ताजा समाचार

भाद्र २ गते २०७६

महिना दिन तीज मनाएर नारी उत्थान हुँदैन

हरितालिका तीजलाइ मनाउने क्रममा हालैका वर्षमा देखिएका विकृतिहलाइ न्यूनीकरण गर्दै यसलाइ हाम्रो धर्म, संस्कृति, मूल्य मान्यता बमोजिम मनायौं भन्ने सचेतनाका लागि नारी जागरण अभियान, पोखराले चालेका कदम तथा अनावश्यक तडकभडक कम गर्दै सामाजिक सद्भावका साथ चाडवाड मनाऔं भन्ने सम्न्धिबत सरकारी निकायका अपिलहरुप्रति सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा विभिन्न विचार आएको देखियो । यस अभियान प्रति अधिकांशरुपमा सकारात्मक सुझाव र शुभकामना प्राप्त भए भने केही नकारात्मक टिका टिप्पणीहरु पनि पढ्न पाइयो । सुझाव, सल्लाह र धारणा राख्ने सम्पुर्णका विचारप्रति सम्मान गर्दै यस अभियानका तर्फवबट केही विषय राख्ने जमर्काे गर्दैछु ।

हो, सबै चाडवाडहरु तिज, दशै, तिहार, नयावर्ष मनाउने क्रममा विकृति आएका छन् र ति सबै विकृति नियन्त्रण गर्ने दायित्व हामी सवैको हो । विगत केही वर्षदेखि यि विकृति विरुद्ध हामीले आवाज उठाउने र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । दशैंमा हुने फजुल खर्च, तिहारमा हुने जुवातास, जाडरक्सी र भैलो द्यौसीको नाउमा रातविरात ठूलो स्पिकरका आवाज र ध्वनि प्रदुषण, गैरमौलिक नाजगान, नयाँ वर्षको नाउमा हुने पटाका र आतिसवाजी यी सवैका विरुद्ध हामीले विगतमा दिनमा सचेतना अभियान सञ्चालन गर्दै आएका हौं ।

अब हरितालिकाको सन्दर्भ जोडौं । महिलाको चाड तिजमा आएका विकृति नियन्त्रणको पहिलोे दायित्व महिलाकै हो । यसमा सकारात्मक सन्देश दिन सकियो भने अन्य चाडवाडमा हुने र हुन सक्ने विकृति नियन्त्रण गर्न महिला पुरुष दुवैलार्इ सहयोग मिल्न जाला भन्ने सोचका साथ हामीले तिजलार्इ लक्ष्य गरि कार्यक्रम सञ्चालन गरेका हौं । केही मित्रले लेखे जस्तो यो महिलाको खुसी विरुद्ध महिला लागेको वा हिन्दु धर्मप्रतिको प्रहार होइन । हाम्रा मौलिक परम्पराको संरक्षण गरौं, चाडवाडको धार्मिक सास्कृतिक पक्षलार्इ आत्मसात गर्दै हाल भित्रिएका आयातीत संस्कृतिलार्इ निरुत्साहित गरौ भन्दा कहाँनिर हिन्दु धर्म माथिको प्रहार भयो हामीले वुझ्न सकेका छैनौं ।

परिवर्तनका नाउँमा हाम्रो मौलिक परम्परा, मूल्य मान्यतालाइ नबिर्सौ भन्ने हाम्रो अनुरोध हो । हरितालिकालार्इ एक महिनासम्म मनाउँदा मात्र महिलाको उत्थान हुन्छ भन्नु नितान्त गलत सोच हो ।

हालको २१ औं शताव्दीमा आएका परिवर्तन, महिलाका क्षमता र अधिकारका क्षेत्रमा आएका परिवर्तनप्रति हामी सचेत र जानकार छौं । चुलो चौकामा मात्र सिमित महिला घरबहिर निस्केर चाडवाड मनाउने, रमाइलो गर्ने भन्ने कुराको हामी विरोधी होइनौं । परिवर्तनका नाउँमा हाम्रो मौलिक परम्परा, मूल्य मान्यतालाइ नबिर्सौ भन्ने हाम्रो अनुरोध हो । हरितालिकालार्इ एक महिनासम्म मनाउँदा मात्र महिलाको उत्थान हुन्छ भन्नु नितान्त गलत सोच हो । आजको युगमा महिला आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक हिसावले सक्षम हुन सके भनेमात्र महिलाको सर्वांगीण विकास हुन्छ । देशले समृद्धिको नारा र उद्धेश्य तय गरेको छ । महिलामा क्षमता विकास, सीप विकास गरी उद्यमशील बनाउने र आर्थिक रुपमा आत्मनिर्भर बनाउन सके घर, परिवार र समाजमा महिलाको मनोवल र स्थान बढ्छ भन्ने हाम्रो मान्यता हो । यसै अनुरुप महिला शसक्तिकरण, सीप विकास, क्षमता विकास र उद्यम विकासका कार्यक्रममा पनि हामी विगतदेखि लागिपरेका छौं ।

