ताजा समाचार

श्रावण १३ गते २०७६

जीवनको शल्यक्रिया

बाचुञ्जेल रहर, इच्छा, आकांक्षा मारेर मुर्दा जसरी बाँचेको ऊ मृत्युपछि जीवन जसरी बाँचेको छ । (विवशता)
परदेशीको शव पनि आफन्त र मातृभूमिलाई गतिलो उपहार हुँदो रहेछ । (उपहार)
यो साल ठूलो खर्च र झन्झटबाट बचायो केटाले । (गर्जाे)

कोष्ठकमा दिइएका लघुकथाबाट निकालिएका माथिका वाक्यांशले पाठकलाई किताब कस्तो छ भन्ने झल्को दिन्छन् । पहिले बुढापाका नाडी छाम्थे । कति मिलाउँथे, कति अनुमान गर्थे, त्यो त्यही पुस्तालाई थाहा होला । अहिले नाडी छाम्ने चलन हट्दै गयो, जाँच्ने डाक्टरहरु आए । तीनै डाक्टरमध्येका असल मनुवा हुन् रवीन्द्र समीर । उनको ‘मृत्युको आयु’ उपन्यास हो । सँगसँगै लघुकथाको सञ्चयन पनि हो ।

संग्रहमा समीरले नेपाली समाजको नाडी छामेका छन् । बाहिर सुसभ्य देखिए पनि हामी कति ढोंगी जीवन बिताइरहेका छौं, उनले देखाएका छन् । प्रवासमा नेपाली कामदारको मृत्युबाट सुरु भएर उसको अन्तिम संस्कारसँगै सकिने उपन्यासले हामीले बाँचेका थुप्रै विश्वास र भरोसालाई झापड हान्छ । यति छोटो अवधिमै मानवका यति धेरै विसंगति भेटिन्छन् भने पूरै जीवनचाहिँ कस्तो होला ? म मृत्युको आयुभित्र जीवनको सल्यक्रिया खोजिरहेको छु । जीवनको यो भन्दा सटिक र प्रभावकारी चिरफार मैले देखेकै छैन ।

आधा करोड नेपाली विदेशमा छन् । नारीमा ताकत भएका युवालाई विदेश पठाएर पनि यहाँ समृद्धिको फोस्रो भाषण चलिरहेकै छ । ती युवामध्ये उपन्यासको मुख्य पात्र एक हो । गर्भे टुहुरो उ ऋण तिर्न, परिवारलाई सुख दिन विदेशिएको छ । ‘कसैको मृत्युसँग मेल खाएमा संयोगमात्र हुनेछ’ भनी सुरु भएको उपन्यासले जीवन खोज्दाखोज्दै मरण भोग्ने धेरै नेपालीको सत्य कथा बोलेको छ ।

पहिलो कथा मृत्युलोक प्रवेशमा मानिसको सास जाने बेलाको चित्रण छ । मृत्युपछिको आनन्द, गाउँघर, पुर्खा, थाहा पाएरै उ मृत्युको मुखमा पुग्यो । अघिल्लो दिन घरतिर फोन गर्दा सबै आफन्तले दीर्घायूको कामना गरेका थिए । भोलिपल्ट उ सुतेको सुत्यै भयो । कामनाले मात्र जीवन दिन सक्दो रहेनछ । उसले यमराजलाई राशिफल वृतान्त सुनायो । राशिफल एप्लिकेसनले यसको आयु ८४ वर्ष देखाएको थियो । करिब २४ वर्षमै उनको चोला उठ्यो । मर्ने दिनको राशिफल भाग्यवृद्धि थियो । ज्योतिषशास्त्रको विश्वास कत्ति रहेन ।

प्रवासमा नेपाली कामदारको मृत्युबाट सुरु भएर उसको अन्तिम संस्कारसँगै सकिने उपन्यासले हामीले बाँचेका थुप्रै विश्वास र भरोसालाई झापड हान्छ ।

तन्नेरी युवा मरेपछि उसको आत्माको तर्फबाट धेरे कुरा यसमा भनिएको छ । स्वैरकल्पनालाई समीरले सबल ढंगले प्रयोग गरेका छन् । आत्मालाप कथामा आत्मा र प्रविधिको रोचक वार्ता नै चलेको छ । बाचुञ्जेल गुमनाम उ मरेपछि चर्चाको पात्र बन्यो । उनको मृत्यका कारणबार अनेक चर्चा भए । घरायसी तनाव, ऋण, महत्वकांक्षा, कामना पेलान, अपमान अनेक सघेर उ बाचेको थियो । जन्मसँगै मृत्यु निश्चित हुन्छ । पंक्ति कथा भन्छ ः जीवनको पंक्तिमा उभिनु भनेको मृत्युको पंक्तिमा उभिनु रहेछ ।

