पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेंगु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ ।
अघिल्लो आवमा १ हजार ८ सय ३४ जनामा देखिएको सो रोगको संक्रमण चालू आवको १ महीना १२ दिनमा १ हजार ५ सय ३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग संक्रमण हुने गर्दछ ।
१० हजारमध्ये १हजारमा मात्र रोगको लक्षण देखापर्दछ । पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ ।
सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा महानगरपालिमा मात्र अहिलेसम्म ३ सय १५ जना संक्रमित बिरामी भेटिएका छन् ।
प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले भने, ‘मन्त्रालयको एकल प्रयासले मात्र डेंगु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकार निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेंगु संक्रमण झन् भयावह हुन सक्छ ।’
उनले ‘नयाँ भवन निर्माण कार्य तीव्र अवस्थामा रहेको छ, यो कार्य कसले रोक्छ ?’ भन्ने प्रश्न गर्दै निर्माण कार्यस्थलमा पानी जम्ने गरेका छ, पानी जमेको स्थानमा लामखुट्टेको लार्भा बसेको हुन्छ, भने ।

राज्यमन्त्री डा. यादवले तराईबाट पहाड र हिमाल उक्लिंदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत गरे ।
उनले भने, ‘छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?’
मन्त्रालयको हालै मात्र सचिव पदमा सरुवा भई गएका खगराज बरालले डेंगु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।
मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेंगुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानूनी संयन्त्र आवश्यक रहेकामा जोड दिए ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल र विज्ञ डा. घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेंगु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको बताए ।
महाशाखाका अनुसार सातै प्रदेशमा करीब रु ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ । विगत ३ वर्षमा डेंगु देखिएका स्थानका आधारमा महाशाखाले नयाँ सम्भावित स्थानमा रोग नियन्त्रणका कार्यक्रम बनाउँछ ।
महाशाखाले अनुमान लगाएभन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको महाशाखाले जनाएको छ । गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो । तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन ।
यसैबीच बैठकमा समितिका सदस्य मानबहादुर विश्वकर्माले डेंगु नियन्त्रण गर्न मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै नियन्त्रण गर्न पहिलो प्राथमिकता दिन सुझाव दिए ।
समिति सदस्य जीवनराम श्रेष्ठले डेंगुको संक्रमितलाई ‘स्क्रिनिङ’ गरी छुट्टै स्थानमा राख्न र बजेटको अभाव हुन दिन नहुने बताए ।
अर्का सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङले विद्यालयका पाठ्यक्रममा डेंगु रोग हुन नदिने उपायका बारेमा समावेश गर्न सुझाव दिए ।
समिति सदस्यद्वय चित्रलेखा यादव र अञ्जना विशंखेले डेंगु नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गनुपर्ने बताए ।
समितिका सदस्य गजेन्द्र महतले अविकसित स्थानमा डेंगुको लामखुट्टे हुँदैन भनेर कार्यक्रम नै नबनाउने प्रवृत्तिका कारण डेंगु फैलिएको बताए ।
समितिका सभापति जयपुरी घर्तीले डेंगु नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देश गरिन् ।