पुरुषले वर्षभरि चाड मनाउन हुने महिलालार्इ एक महिना चाड मनाउन किन नहुने भन्ने विचार पनि देखिए । हाम्रा दाजुभाइमा भएका गलत संस्कार र क्रियाकलापसमेत कम गराउन वल मिलोस् भन्ने पनि हाम्रो अभियानको उद्धेश्य हो ।

केही साथीले कम्यूनिष्ट सरकार हिन्दु धर्मका चाडवाड विरुद्ध जादैंछ भन्ने विचार राखेको पाइयो । यो हाम्रो अभियान कुनै राजनीतिक पार्टी विषेशको कार्यक्रम नभई विशुद्धरुपमा सामाजिक भावनाले सञ्चालन भएको अभियान हो । केही नितान्त व्यक्तिगत टिका, टिप्पणीहरु पनि पढ्न पाइयो । यस्तो साडी लगायो, यस्तो गहना लगायो, यस्तो खायो भन्नेसम्मका भनाइ पनि आए । यस्ता टिप्पणी गर्दा आफ्ना मर्यादालाइ ख्याल राख्न हामी साथीहरुमा विनम्र आग्रह गर्दछौं ।

समाजमा आएका गलत परम्पराको शिकार कुनै एक पार्टि, एक समाज, लिङ्ग र वर्ग मात्र हुँदैन र यसको सुधारको दायित्व पनि सब पक्षको नै हुन्छ । यसै तथ्यलार्इ मध्यनजर गरेर हामीले यो अभियान सञ्चालन गरेका हौं । नयाँ बाटो खोल्दा झाडी, कांडाले कोतर्छ, केही दुख, लाञ्छाना र तीता शब्द पनि सुन्नु पर्छ यो ध्रुवसत्य कुरा हो । यसलाइ मनन गर्दै हामी अझ दृढताका साथ अभियानका जट्छौं भन्ने हाम्रो प्रतिवद्धता छ । आखिर कसै न कसैले शुरुवात त गर्नैपर्छ, त्यसकारण समाजको प्रतिनिधित्व गर्दै हामीले यो अभियान शुरु गरेका हौं ।

आफ्ना आफ्ना धर्म संस्कृति बमोजिमका चाडवाड मनाउन सबैलार्इ स्वतन्त्रता छंदै छ तर स्वतन्त्रताका नाउमा स्वच्छन्दतातर्फ समाज नजाओस् भन्ने हाम्रो चाहना हो । आफ्ना हक, अधिकारको उपभोग गर्दा अर्काको अधिकार हनन् नहुन्, हुने वर्गले तडकभडक गर्दा समाजका विपन्न महिलाको मानसिकताका आघात नपरोस् भन्नेतर्फ हामी सचेत हुनु जरुरी छ । समाजमा भएको धनी र गरिब बीचको वर्गिय खाडल कम गर्दै समतामुलक समाजको निर्माण गर्न गरेको यो हाम्रो सानो प्रयासमात्र हो । यसलाइ ठूलो हाउगुजी नबनाउनमा हामी आग्रह गर्दछौं ।

जहाँसम्म जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको अपिलको विषय छ, समाजमा शान्ति, सुरक्षा, अमन, चयन कायम गर्ने कानुन बमोजिम दायित्व लिएको सरकारी निकायको तडकभडक र आडम्वर विनाको चाडवाड मनाऔं भन्ने आग्रह निश्चय नै स्वागतयोग्य छ । यसलाइ नागरिक स्वतन्त्रताको हनन् भन्नु सर्वथा गलत हो ।

नयाँ बाटो खोल्दा झाडी, कांडाले कोतर्छ, केही दुख, लाञ्छाना र तीता शब्द पनि सुन्नु पर्छ यो ध्रुवसत्य कुरा हो । यसलाइ मनन गर्दै हामी अझ दृढताका साथ अभियानका जट्छौं भन्ने हाम्रो प्रतिवद्धता छ ।

अन्त्यमा, नारी जागरण अभियान समाजको एक सानो हिस्सामात्र हो । हामीले त यो विषयलार्इ उठानमात्र गरेको हो र यसलार्इ सफल पार्न समाजमा रहेका सवै वर्ग, तह, तप्का, विभिन्न तहका सरकार, राजनीतिक पार्टी, पत्रकार र आम सर्वसाधारणको साथ र सहयोगका आवश्यकता पर्दछ । त्यसकारण यो विसुद्ध सामाजिक अभियानप्रति कुनै पार्टी विषेश तथा व्यक्तिगत आग्रह पूर्वाग्रह नराखिदिनुहुन अनुरोध गर्दछौं ।

संयोजक नारी जागरण अभियान पोखरा

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...