पानी पिउँछौ, पानी पिई सकेपछि त्यो बोत्तल बाटोमा फ्याक्छौं। अनि भोलि त्यै बाटो हिड्दा त्यै बोटलमा चिप्लिन्छौं अनि यो सरकार एउटा बोत्तल पनि सफा गराउन सक्दैन भन्छौ।
लोकतन्त्रमा जनताले खबरदारी गर्नु आवश्यक हुन्छ तर विरोधका लागि मात्र विरोध हैन, तर्कयुक्त विरोध गर्न सके त्यो देश र जनताको हितमा नै हुनेछ ।
जबसम्म हामी चकलेट खाएको खोल डस्बिन नदेख्दा पनि खल्तीमा हाल्न सिक्दैनौं तबसम्म देश विकाशमा सहयोग पुर्याउन सक्दैनौ। सधैं हिंडीरहने बाटोमा एउटा सानो खाल्डो परेको हुन्छ तर त्यो खाल्डोमा थोरै माटो हाल्न हामी पछि पर्छौ । यी त साना उदाहरणमात्र हुन्। यस्ता धेरै कुरा छन्, जो हामीलाई यो लेख पढिसकेपछि याद आएको हुन सक्छ ।
कुनै बेला सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाऊ भन्ने नारा एउटा विकास प्रेमी नागरिकले बिर्सिएको हो कि जस्तो लागेर कलम मार्फत सानो प्रयास गरेको छु। देश विकास हुन सरकारको साथ साथै नागरिकको पनि ठूलो भूमिका हुन्छ । तसर्थ हरेक तहका सरकारका राम्रा काममा साथ दिऔ, अझ राम्रो गर्न हौसला र उत्साह थपौं । कमजोरी छन् भने खबरदारी गर्न नभुलौं, तबमात्र हामीले चाहेको जस्तो विकासमा मुलुक जान सक्छ । सुखी नेपाली सम्वृद्ध नेपाल बन्न सक्छ ।





