अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन्। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ।
विश्वमा करिबसाढे४ करोड व्यक्तिहरूलाई यो रोग लागेको र सन् २०५० सम्म २० करोड व्यक्ति यसबाट प्रभावित अनुमान गरिएको छ । यो रोग ६५ वर्षको उमेरपछि लाग्ने भए तापनि अपवादका रूपमा जवान व्यक्तिहरूमा पनि पाइएको छ। यो रोग लागेका व्यक्तिहरू औसत ८-१० वर्ष बाँच्छन् भने न्यूनतम तीन वर्ष र अधिकतम २० वर्ष बाँच्न पनि सक्छन्। ५८ प्रतिशत विस्मृति रोगका बिरामीहरू गरिब तथा विकासोन्मुख देशमा छन्। विकासोन्मुख राष्ट्रहरूमा बुढ्यौली उमेरमा हुने मृत्युका प्रमुख तीन कारणहरू मुटुको रोग, क्यान्सर र पक्षघात हुन् भने चौथो कारक तत्त्व अल्जाइमर रोग हो। यो रोगको उपचार, अनुसन्धान, स्याहार आदिका लागि अमेरिकामा मात्र बार्षिक एक सय अर्ब डलर खर्च भइरहेको छ, जसबाट प्रत्येक देशको अर्थतन्त्रमा यसको प्रभावबारे आंकलन गर्न सकिन्छ।
विकसित देशहरूमा १० प्रतिशत स्वस्थ व्यक्तिहरू यो रोगका कारण चिन्तित भएको तथा आफ्नो परविारमा यो रोग लागेका ३३ प्रतिशत व्यक्तिहरू मानसिक पीडामा बाँचिरहेको अनुसन्धानले पुष्टि गरेको छ। निको नहुने यो रोग सन् १९०६ मा जर्मन वैज्ञानिक डा. एलोइस अल्जाइमरले पत्ता लगाएकाले यसलाई अल्जाइमर्स डिजिज भनिएको हो।
विस्मृति रोगको निदान गर्न आधुनिक अनुसन्धानका उपायहरू जस्तै- सीटी स्क्यान, एमआरआई, मेरुदण्डको पानी जाँच,ईईजी, रक्त परीक्षण आदि प्रभावकारी पाइएको छैन। मानसिक विशेषज्ञद्वारासम्पूर्ण वृत्तान्त आदानप्रदान( बिरामी एवं बिरामीका आफन्तसंग ) तथा स्वास्थ्य परीक्षणबाट यो रोग पत्ता लगाइन्छ। बिरामीको मृत्युपश्चात् मस्तिष्कको पोस्टमार्टम गरेपछि मात्र यस रोगको निदान हुन्छ।
विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो। तत्कालैका घटना, फोन नम्बर, समयतालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्। अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोरिइरहन्छ। त्यस्तै व्यक्तिगत, सामाजिक तथा आर्थिक निर्णयहरूमा उचित छनोट गर्न सक्दैनन्। उनीहरूले पारिवारिक जीवनजस्तै समयमा खाना खाने वा विद्युत्, पानी, फोन आदिको बिल तिर्नेजस्ता नियमित काम पनि गर्न सक्दैनन्। विशेष गरी यो रोग लागेका व्यक्तिहरू समय र स्थानका बारे निकै संशयमा रहन्छन्। जस्तै- बजे, गते, बार, महिना, ऋतु, वर्ष, टोल, गल्ली, पार्क, सहर आदि।
विकासोन्मुख राष्ट्रहरूमा बुढ्यौली उमेरमा हुने मृत्युका प्रमुख तीन कारणहरू मुटुको रोग, क्यान्सर र पक्षघात हुन् भने चौथो कारक तत्त्व अल्जाइमर रोग हो।
विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। त्यस्तै उनीहरूले जथाभावी सामान राख्ने भएकाले चाहिएका बेला भेटाउन सक्दैनन्। उदाहरणका लागि चस्मा वा साँचोलाई भान्छा कोठामा राख्छन् र सुत्ने कोठामा खोज्छन्। कुनैकुनै व्यक्ति धेरै मुडी, तुरुन्तै रिसाउने, तुरुन्तै कोमल हुनेजस्ता अड्कल गर्न नसकिने भावनाका हुन्छन्। स्वतन्त्र र दृढ स्वभाव परविर्तन भएर पराश्रित तथा शंकालु स्वभावका हुन्छन्। विस्मृतिउन्मुख व्यक्तिमा शारीरकि तथा मानसिक निस्कृयता बढ्दै