ताजा समाचार

भाद्र २६ गते २०७६

भातृसंगठन र लोकप्रिय एजेन्डा विहीन जागरण अभियान कस्तो होला ?

नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान (भदौ २४-असोज ७) शुरुवात हुँदै गर्दा आज काङ्ग्रेस आम कार्यकर्ता माझ अपांग र अशक्तको रुपमा महशुस भएको छ,नेपाली काङ्ग्रेसका सभापति आदरणीय शेर बहादुर देउवा असक्षम भन्न खोजेको हुँदै होइन, हिजो जनताको अधिकार र न्यायको लडाइँ लड्दै गर्दा त्यो नबुझिने भएको बोली आजसम्म पनि बुझिदैन । तपाइका त्यस्तै किसिमका धेरै कर्महरुका कारणले गर्दा पार्टी गतिशील होला र बिधिवत ढंगले संचालन होला भन्ने पुर्ण विश्वासका साथ जिताएका हुन काङ्ग्रेस कार्यकर्ताहरुले पार्टीको सभापति ।

तपाइकै प्रधानमन्त्रीत्वमा सम्पन्न भएको चुनावमा व्यवस्थालाई जोगाउदा पार्टीले पराजय भोग्नुपर्यो,आगो बलेको मधेसमा पानी हाल्न जादा पार्टी जलेर आकार घट्यो । “देश रहे काङ्ग्रेस पनि रहन्छ अनि अन्य दल पनि,देशै नरहे पार्टीको त कुरै छोडौ न नेपाल न नेपाली” भन्ने आत्मविश्वासका साथ फलामको चिउराको रुपमा रहेको व्यवस्था सङ्ग नै जोडिएको चुनाव सम्पन्न गर्नु भयो यसमा हामिलाइ पनि गौरव छ । व्यवस्था जोगाउने कुरामा बिजय तर पार्टी जोगाउने कुरामा पराजय भोगेर आज नेपाली काङ्ग्रेस पार्टी नै प्रतिपक्षी दलको रुपमा रहनुपर्यो ।

प्रतिपक्षी दलको रुपमा रहेर पनि देश र जनतासङ्ग जोडिएका बिसयमा आफुलाइ सत्तापक्ष भन्दा जिम्मेवार ढंगले प्रस्तुत हुने पार्टी हो नेपाली काङ्ग्रेस यसमा हामिलाइ कत्तिपनी दु:ख छैन,छाती कत्तिपनी खुम्चिएको छैन अनि शिर कत्तिपनी झुकेको छैन । राणा,पचायत अनि राजा सङ्गको लडाइँमा आफुलाइ अब्बल दर्जामा उभ्याउदै लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनलाई सफल दिशामा डोर्याएर “नेपालको संविधान-२०७२”निर्माण गर्ने पार्टी हो नेपाली काङ्ग्रेस,यस मानेमा थप गौरव छ काङ्ग्रेसको कार्यकर्ता हुनुमा । इतिहासमा कर्म गर्दा कहिकतै चुकेको भएपो शिर झुक्थ्यो,जबजब देश सङ्कटको घडीमा प्रारम्भ गर्छ अनि जोगाउन काङ्ग्रेस चाहिन्छ र आफ्नो भुमिकाले देशलाइ जोगाएको पनि छ ।

