ताजा समाचार

मंसिर १४ गते २०७६

अमेरिकी आकाश नेपाली मनमाथि एक नजर

नेपाली गुँडबाट उडेर अमेरिकी जमिनमा चारो टिप्न आइपुगेका चराहरुको चिर्बिर नै यो पुस्तकको आवाज हो । केही नेपाली भाषी भुटानी श्रष्टा पनि यसमा नसमेटिएका होईनन । यहाँ स्थापित गीतकार ज्ञानेन्द्र गदालदेखि हामी सिकारुसम्म एकसाथ अटाएका छौं । साहित्यको लोकप्रिय बिधा गीत सहजै जनसाधारणमा पुग्ने र कालान्तर सम्म मुखमा झुण्डिने ल्याकत राख्छ ।

त्यही आकर्षणले शायद सडकदेखि दरबारसम्मका धेरैले गीतमा कलम चलाए ।गीतको गन्तव्य गायन हो । नगाइएका बखत कविता हो पनि भनिन्छ । गीत परिभाषित गर्न सजिलो छैन । गजल, हाइकु , रुवाइ जस्तो गरि गीतलाइ संरचनाले बाँध्न पनि सकिँदैन । देबकोटाको यात्री , सिद्दिचरणको ओखलढुंगा , हरिभक्त कटुवालको मलाई नसोध कहाँ दुख्छ घाउ कविता हुन् । पछी गीत पनि बनाइए । लोकप्रिय बने । तर जे जसरी लेख्दा पनि गीत भैहाल्दो रैछ भन्ने भ्रमजाल बाट भने मुक्त हुन जरुरी हुन्छ । एउटा सुन्दर गीत रचना गर्न बिषय उठानदेखि , भाव , स्वरुप , शैली , उचित प्रतीकको प्रयोग , मात्रा र लयको चेत साथसाथै गुदि सहितको सरलता आवस्यक तत्व हुन् ।

चल्तिको बात गर्दा एउटा गीत तीन देखि सात मिनेटमा गाउन मिल्ने बनाइन्छ । दुइ पङ्तिको स्थायी र चार , चार पङ्ंतिका दुई अन्तरा । तथापि रमेश धितालले चौतारीमा बतास चल्यो तीन शब्दको एक हरफलाइ स्थायी बनाइदिए । शिब अधिकारीले सपना भुलाइ सारामा दुइ हरफको स्थायी र दुइ, दुइ हरफकै दुइ अन्तरामा बेजोड गीत लेखे । कृष्णहरी बरालले जुनको ज्योति गीतमा स्थायी नै आठ हरफको बनाईदिए । सबै गीत चर्चित बने । रुप पक्ष जे जस्तो भएपनि यि सबै गीतमा गीतितत्व गज्जब छ । स्वस्फुर्त आएको गीत झरनाको पानीजस्तो स्वादिलो र संगीतमय हुन्छ भन्ने उदाहरण यि गीतमा पाइन्छ । जबर्जस्ति लेखिएको गीत इनारको पानीजस्तो हो ।

अमेरिकी आकाश नेपाली मनमाथि एकसरो नजर लगाउदा यसमा प्रणयप्रेम , देशप्रेम , भेषप्रेम , प्रवास पीडा लगाएत जिवनका अनेक उज्याला , अध्याँरा पक्ष समेटिएका छन् । ज्ञानेन्द्र गदाल , लिलु गुरुङ , राधा काफ्ले, मणि बस्नेत, कृशु क्षेत्री, कृष्ण कुसुम आदीका प्रेमिल गीतहरुमा यत्तिकै संगीत छ । सुदीप खनाल , शिखर दुलाल, कुमार शिवाकोटी, ङिमा पाखृन , प्रेमराजा महतका गीतमा माटोप्रेमको सुगन्ध आउछ ।लालगोपाल सुबेदी , डा . ऋषी बस्ताकोटी, गोबर्धन पूजा, पिपलमणी आचार्यका गीत आम रुपमा उठाइने बिषयभन्दा बेग्लै रंगका छन् ।

अमेरिकी आकाश नेपाली मनमाथि एकसरो नजर लगाउदा यसमा प्रणयप्रेम , देशप्रेम , भेषप्रेम , प्रवास पीडा लगाएत जिवनका अनेक उज्याला , अध्याँरा पक्ष समेटिएका छन् ।

अर्को कोणबाट हेर्दा कतिपय गीतमा गेयात्मकता छैन । करबलले अनुप्रास मिलाइएको छ । मात्रामा बिचलन पाइन्छ । नयाँ बिम्ब , प्रतीकको प्रयोग पाइदैन । सम्पादकहरुको जम्बो टोलीले कैची लगाउनुपर्ने कतिपय गीतमा समेत आँखा चिम्लेको जस्तो लाग्छ ।

गीत नै नलेख्नेहरुलाइ पनि गीतकार बनाउने जमर्को गरेको , सामान्य सम्पादनमा समेत ध्यान पुर्याउन नसकेको तथा किताबको गुणभन्दा आकार राम्रो बनाउन केन्दृत भएको प्रतित हुन्छ । यसका बाबजुद पनि प्रवासमा रहेका यतिका नेपालीभाषी सर्जकलाई एउटै गीति संग्रहमा उनेर माला बनाउने प्रयासलाइ भने आत्मसात् गर्नुपर्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।