लाहुरेको पैसाले चुनाव जित्ने, गोर्खा भर्तीको विरोध गर्ने ?

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिस्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको बताएका छन । गोर्खा भर्तीबाट अवकाश प्राप्त गरेका लाहुरेबाट पैसा र चन्दा लिएर चुनाव जित्नेले चुनाव जितेपछि यसको विरोध गर्नु लज्जास्पद भएको उनको टिप्पणी छ ।

बुधबार धरानको भेडेटारमा नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनको आठौ वार्षिक साधारण सभामा मेयर राइले विभिन्न कालखण्डमा परिस्थिति र बाध्यताका कारण हाम्रा पुर्खा गोर्खामा भर्ना हुनुपरेको उल्लेख गरे । त्यस वेलाका सन्धि, सम्झौतालाई खोजेर नियम संगत तरिकाले गोर्खा भर्तीको बारेमा चासो लिन उनले कम्युनिस्ट नेतृत्वको सरकारलाई आग्रह गरे ।

गोर्खा भर्तीकै कारण धरान र पोखरा सहर विकसित सहर बनेको उनको जिकिर छ । गोर्खा भर्तीभन्दा पनि ५० डिग्रीको घाममा काम गर्ने युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । ‘गोर्खा भर्ती सुरक्षित जीवन आधार तय गर्ने माध्यम बनिरहेको छ,’ मेयर राइले भने, ‘अन्य खाडी मुलुकमा जानेको जीवन सुरक्षित छैन । त्यसैले गोर्खा भर्तीलाई भन्दा पनि खाडीमा जाने युवालाई रोक्न सरकारले विशेष ध्यान जरुरी देखिन्छ ।’ मेयर राइले नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन व्यवसायिक तालिम केन्द्र भए पनि यसले युवालाई अनुशासित ढंगले अगाडि बढ्न समेत प्रेरित गरेको उल्लेख गरे ।

नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका प्रमुख संरक्षक क्याप्टेन रामप्रसाद गुरुङले ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएपछि भर्ती हुनेले जीवन सुरक्षित बनाउने र भर्ती नहुनेले पनि अनुशासन र मर्यादा सिक्ने जनाए । एसोसियसनका केन्द्रीय अध्यक्ष मीनराज गुरुङले संस्थालाई बन्द गर्न आग्रह गर्नुभन्दा पनि नेपाल सरकारमार्फत इस्ट इन्डिया कम्पनीसँग भएका सम्झौताको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिए । यो सम्झौताका बारेमा नेपाल सरकारले आवाज नउठाउँदासम्म नेपाली युवा गोर्खा भर्तीमा गइरहने उनले जनाए ।

कार्यक्रममा संस्थाका महासचिव राजेश पाख्रिन, वरिष्ठ उपाध्यक्ष गोपाल राई, नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यसमिति सल्लाहकार सुजेन्द्र गोले, नेपाली हङकङ महासंघका अध्यक्ष टंक राना लगायतले बोलेका थिए ।

कार्यक्रममा नवनिर्वाचित मेयर राइलाई संस्थाको तर्फबाट बधाईसहित अभिनन्दनसमेत गरिएको थियो । कार्यक्रममा धरान क्षेत्रका सचिव विमानसिंह तामाङ, पोखरा क्षेत्रका सचिव सुवेदार जीतबहादुर गुरुङ र काठमाण्डौ क्षेत्रका सदस्य नवीन गुरुङले प्रगति प्रतिवेदन, केन्द्रीय कोषाध्यक्ष सुवेदार केहरसिंह गुरुङले आर्थिक प्रतिवेदन, केन्द्रीय महासचिव राजेश पाख्रिनले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।