ताजा समाचार

भाद्र १९ गते २०७६

कथा : मानवअधिकारवादी

गायत्री मन्त्र, राष्ट्रगान, एफएम रेडियो र टेलिभिजनका लामा स्टेशन आइडी टोनले शहरलाई ब्युझाउने क्रम शुरू भएको थियो । पूर्वमा स्पष्ट हुँदै थियो माघको दिन प्रारम्भ हुने संकेत। बाक्लो तुवालोले पुरै बस्ती ढाकेको थियो । डाँडातिर हिउँ परेकोले चिसो निकै बढेको अनुभव हुँदै थियो पोखरामा । अरू बेलाताँती देखिने मोर्निङ वाक जानेहरू फाट्टफुट थिए सडकमा । यस्तो लाग्थ्यो चिसोले चाडै नै आफ्नै साम्राज्य सुम्पिदै छ मान्छेलाई ।

सुनगाभा एफएमले धार्मिक कार्यक्रमलाई बिचमै रोकेर बे्रकिड न्यूज भन्यो–‘भर्खरै मानवअधिकारवादी नेता सागर शर्माको गोली प्रहार गरी हत्या भएको छ । थप विवरण आउन सकेको छैन ।’ ब्युझिन नपाउँदै चिसो शहर एकाएक तात्यो । केही बेरमा अरू एफएमहरूले पनि सोही समाचार दिन थाले । केहीले लाईभ प्रशारण पनि गरिरहेका थिए । घर–घरमा टेलिफोनको घण्टी बज्न थाले, मोवाईलको नेटवर्क व्यस्त भयो । सबैजसो मान्छे यही घटनाको विषयमा चर्चा गरिरहेका थिए ।

सागर शर्र्मा शनिवार विहानै निवासबाट मोर्निङ वाकको लागि निस्किएका थिए । उमेरले पैसठ्ठी लागे पनि उनमा युवा जोश कायम थियो । खासगरी दोस्रो जनआन्दोलनपछि उनको नाम मानवअधिकारवादी मात्र भएको थियो । सागर शर्मा वंशजबाट आएको नामको साहरा उनलाई लिनै परेन । बन्द, हडताल, तनावको स्थिति भएको अवस्थामा शहरमा आधा मान्छे मानवअधिकारवादी संस्थाहरूको परिचयपत्र भिरेर हिड्थे । तर मानवअधिकारवादी भन्न साथ उनको नाम सबैभन्दा अगाडि आई हाल्थ्यो ।अघिल्लो साता बन्दकर्ताले भनेका थिए–‘यो शहरका आधा मान्छे पत्रकार र मानवअधिकारवादी छन् जस्तो लाग्यो हामीलाई ।’

संविधानसभाको चुनावमा उनलाई दुई वाम पार्टीले सभासद् बन्न प्रस्ताव गरेका थिए । उनले मानेनन् ।

विद्यालयका वार्षिकोत्सवदेखि सभा, अन्र्तक्रिया, भेला, छलफल, भीडन्त, घेराउ, जक्काजाम, नेपालबन्द जे भए पनि देखिने एउटा अनुहार नदेखिने भयो अब । सुकम्वासी बस्तीको लागि पानी, विजुलीको सुविधादेखि सार्वजनिक जग्गा मिचिएको, सडकको मापदण्ड मिचिएका घटनामा पनि उनी अधिकारको लागि लड्थे । हरेक आर्थिक वर्ष फेरिने समय र चाडपर्वको वेलामा अकस्मात हुने मूल्यबृद्धिको अनुगमनमा पनि उनी नभई हुदैनथ्यो । कसैलाई ज्यादति भयो, मानवअधिकारको हनन भयो भने त उनी अगाडि हुने नै भए ।

दिन ढल्दै जाँदै हत्याको विस्तृत विवरण पनि आउन थाल्यो । उनको छाती र टाउकोमा गोली लागेको थियो । घटना हेर्दा उनको विषयमा राम्रो जानकारी भएकोले हत्या गरेको हुनुपर्ने प्रहरी र अरूले अनुमान गरे । घटनास्थलमा नै मारिएका शर्मालाई अञ्चल अस्पताल पु¥याइयो । आफै उपचार खोजिरहेको अञ्चल अस्पतालका डाक्टरले उपचार गर्नु निकै ढिला भईसकेको थियो । अस्पतालले घोषणा गरिदियो शर्माको मृत्युको ।

लोकतन्त्रको परिणाम देशमा एक दर्जन टेलिभिजन च्यानलहरू शुरू भईसकेका थिए । तीमध्ये आधा त समाचार च्यानलहरू नै थिए । मध्यान्हसम्म मानवअधिकारवादीको हत्यालाई नेपाली च्यानलहरूले पनि मुख्य समाचारको रूपमा प्रशारण र प्रत्याक्ष प्रशारण शुरू गरिसकेका थिए ।