नेपाली काङ्ग्रेसका २००७ सालदेखिका सबै संघर्ष र उपलब्धिहरुलाई उल्लेख गर्ने हो भने कतिवटा किताबका ठेली बन्लान त्यो त म जान्दिन तर हरेक व्यवस्था परिवर्तनमा संघर्षको मैदानमा उभिन सक्ने काङ्ग्रेस आज दुइतिहाइको दम्भ बोकेर अधिनायकवादी शैलीमा सरकार संचालन गरिरहेको कम्युनिस्ट सरकारको प्रतिपक्षी दलको रुपमा छ तर किन मौन देखिन्छ भन्ने गुनासो र चासो काङ्ग्रेस कार्यकर्ता सहित आम जनताको पनि हो । व्यक्तिगत रुपमा पार्टी सभापतिले मुलुकका निम्ति कुनै छलकपट गनुभएको छैन होला तर आज मुलुकको दोस्रो ठूलो अनि प्रतिपक्षी दलको नेतृत्व गरिरहनुभएको छ । वाइडबडी लगायतका अरबौ खरबौका भ्रष्टाचार,निर्मला पन्तको बलत्कार पछीको हत्या काण्डको हत्यारा संरक्षण,३३ किलो सुनको संरक्षण,एनसेल कर प्रकरण,पोखरा एयरपोर्टको अपारदर्शीता जस्ता मुख्य घटनाहरु सहित महङ्गी र मुल्यवृद्दी,पत्रकारहरु माथिको दमन लगायतका थुप्रै अन्याय र अत्याचारका विषयहरुमा जनताको साथमा किन सडक आन्दोलनमा जान चाहादैन काङ्ग्रेस ?

यी बिसयहरुका सन्दर्भमा हाम्रो पनि गुनासो छ पार्टी नेतृत्व प्रती किनकी प्रतिपक्षी दलको रुपमा रहदा जनताको मन जित्ने गरि गरेका आफ्ना कर्महरुको आधारमा आगामि चुनावी मैदानबाट कम्युनिस्टको बलियो विकल्प र नेपाली जनताको आशा र भारोसाको केन्द्र बन्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो । पहिलो चरणको जागरण अभियानको सम्पन्नता पश्चात् आज दोस्रो चरणको जागरण अभियान चल्दै छ तर चल्दै गर्दा त्यसको प्रभावकारीता कति छ र जनतामाझ लोकप्रिय एजेन्डा केके लिएर आयो काङ्ग्रेसले ? विशेषगरि युवा पुस्तालाई केन्द्रित गरेर कुनकुन कार्यक्रमका प्रस्ताव लिएर आयो काङ्ग्रेसले ? आज जनताले यी कुराहरु खोजिरहेका छन ।

जागरण अभियानका सन्दर्भमा प्रतिपक्षी दलको रुपमा रहेको काङ्ग्रेसले संगठन निर्माण गर्नका निम्ति किन र कहाँनेर चुक्यो भन्ने आम कार्यकर्ताको प्रश्न छ । पार्टी सभापति शेर बहादुर देउवा आफै पनि पुर्व सभापति रहनुभएको,मुलुक परिवर्तनका प्रत्येक आन्दोलन र रचनात्मक कर्महरुमार्फत आफुलाइ बलियो संगठनका रुपमा साबित गरेको नेपाल विद्यार्थी संघ आज नेतृत्वबिहिन अवस्थामा छ, तरुण दलको केन्द्रिय कार्यसमिति पूरा छैन,महिला संघ सुस्ताएको छ,यस्तै गरि अन्य भात्री संगठनहरु पनि निस्कृय छन ।

पराजय भोगेर प्रतिपक्षी दलको रुपमा रहेको पनि साढे २ बर्ष भइसक्यो,अबको २ बर्षमा चुनावी प्रक्रियामा प्रवेश गर्नुपर्ने हुन्छ । तर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने बेलामा,कार्यकर्तामा उत्साह भर्नुपर्ने बेलामा बिना संगठन अनि बिना एजेन्डा जागरण मात्रै भनेर निष्क्रियताको बाटोतर्फ यात्रा तय गर्दा के अबको चुनावसम्ममा काङ्ग्रेस जनताको प्रिय भएर जुरुक्क उठ्न सक्ला त ? आम कार्यकर्ता र जनताको गुनासो,चासो र प्रश्न छ मुलुकको पुरानो र अप्ठ्यारा परिस्थितिमा अभिभावकिय जिम्मेवारी पूरा गरेको दल नेपाली काङ्ग्रेस सङ्ग ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...