२ वर्षभित्रै सबै गाउँबस्तीमा विकासका पूर्वाधार : अर्थमन्त्री

- रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट ११ को हिरक महोत्सव उद्घाटन

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अबको २ वर्षमा सबै तहका गाउँवस्तीसम्म विकासका पूर्वाधार बनिसक्ने बताएका छन् ।

रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट ११ को हिरक महोत्सव उद्घाटन गर्दै उनले सबै तहका सरकार शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि प्रतिवद्ध रहेको जनाए । उनले रत्नलक्ष्मीका लागि आवश्यक ८ कोठे भवनसहित आवश्यक सबै सहयोग गर्न गण्डकी सरकार तयार रहेको बताए ।

शिक्षामा राजनीति हुन नहुने उल्लेख गर्दै उनले यो क्षेत्रलाई गर्नु गलत साझा रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । गलकोटको समृद्धिका लागी सडक, बिद्युत, खानेपानि लगायतका पूर्वाधार योजनावद्ध रुपमा बनाइने उनले प्रतिवद्धता गरे । उनले कृषिमा आधुनिकीकरण, अनुदान र उद्यमशिलताका कार्यक्रमलाई प्राथमिकता दिइएको सुनाए ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढामगर सागरले रत्नलक्ष्मीलाई सबै हिसाबले नमुना बिद्यालय बनाउनुपर्ने बताए । उनले रिघाको बिकास र समृद्धिको लागी प्रदेश सरकारले धेरै योजना अघि सारेको जानकारी दिए ।

समारोहमा गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाही, प्रदेश नम्बर ५ की सांसद कमला बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला ईन्चार्ज बलावति शर्मा, नेपाली कांग्रेस बागलुङका सभापती दीपेन्द्रबहादुर थापा, शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङ प्रमुख कुष्मराज उपाध्याय, गलकोट नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डम्मर श्रीस, गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत पदमराज आचार्य, गलकोट माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्रबहादुर खत्री लगायतले बोलेका थिए ।

विद्यालयको भौतिक संरचना बनाउन माग गर्दै सरोकारवालाले मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । हिरक महोत्सबको उदघाटन समारोहमा विद्यार्थीले सोरठी नृत्य, पिटि र सौस्कृतिक प्रस्तुति राखेका थिए । महोत्सव २९ गतेसम्म चल्नेछ ।

हिरक महोत्सव मुल समारोह समिति संयोजक तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष ताराबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी मीमा काउचा र शिक्षक नारायणप्रसाद पौडेलले पनि बोलेका थिए ।