तीनै च्यानलहरूले एक बजे सरकारका प्रबत्तालाई उद्धित गर्दै मन्त्री परिषद्को आकस्मिक बैठक शुरू भएको समाचार प्रशारण गरे । शहर अस्तव्यस्त थियो । जताततै प्रहरी परिचालन गरिएको थियो । मान्छेहरू रेडियो र टिभीमै ध्यान दिईरहेका थिए । अब के होला? सबैका आ आफ्नै अनुमान थिए । कसैले भन्थे–‘यी बुढा त प्रधानमन्त्रीका नजिकका साथी हुन रे । प्रधानमन्त्री निकै भावुक छन् आज ।’ अर्काेथरीले भन्थे मानवअधिकारवादी कुनै पार्टीमा छैनन् ।कसले गर्ला उनको हत्याको खोजी ? यस्ता धेरै प्रश्नहरू थिए, जसको उत्तर भट्टिईरहेको थिएन । शर्मालाई यसअघि यसरी हत्या वा आक्रमणको प्रयास भएको थिएन । कसले ग¥यो होला हत्या अनुमान गर्न सहज थिएन ।

आकस्मिक रूपमा भएको जिल्लामा क्रियाशिल राजनीतिक दलहरूको बैठककले शर्माको हत्याको निन्दा गर्दै विज्ञप्ति निकाल्यो । कसको अध्यक्षयतामा बैठक बस्ने भन्ने विषयमा भएको विवादले एक घण्टा ढिलो शुरू भएको सो बैठकले घटनाको सत्य छानविन गरी हत्यारालाई कारवाही गर्न माग पनि ग¥यो ।

मध्यान्ह ढल्किदै जाँदा विभिन्न संस्थाहरूको विज्ञप्ति बर्षा शुरू भईसकेको थियो । रेडियोहरूले विज्ञप्तिका भाषा पढिरहेका थिए । टिभी च्यानलहरूको तल बे्रक्रिङ न्यूज देखियो । मन्त्री परिषद्को बैठकले शर्मालाई शहिद घोषणा गरेको रहेछ । सरकारका प्रवक्ताले भनेका थिए– सरकार हत्याको भत्सना गर्दछ र नागरिकको बाच्न पाउने अधिकारको प्रत्याभूति गर्न सधै कटिबद्ध छ र्। कटिबद्ध शब्द उच्चरण गर्दा अलिकति भक्भकाएका प्रवत्ताले थपेका थिएः ‘हत्यारा जो भए पनि चाडै कानुनी दायरामा आउनेछ ।’ सरकारले उनको हत्याको छानविन गर्न एक पूर्व न्यायधिशको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति पनि गठन गरेको थियो ।

अनौठो नेपाली जात्रा शुरू भईसकेको थियो । जीवन भर शर्मालाई सराप्नेहरू पनि रेडियोका अन्तर्वार्ता र टिभी टक शोमा आफूहरूको स्वर्गिय शर्मासँग विशेष सम्बन्ध रहेका ब्याख्या गर्न थालिसकेका थिए । बनावटी कुरा न हुन धेरैजसोका भाषण चिप्लिएपछि आ–आफ्ना थेगो चाइने, त्यसपछि, किनभने, हजुरको आदिले मिलाउँदै पनि थिए ।

साँझ पर्न लाग्दा शान्तिका लागि नागरिक समाजको सञ्जालको आह्वानमा सबैका सहभागितामा विरोध ¥याली निस्कियो । अरू मान्छेको बाच्ने अधिकारको माग गर्नेहरूले मानवअधिकार रक्षककै जीवनको सुरक्षाको माग गरे ।

शर्माको हत्याराको खोजी र कारवाही प्रक्रिया शसक्त हुनेमा मान्छेहरू पटक्कै आश्वास्त हुन सकिरहेका थिएनन् । धेरैको भनाई थियो–‘शर्माको कुनै पार्टी छैन, कुनै पार्टीमा नहुनेको कसले पक्ष लिन्छ र ? पूराना पत्रकार रविलाल शर्माले एउटा टेलिभिजनलाई प्रतिक्रिया दिदै भने–अरे यसपाली पनि सरकारले पूरानै चुटकिला दोहो¥यायो । हेर्नुहोला न यो आयोगले हत्यारा पत्ता लगाउँछ । न कसैलाई करवाही नै हुन्छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रीतको हत्या, राजा वीरेन्द्रको पुरै वंश सखाप पार्ने दरवार हत्या काण्ड, नमिता–सुनिताको हत्या, भैरवदल गणमा भएको ४९ जनाको सामूहिक हत्या जस्ता धेरै कलंकहरूको रहस्य यो देशको ईतिहासकै गर्भमा समिति भएपछि मान्छेलाई आयोग, छानविन समिति र सरकार आश्वासनमा विश्वास नहुनु स्वभाविकै पनि थियो ।

मर्नुभन्दा अगाडिसम्म पनि उनी आफु कुनै पार्टीमा नभए पनि साम्यवादी भएको बताउँदै थिए । तर यहाँका कम्युनिष्ट पार्टीहरूलाई साम्यवादी भएर पुग्दैन थियो । कुनैको झुण्डमा गएकै हुनु पर्ने ।