बेलुका सुतेको बिहान नउठेपछि उसलाई अस्पताल लगियो । बिरामी हुँदा अस्पताल लैजान फुर्सद छैन भन्ने साथीहरु र वास्ता नगर्ने साहुले मरेपछि तुरुन्तै एम्बुलेन्समा राखेर महंगो अस्पताल लगे । अस्पताल कथाका अनुसार मृत युवको फोटो फेसबुकमा राख्ने स्पर्धा चल्यो । न्याय, समानता खोज्ने खरो रगत भएको युवाले जीवनभर त्यस्तो भोग्न पाएन । यमलोकमा पनि उसको अपेक्षा पूरा भएन । ‘चाकडी’ कथामा पापीलाई सजाय दिने क्रममा चित्रगुप्त र यमराजको मूर्ती राखेर पूजा गर्नेलाई छुट दिएको देखाइएको छ ।

लक्का जवान भएसम्म उ सबैबाट उपेक्षित थियो । मरेपछि उसको ठम्याइ छ ः आफ्ना गुण थाहा पाउन मृत्युको मुख देख्नुपर्दाे रहेछ । मृत्युपछि चलेका चर्चाबारे उ पूर्ण जानकार छ । मृत्युबारे अनेक भ्रम फैलिएपछि मरेकालाई थाहा हुन्न भन्नेहरुलाई युवक भन्छ, ‘बाँचेकालाई खूब थाहा हुँदो रहेछ ।’ पढ्न, बाच्न, व्यवहार गर्न त उसलाई सजिलो कहिल्यै भएन । सासै गएपछि जल्न पनि पैसा गोमन साँप भएर उमाथि जाइलाग्यो । लास जलाउन गाउँ र सहरबाट गाडीमा मसानघाट जाने पैसा भएन । मरिसकेको युवक भन्छ ः हे भगवान् गरिबले कहिल्यै मर्नु नपरोस् ।

लक्का जवान भएसम्म उ सबैबाट उपेक्षित थियो । मरेपछि उसको ठम्याइ छ ः आफ्ना गुण थाहा पाउन मृत्युको मुख देख्नुपर्दाे रहेछ ।

मरिसकेपछि पनि सम्झने शक्ति समीरले युवकलाई दिएका छन् । समाजले बाच्ने वातावरणसम्म दिएन उसलाई । अरबमा पुगेपछि साहूले अनेक काम गर्न आउँछ भनेर सोध्यो । उनले इमान्दारीपूर्वक आउँदैन भनी जवाफ दियो । साहूले भन्यो, ‘केही काम गर्न आउँदैन भने के मर्न आएको त ?’ नक्कली प्रमाणपत्र बनाएर धेरै दलाल युवालाई खाडी पठाउँदै छन्, अर्थात् मर्न पठाउँदै छन् । युवकलाई पोस्टमार्टम गर्दा अथाह पीडाको अनुभव भयो । उसलाई बरु बाच्नै सजिलो हो कि जस्तो पो लाग्यो । मृत्यपछि अस्पताल, आइसमा राख्दाको खर्च भए युवकको परिवारको कायापलट हुने थियो । आइस कथामा उ याचना गर्छ ः आइसमा राख्ने खर्च घर पठाइदेऊ । मलाई गल्ली वा चौरमा मिल्काइदेऊ ।

हामी प्रक्रियाकै दास भएका छौं । लास पठाउने प्रक्रिया मिलाउन पनि दलाल खटाउनुपरेको छ । मृत्युपछि पासपोर्ट रद्द नगरी भएन । मरेका मान्छे फेरि यात्रा गर्ने सम्भावना नहुँदा पनि बेकामे काममा झुलाइयो । शव नबुझेसम्म विनम्र साहू बुझेपछि युवकका साथीहरुसँग पैसा तिर्न बाँकी छैन पनि कड्क्यो । २ हप्ता आइसमा बसेपछि लेखकको भाषामा उ रिहा भयो । रिहाइ कथामा नेपाल फर्काउन कुरिरहेका थुप्रै नेपाली युवाका लासले उसलाई भने, ‘हाम्रा परिवार गरिब छन् । सोर्सफोर्स लगाएर शव झिकाउन सहयोग गरिदेऊ ।’

