सान्ना मरिन संसारकै कान्छी प्रधानमन्त्री हुन् ?

नेपाली मिडियामा निकै चर्चाको विषयवस्तु बनेको फिनल्याण्डको प्रधानमन्त्रीको निर्वाचनको बारेमा एउटा भ्रम रहेको पाइयो । सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको समाचारले नेपाली मिडिया राम्रैसँग रंगियो । तर तथ्यहरुले के भन्छ त ? हेरौं केही तथ्य :

१) नेपाली मिडियामा मरिन विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिए पनि वास्तवमा विश्वका धेरै जसो मिडियाले भने उनलाई त्यस रुपमा प्रस्तुत गरेका छैनन् । बिबिसी, सिएनएन, द न्युयोर्क टाइम्स जस्ता विश्वचर्चित मिडियाले आफ्नो रिपोर्टमा उनलाई द योङगेस्ट सिटिङ प्राइमिनिस्टर भनेर लेखेका छन् ।

उता द गार्जियन, डेलिमेल जस्ता मिडियाहरुले भने उनलाई वल्डस योङगेस्ट सभिङ प्राइमिनिस्टर भनी उल्लेख गरेकाा छन् । अर्थात उनी विश्व इतिहासकै सबैभन्दा कान्छी प्रधानमन्त्री होइनन् कि विश्वको सबैभन्दा कान्छी बहालवाला प्रधानमन्त्री हुन् ।

२) यी समाचारमा उल्लेख भए अनुसार मरिन बरु फिनल्याण्डको इतिहासको भने सबैभन्दा युवा प्रधानमन्त्री जरुर हुन् । ३४ वर्षीया मरिनलाई हाल सत्तारुढ पाँच वटा पार्टी सम्मिलित संयुक्त वाम गठबन्धनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो । बहालवाला प्रधानमन्त्री अन्त्ती रिन्नेको राजीनामापछि उनले यो अवसर पाएकी हुन् ।

वर्तमान सरकारमा पनि उनी यातायात तथा सञ्चारमन्त्रीको रुपमा कार्यरत थिइन् । फिनल्याण्डकोइतिहासको कुरा गर्ने हो भने उनी देशको नेतृत्व गर्ने अहिलेसम्मकी तेस्रो महिला नेतृसमेत हुन् ।

३) उनीभन्दा कम उमेरमा समेत प्रधानमन्त्रीका रुपमा जिम्मेवारी पाउने विश्वमा अरु पनि थुप्रै नेता छन् । नेपालकै कुरा गर्ने हो भने पनि इतिहासमा ३४ वर्ष भन्दा कम उमेरमै ३ जना प्रधानमन्त्री पदमा आसिन भएका थिए ।

नेपालमा प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्म वि. सं. १८३२ श्रावण ९ गते शुक्रबार भएको थियो । वि. सं. १८६३ मा तत्कालिन राजा रणबहादुर शाहको हत्या उनका शौतेनी भाइ शेरबहादुर शाहले गरेपछि थापाले उनीसहित ९२ जनाको हत्या गराई नेपालको प्रधानमन्त्रीका रुपमा ३१ वर्ष अनवरत शासन गरेका थिए । यसरी हिसाब गर्दा उनी प्रधानमन्त्री हुँदा जम्मा ३१ वर्षका थिए ।

नेपाली इतिहासमा भीमसेन थापाको अन्त्य अत्यन्त दुःखद रुपमा भयो । यसपछि दरबारमा थापा गुटको प्रभाव शुन्य प्रायः भयो । पछि त्यसैको बदला भावबाट नेपालमा जंगबहादुर राणाको उदय भयो । नाताले राणाको आमातर्फको हजुरबुबा भीमसेन थापाको शासनकालको शानशौकत र उनको पतन पछिको दयानीय अवस्था दुवैबाट जंगबहादुर परिचित थिए ।

त्यसैको बदला लिएर शासन सत्ता आफ्नो हातमा लिनका लागि तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह लगायत दर्जनौंको हत्या गरी कोतपर्वमार्फत वि. सं. १९०३ मा राणा नेपालको प्रधानमन्त्री भए । वि. सं. १८७४ मा जन्मेका उनी नेपालको प्रधानमन्त्री हुँदा मात्र २९ वर्षका थिए ।

उनी विश्व इतिहासकै सबैभन्दा कान्छी प्रधानमन्त्री होइनन्, विश्वको सबैभन्दा कान्छी बहालवाला प्रधानमन्त्री हुन् ।

त्यसपछि नेपालमा राणा खलकको १०४ वर्ष जहाँनिया शासन चल्यो । यस कालमा राजा नाम मात्रका भए भने देश सबै प्रधानमन्त्रीको कार्यकारी अधिकारबाट सञ्चालित हुन्थ्यो । राणा प्रधानमन्त्रीहरुको रोलक्रमसमेत जंगबहादुर राणाले बनाएका थिए । तर यसबाट खलकभित्रै असन्तुष्टिसमेत पैदा भयो । जंगबहादुरपछि प्रधानमन्त्री भएका उनका भाइ रणोद्दीप सिंहलाई उनकै भतिज वीरशमशेरले हत्या गरी वि. सं. १८४२ मंसिर ८ मा आफू प्रधानमन्त्री बने ।

यसका लागि वीर शमशेरले आफूभन्दा अगाडि रोलक्रममा आउने जंगबहादुरका भाइ, छोरा र नातिसम्म सबैलाई काटेर यो कुर्सी नै त्यो खलकबाट शमशेर खलकमा ल्याए । वि. सं. १९०९ मंसिर २६ मा जन्मेका उनी प्रधानमन्त्री हुँदा जम्मा ३२ वर्षका थिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।