शर्मा बाल्यकालमा कांग्रेसका कार्यकर्ता थिए । नेपाली कांग्रेस उनको पारिवारिक आस्था थियो । २०१५ सालको चुनाव, २०१७ सालको कुसम्म आईपुग्दा शर्माको नेपाली कांग्रेससँग मोह भंग भईसकेको थियो । उनको निष्कर्ष थियो कांग्रेसले समाजवाद छाड्यो, अब यो पार्टी छोड्छु । त्यसपछिउनि कम्युनिष्ट भए । दश वर्ष त जेलमा नै विताए । भाषण गर्दा उनी पुष्पलालहरूसँगको संगत, मोहन विक्रमदेखि मोहन वैद्यसम्मका आफ्ना साथी र सहकर्मीहरूको कुरा गर्थे ।

पञ्चायत कालमा उनले धेरै हण्डर खाए, सर्वस्वहरण भयो । जेलको यातनाले उनी सजिलै हिड्न सक्दैनथे । जुन कुरामा उनका विपक्षीहरू उनको कुरा काट्थे ।धेरै कम्युनिष्ट पञ्चायती व्यवस्थामा पसे । बहुदल आएपछि शर्माको सपनामा नराम्रोसँग तुषारापात भो । तीनै पञ्चायतलाई समर्थन गर्नेहरू उनकै दलका ठूला नेता भए एकाएक । मर्नुभन्दा अगाडिसम्म पनि उनी आफु कुनै पार्टीमा नभए पनि साम्यवादी भएको बताउँदै थिए । तर यहाँका कम्युनिष्ट पार्टीहरूलाई साम्यवादी भएर पुग्दैन थियो । कुनैको झुण्डमा गएकै हुनु पर्ने ।

मानवअधिकारको क्षेत्रमा उनको रूचि पूरानै कुरा थियो । संसदीय राजनीतिको गाईजात्राबाट आजित भएर वि. स. २०५० सालमा एउटा सार्वजनिक कार्यक्रममा उने आफू कुनै पार्टीको सदस्य नरहने घोषणा गरेका थिए । माओवादी विद्रोहको क्रममा भएका सरकार विद्रोही भिडन्तहरूमा पनि उनले मानवअधिकार रक्षकको रूपमा भूमिका निर्वाह गरेका थिए । यति मात्र होईन माओवादीलाई वार्तामा ल्याउन उनको पनि भूमिका रहेको शहरमा चर्चा थियो । यो शहर हल्लै हल्लाको शहर हो । हल्ला त के पनि चल्यो भने शर्मा माओवादीमा प्रवेश गरे । केही समयपछि त्यो हल्ला मिथ्या सावित भयो । संविधानसभाको चुनावमा उनलाई दुई वाम पार्टीले सभासद् बन्न प्रस्ताव गरेका थिए । उनले मानेनन् । उनले भनेका थिएर्–मैले सक्रिय राजनीति छाडी सकें, सबै मान्छेको मान्छे भएर बाच्न पाउनअधिकार स्थापित होस् म यति चाहन्छु र्।

रामघाटमा शर्माको शव जल्दैै थियो । मलामीले बगर ढाकिएको थियो ।एउटा मलामी अरूभन्दा अलि पर गएर मोवाईल कुरा गरिरहेको थियो । उ भन्दै थियो–‘मैले मार्न खोजेको हुँदै होईन । के गरू टाउको मै लागेछ । जे भो सकियो, अब चिन्त गर्ने होइन, हाम्रो धन्दा, व्यवसाय र राजनीतिको एउटा काँडो फ्याकिएको छ ।’ उसको फोन काटियो ।

अर्काे मलामीले मोवाईलमा रेडियो बजाईरहेको थियो । अघी मोवाईलमा कुरा गर्नेले थाहा पायो फोन काटिएको नेटवर्कको खरावीले होईन रहेछ । उसँग अघि मोवाईलमा बोल्ने मान्छे एफएममा बोलिरहेको थियो । मानवअधिकारवादीसँग आत्मिय सम्बन्ध रहेको पाँच मिनेट व्याख्या गरेपछि उसले भन्यो–‘शर्माको कायरतापूर्ण हत्याले हामीलाई मर्माहत बनाएको छ । हामी शर्माजीका हत्यारालाई कानुनको दायरामा जसरी पनि ल्याउछौ ।’ एमएफमा ती नेताको अन्तर्वार्ता सकिएपछि उसले फेरि मोवाईल डायल ग¥यो । मलामीको भीडबाट एकान्त तीर जाँदा उसले देख्यो शर्माको लास लगभग जलिसकेको छ । उ हल्का मुस्कुरायो । अरू मलामी फर्केर रामघाट शुन्य हुन लाग्दा पनि उनी मोवाईलमा कुरा गर्दै थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।