जान्छ। उनीहरूमा चाहना, आकांक्षा, संवेदना, उत्तेजना, आनन्द आदि भाव हराउँदै जान्छ। गीत सुन्ने, टीभी हेर्ने वा भ्रमण गर्ने, ठट्टा गर्ने मात्र होइन, यौनप्रति पनि उनीहरू अनिच्छुक हुन्छन्। एक्लै बस्ने, सुत्ने वा कुलतमा लाग्दा उनीहरू थकित एवं नकारात्मक सोचतर्फ उन्मुख हुन्छन्। यी विस्मृति रोगका पूर्वलक्षणहरूलाई समयमै उपचार, मनोपरामर्श वा स्व-उपचार नगर्ने हो भने कहिल्यै निस्कन नसकिने अल्जाइमरको भुमरीमा फसिन्छ।
अल्जाइमरका बिरामीलाई स्याहार गर्ने व्यक्ति निकै तनाव तथा अवसादको स्थितिमा हुन्छ। जति ख्याल तथा सहयोग गरे पनि कृतज्ञता नपाइने, आवेगका कारण शारीरिक तथा मानसिक आघात बेहोर्नुपर्ने, आफूलाई नचिन्ने, अनुमानबाहिरका गतिविधि गर्ने, हरेक कुरा पटक-पटक सम्झाइरहनुपर्ने, पछिल्लो अवस्थामा दिसा-पिसाब ओछ्यानमै गर्ने हुनाले अधिकांश सुसारेहरू डिप्रेसनका सिकार हुन्छन्। अल्जाइमर रोगले बिरामीलाई मात्र होइन, पारिवारिक वातावरण पनि बिथोल्छ साथै समाजमा पनि मानसिक पीडाको बीजारोपण गर्छ। तसर्थ, सन्तुलित आहार, नियमित व्यायाम, बौद्धिक एवं सामाजिक गतिविधिमा सहभागिता, स्मरण अभ्यास, बौद्धिक खेल तथा सकारात्मक र सहयोगी प्रकृतिका व्यक्तिहरूसँग निरन्तर बसउठ, मनोरञ्जन तथा मस्तिष्कमैत्री आहारविहार र आचारबाट अल्जाइमरजस्तो पीडादायी रोगबाट त्राण पाउन सकिन्छ।
कारण तथा कारक तत्त्वहरु
यो रोग मस्तिष्कका कोषिकाहरू नष्ट भएर हुन्छ। यसको ठोस कारण हालसम्म यकिन भएको छैन। तथापि, विस्मृति रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा दुई कारणहरू पाइएका छन् –
१. मस्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र ‘ताउ’ नामक प्रोटिन जमेको हुन्छ।
२. स्नायुकोष तथा स्नायुबाहिर ‘विटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्तिष्ककोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, ‘विटा एमाइलोड’ले एसिटाइलकोलिन नामक हार्मोन -सिक्ने, सम्झने, सोचविचार गर्ने हर्मोन) घटाउँछ।
कारक तत्त्वहरू
उमेर – सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।
लिंग- यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि धेरै संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।
बंशानुगत- आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।
– गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
उच्च रक्तचाप – रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्कमा रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा।
- डिप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
- डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।
- मानसिक निस्कृयता भएका व्यक्तिहरूलाई।
- केहि भाइरस, विषाक्त पदार्थ, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मध्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिएको छ।
लक्षणहरू
अल्जाइमर रोग विस्तारै बढ्दै जाने भएकाले सुरुको अवस्थामा ‘प्रस्ट लक्षणहरू’ देखिँदैनन्। उमेर, शारीरकि अवस्था तथा रोगको प्रकृति अनुसार ५-१० वर्षपछि निम्नलिखित लक्षणहरू देखिन्छन् –