बाचुञ्जेल यसलाई सकेजति सबैले ठगे । मरेपछि किन पछि पर्थे र ? ‘बिल’ कथामा लास जलाउन सामग्री किन्न गएको आफन्तले पसलेसँग दोब्बर खर्चको बिल बनाउन भन्यो ।

मृत्युपछि चाडपर्वमा घर जान बिदा नदिने उसको मालिकले हवाइहहाजको टिकट नै किनिदियो । तर क्षतिपूर्ति दिनुनपर्ने गरी उनको मृत्युलाई प्रकृतिक मृत्यु ठह¥याइयो । मृत्युपछि उसले जीवनमा भोगेका धेरै कुरा फेरिए । बाँचुञ्जेल भेट्दा पनि नचिन्ने र नचिनेझैं गर्नेहरुले मत्युपछि लासको बाकससमेत चिने । अब उबाट आफन्तलाई कुनै कुरामा दुःख हुने भएन । कतिसम्म कठोर र निदर्यी भएछौ हामी नेपाली भने कफिनमा प्रयोग भएको काठ बेच्ने हतारो पनि देखियो । बाचुञ्जेल यसलाई सकेजति सबैले ठगे । मरेपछि किन पछि पर्थे र ? ‘बिल’ कथामा लास जलाउन सामग्री किन्न गएको आफन्तले पसलेसँग दोब्बर खर्चको बिल बनाउन भन्यो । अन्त्यमा युवकको मुखमा सुन राखियो । बाचुञ्जेल नून राम्ररी खान नपाएको मान्छेको मुखमा मरेपछि सुन के अर्थ ?

मृत्युपछिका गतिविधि देखेर युवकले निष्कर्ष निकाल्यो ः जन्म र मृत्यु फरक भए पनि ठगी समान हुँदो रहेछ । ठिटो मरेपछि दार्शनिक पनि बन्दै गयो । शव हेरेर बैराग्य सोच्नेहरु काममा पुग्नेबित्तिकै भ्रष्ट भएको देखेर उ दिक्क भयो । खरानी लघुकथामा पुग्दा शव जलाइसकेपछि खरानी माग्दा पनि ५० रुपैयाँ तिर्नुपरेको छ ।

युवकको सामान्य खालको मृत्यु भएकोमा आफन्त दुखी छन् । दुर्घटना भएको वा कसैले मारेको भए बिमावापत पैसा आउने थियो । युवकको मृृत्युपछि नून बारेको छु भनी मासुभात दन्काउनेहरु पनि भेटिए । समीरको सीमान्त कथामा गरिब र विवशताको कठोर चित्रण छ । किरियामा आउने आगन्तुकले मीठा खानेकुरा ल्याएका छन् किरियापुत्री भने भोकै छन् । त्यहाँ आएको एउटा बच्चाले आमालाई भन्छ ः मम्मी हाम्रो ड्याडी मरे त हाम्रो घरमा पनि यस्तै रमाइलो हुन्थ्यो होला हगि ?
निम्छरो नवयुवकलाई साथीभाइले पनि लुटे ।

सुटकेशमा आफन्त र परिवारलाई किनेका सामानका बिलमात्र भेटिए, सामान पाइएन । श्रद्धाञ्जलि छाप्ने रहर लाग्दा लाखौं खर्च हुने देखेपछि निछोड निकाल्नुपर्ने भयो, श्रद्धाञ्जति अर्पण गर्ने होइन, किनबेच गर्ने विषय पो रहेछ । युवक अरु मान्छेभन्दा फरक थिएन । बिल, कारोबारबारे हेर्न उसको फुसबुक च्याट खोल्दा श्रीमती मर्माहत भई । त्यहाँ थिए अरु केटीसँगका भद्दा ठट्टा । परिवारको कमाउने, व्यवहार चलाउने हर्ताकर्ताको मृत्युपछि आश्रितको जीवन धागो चुडिएको चंगा जस्तो हुन्छ । यस्तो बेलामा संरक्षण गर्नुपर्ने अभिभावकले उसको समवेदना पुस्तिकामा लेखे, कसैको भर पर्न नपरोस् ।

यहाँ युवक धर्मप्रति कठोर प्रश्न गर्छ ः मर्न लागेको गाई आफैं त कुलो तर्न सक्दैन, कसरी मलाई बैतरणी तार्ला ?

