ताजा समाचार

श्रावण ११ गते २०७६

सेन्टिमेन्टस् खिच्दै सिरु

हे प्यारा शिशु यदि फेरि बन्न म सके बन्न थिएँ बालक
केटाकेटी भनून्, बुझ्कड बूढा, मान्दिनँ केही धक

शिशु अवस्था र बाल बयको आकर्षण महाकविले कवितामा यसरी लेखे । शिशु हुँदा बाआमाले तस्बिर खिचेर राखिदिएको भए हामी हेर्दै बाल्यकालसम्म पुग्थ्यौं । बालसुलभ क्रियाकलाप सम्झेर मुस्कुराउँथ्यौं ।

तर, धेरैलाई त्यसरी तस्बिर खिच्ने अवसर र प्रविधि प्राप्त भएन उ बेला । अहिले भने हात हातमै छ सबै प्रविधि । यही प्रविधिलाई उपयोग गरी सिर्जना भुर्तेल (सिरु)ले पोखरामा खोलेकी छन् बेबी फोटोग्राफी स्टुडियो । सिरु सबैथरी तस्बिर खिच्दिनन् । उनले भनिन्, ‘बच्चा, गर्भवती र त्यही परिवारको फोटोमात्र खिच्ने प्याकेज छन् । म सबै घटना होइन, जीवनका सेन्टिमेन्ट्सहरु खिच्न चाहन्छु ।’

‘बच्चा, गर्भवती र त्यही परिवारको फोटोमात्र खिच्ने प्याकेज छन् । म सबै घटना होइन, जीवनका सेन्टिमेन्ट्सहरु खिच्न चाहन्छु ।’

युवा वयमै समाजसेवी र व्यवसायी बनिसकेकी सिरुले व्यवसाय चलाउन पनि प्रविधिको प्रयोग गर्दैछिन् । पोखरा न्युरोडको नेवारी भोजकी सञ्चालक सिरु रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलको पास्ट प्रिसिडन्ट हुन् । उनी भर्खरै रोटरी फिस्टेलको सहसचिव निर्वाचित भएकी छन् ।

उनले व्यक्तिगत वेबसाइट सिरु भुर्तेल डट कम (www.sirubhurtel.com) खोलेकी छन् । त्यसैमा राखिएको छ, बेबी फोटोग्राफी स्टुडियोका प्याकेजबारे जानकारी । फेसबुक पेज र साइटमा उनले खिचेका केही रोज्जा फोटो पनि छन् । यसरी बच्चा र गर्भवती महिलाको मात्र तस्बिर खिच्ने स्टुडियो नेपालमा राजधानी बाहिर यो पहिलो भएको उनको दाबी छ ।

घरमै बसेर सिरुले गरेका काम हेरेर अर्डर पनि घरबाटै गर्न मिल्छ । फोटो सुटका लागि भने उनको स्टुडियोमै पुग्नुपर्छ । करिब २० लाख खर्चेर उनले नागढुंगामा रहेको आफ्नो घरमै स्टुडियो बनाएकी छन् । स्टुडियोका लागि उनले अन्तर्राष्ट्रिय मापदण्ड अपनाएको सुनाइन् । फोटो खिच्दा प्रयोग हुने प्रोप्स, कपडा, अन्य सामग्री विदेशबाट ल्याइएको छ । बच्चालाई हिउँदमा चिसो र वर्षामा गर्मी नहोस् भनी एसीको पनि व्यवस्था गरिएको छ ।

गर्भवती र शिशुका तस्बिर खिच्न उनी ग्राहकको घर पनि पुग्छिन् । यी तस्बिर खिच्न आवश्यक सेट लैजानुपर्ने भएकाले यसका लागि थप शुल्क उनले लिने गरेकी छन् । बेबी स्टुडियोमा मेटरनिटी, न्यु बर्न, टोडलर्स, फेमिली, चाइल्ड एन्ड सिबलिङ र केक स्म्यासका प्याकेज उपलब्ध छन् ।

पोखरामा फोटोग्राफी पढाउने शैक्षिक संस्था छैनन् । उनले अनुभव र अग्रजहरुबाट सिकिन् । सबैभन्दा सजिला गुरु भए बने युट्युब र गुगल । एक दशकअघि डिएसएलआर किनेकी सिरुलाई त्यो बेला व्यावसायिक फोटोग्राफर बनौंला भन्ने सोचै थिएन । सोखका लागि खिचेर फेसबुकमा राख्ने गर्थिन । केहीले तस्बिर राम्रो छ, क्यान्डेलरमा राख्छौं , पैसा दिन्छौ भने । उनलाई लाग्यो ः यसबाट पैसा पनि पो आउँदो रहेछ ।

व्यवसायिकै नहोस्, तर घरमै फोटोग्राफर भएपछि उनका दाइको बच्चाका फोटा खिचिए । सिरुले सामाजिक सञ्जालमा राखिन् । उनका आफन्त, चिनारु, साथी, सर्कलमा ती तस्बिरको निकै तारिफ भयो । यसपछि साथीहरुले उनलाई आफ्ना बच्चाको तस्बिर खिच्न बोलाउन थाले । साथीहरुसम्मको सित्तैमा खिच्दै थिइन्, माग आयो साथीका पनि साथीहरुबाट । मागका साथमा आयो पैसा दिने अफर । उनले सम्झिइन्, ‘पहिलो कमाइ थियो नगद १० हजार ।’

उनले स्टुडियो दर्ता गरिसकेकी छन् । यहाँ फोटोग्राफी पनि सिकाइन्छ । १० दिने फोटोग्राफी कोर्ष चलिरहेको छ । क्यामेरा कन्ट्रोल, चलाउने तरिका, क्यामेराको ज्ञान, लेन्स, सेन्सर, फ्रेम, जेपिइजी र रे बारे जानकारी, फिल्टरको महत्व, लाइट, ब्लास, खिच्ने तरिका यसमा पर्छन् । महिलाले सिकून् भनी उनले विशेष छुट पनि दिने गरेकी छन् ।

फोटोका लागि प्रयोग गरिने प्रोप्सहरु उनले धेरैजसो विदेशबाट झिकाएकी हुन् । केही स्थानीय सामग्रीबाट पनि बनाइएको छ । फोटो सेसनमा सबै सफा गरिएका कपडा र प्रोप्सहरु प्रयोग गरिन्छन् । नवजात शिशु र गर्भवती महिलाको तस्बिर खिच्नका लागि उनले समय पनि तोकेकी छन् ।

गर्भवतीको तस्बिर ७ देखि ८ महिनाको बीचमा राम्रो आउने उनी बताउँछिन् । नवजात शिशुको फोटो ५ देखि १४ दिनबीचमा खिच्नु उपयुक्त हुन्छ । धेरै कोमल, निदाएरै समय बिताउने त्यो अवधिमा तस्बिर खिच्ने समय नमिले ३ देखि ४ महिनाभित्र पनि खिच्न सकिने उनी बताउँछिन् । फोटोसुट गरेको हप्तादिनभित्र डिजिटल माध्यममा फोटाहरु र एउटा ठूला फ्रेम दिने उनको प्याकेजमा उल्लेख छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।