क) सुरुको अवस्था
-तत्कालिन घटना एवं कुराकानी बिर्सने।
-सामान हराइरहनु, आफैँ हराइरहनु।
- एकाग्रतामा कमी हुनु।
-जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
- जोड घटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
- हिडाई असामान्य देखिनु।
-एउटै कुरा बारम्बार दोहोर्याइरहनु।
- डिप्रेसन हुनु।
- दिनचर्याचर्या अस्तव्यस्त हुनु।
- भाषिक समस्या हुनु। जस्तै- प्रचलित वस्तुको नाम भन्न नसक्नु।
- एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
- चिनेको बाटो बिर्सनु।
-व्यक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
- पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु।
– सोंचविचार एवं समीक्षा गर्न नसक्नु।
ख) बीचको अवस्था
– तत्कालीन घटनाहरू बिर्सनु।
– आफ्नो विगतका क्षणहरू बिर्सनु।
– आफ्नो पहिचान बिर्सनु।
– निद्रामा समस्या पर्नु, निद्रामा हिँड्नु।
– पढ्न र लेख्न असजिलो हुनु।
– राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु।
– निर्णय क्षमता ह्रास हुनु।
– अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
– समाजबाट एक्लिनु।
– मतिविभ्रम हुनु, वादविवाद गर्नु, कुटपिट एवं हिंस्रक हुनु।
– भ्रम, अवसाद, सन्कने, रसि, चिन्ता, शंका, डर बढी हुनु।
– आधारभूत कामहरू जस्तै- खाना बनाउने, कपडा छान्ने/लगाउने, नुहाउने आदि काममा अरूको सहायता खोज्नु।
ग) गम्भीर अवस्था
– समवेदना हराउने, कुरा नबुझ्ने।
– अडिन नसक्ने, लड्ने।
– वजन घट्ने।
– आफन्त, साथी एवं परिवारका सदस्यहरूलाई नचिन्ने।
– खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने।
– खानेकुरा चपाउन तथा निल्न नसक्ने।
– ओछ्यानमा थला पर्ने, दिसा-पिसाबको नियन्त्रण हराउने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
– चेतना हराउने।
रोकथाम
यस रोगको खास कारण पत्ता नलागेको हुँदा रोकथामको ठोस उपाय छैन। तथापि, निम्न लिखित जीवनशैली एवं आहारविहार, आचारबाट रोकथाम गर्न सकिन्छ –
- मानसिक स्नायु प्रणाली विशेषज्ञद्वारा समयमै परीक्षण गरी उपचार गर्ने।
- चिल्लो, नौनी तथा घ्यू कम सेवन गर्ने।
- सातामा दुई-तीनपटक माछा खाने। सन्तुलित आहार सेवन गर्ने।
- हरियो सागपात, फलफूल तथा भिटामिन ई र भिटामिन सी पाइने खाना प्रशस्त खाने।
- उच्च रक्तचाप तथा कोलेस्टेरोल नियन्त्रण गर्ने।
- शारीरिक, मानसिक तथा सामाजिक काममा सधैँ सक्रिय हुने।
- धुम्रपान तथा अत्यधिक मद्यपान नगर्ने।
- शारीरिक तौल नियन्त्रणमा राख्ने।
- पढ्ने, समीक्षा गर्ने, बहस गर्ने, सम्झने तथा बौद्धिक अभ्यास गर्ने।
- व्यवहार, बानी, संशय, निन्द्रा, तनाव, उत्तेजनाको उचित व्यवस्थापन गर्ने।
- सकारात्मक र सहयोगी व्यक्तिहरूको समूहमा सहभागी हुने।
- आफ्नो सक्रिय जीवनको कार्यक्षेत्र, समकालीन साथीहरू भएको तथा आफ्नो समाजमा बस्ने जसले गर्दा मस्तिष्कमा सकारात्मक, सक्रिय तथा अनुकूल प्रभाव पर्छ |
स्वस्थ आहार, बिहार, आचार तथा सक्रियजीवनशैली अपनाउने हो भने अल्जाइमरबाटबच्न सकिन्छ | योग, ध्यान, तथा स्मृतिबर्धक रसायनको सेवनले यो रोगको उपचार तथा रोकथाममा उल्लेख्य सफलता मिलेको छ|