अरुले त सकेको ठगेकै थिए । युवकले ऋण दिएको साथीले घरमा किरियाको बेला पुगेर पैसा फिर्ता दिने पाठकको अपेक्षा त्यो बेला मुच्छित भयो जब उसले युवकलाई १ लाख रुपैयाँ ऋण दिएको सुनायो । वैतरणी नदी कथा ढोंगी पुरेत्याईप्रतिको प्रहार हो । यहाँ विधिपूर्वक बाच्नभन्दा विधिपूर्वक मर्न गाह्रो देखियो । उ गरुण पुराण धुत्ने माध्यम भएकोमा चिन्तित छ । यहाँ युवक धर्मप्रति कठोर प्रश्न गर्छ ः मर्न लागेको गाई आफैं त कुलो तर्न सक्दैन, कसरी मलाई बैतरणी तार्ला ?

युवकलाई अचाक्ली मन पराउने युवतीको विहे अन्तै भयो । विहेपछि पनि प्रेम दर्साइरहने युवतीले मृत्युपति भनी ः उसँग विहे नभएको राम्रै भयो । वैंसमै विधवा बन्नुपर्ने रहेछ । हिन्दु संस्कारले जीवनलाई दुः र तृष्णाको कारण ठान्छ अनि मृत्युलाई मोक्ष भन्छ । त्यसो हो भने युवकको प्रश्न छ ः यो रुवावासीको अर्थ चाहिँ के ? पितृसत्तात्मक समाजमा हुर्केको ठिटो मरेपछि पनि उही युगमै छ । युवकले ‘परलोकको पत्र’ कथामा श्रीमतीलाई व्रह्मचार्य पालना गर्न, अरुलाई नहेर्न निर्देशन दिँदै पत्र लेखेको छ । उसलाई विधवा श्रीमती अरुसँग पोइल जाने चिन्ता देखिएको छ ।

समाजको सधै २ रुप देखिन्छ, भन्ने एक थोक गर्ने अर्कै । मृत्युको निधन कथामा यही देखिइएको छ । १३ दिनसम्म समवेदना दिनेहरु नै अब विधवालाई अलच्छिन, अपशकुन, साइत पर्दैन, पोइटोकुवाइ पनि वाण प्रहार गर्न पछि पर्दैनन् । सबैले प्रयोग गरेको, ठगेको देखेर आजित युवक अन्तिममा उपन्यासकाप्रति पनि रोस प्रकट गर्छ । २५ शब्दको अन्त्यमा कथा यस्तो छ ः र उसले भन्यो, ‘ए लेखक, तिमीले पनि म जीवित हुँदा मेरोबारे एक शब्द लेखेनौं । जब मेरो मृत्यु भयो, तिमीले मेरोबारेमा पुस्तक नै तयार ग¥यौं ।

जनस्वास्थ्य विज्ञ रवीन्द्र समीर नेपाली लघुकथाका प्रभावशाली हस्ताक्षर हुन् । लघुकथामा अनेक प्रयोग गर्ने उनी यसपालि उपन्यासकार बनेका छन् । १ सय ६६ लघुकथा विस्तारै उनिँदै गएर एउटा सिंगो आख्यान बनाउँछन् । यी लघुकथा छुट्टा छुट्टै पढ्दा पनि उत्तिकै प्रभावशाली छन् । समीरका यसअघि ८ लघुकथा संग्रह प्रकाशित भइसकेका छन् ।

‘मृत्युको आयु’ पठनीय छ, मननीय छ, उत्कृष्ट छ । यसको अर्थ सीमाविहीन भने छैन । पात्रको सिमितताले कतै कतै संवादहरु चाखलाग्दा बन्न सकेका छैनन् । युवकवाहेक अरु गौण पात्र भएपछि संवाद धेरै हुने कुरै भएन । मृत्यु भएपछि यति धेरै त्रासदी, ठगी र ताडना भोगको युवकको जीवन र उसको दुःखका कारण, परिवारबारे पनि निकै सूक्ष्ममात्र जानकारी यसमा छ । अहिलेको सान्दर्भिक र धेरै नेपालीको पीडा बोल्ने कथामा युवकको जीवनबारे थप जानकारी दिन सकेको भए उपन्यास अझ प्रभावशाली हुने थियो । श्रीमान्, छोराछोरी र आफन्तलाई खाडीमा काम गर्न पठाएका धेरैलाई यसले रुवाउँछ । यसलाई यी परिवारले छ पढ्छन् नै, देश चलाउनेहरुले पनि पढून् । ताकि फेरि यसरी अर्काे उपन्यास लेख्न नपरोस्, देशमै युवाले राजगारी पाऊन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...