१२ वडा कार्यालयमा तालाबन्दी

अछाम जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले ताला आतंक सिर्जना गरेको छ ।

विप्लव समूहले अछामका १२ वडा कार्यालयमा तालाबन्दी गरेको छ । पार्टीको सेती महाकाली ब्यूरोका नाममा विभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरिएको हो ।

मंगलसैन नगरपालिकाको वडा नम्बर–१ कुन्ती र १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूह निकट स्रोतले जानकारी दिएको छ ।

मंगलसैन नगरपालिका– १ का वडाध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुण्ड्याइएको जानकारी दिएका छन् । वडाध्यक्ष थापाले भने, ‘वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाइएको छ ।’ उनले थपे, ‘सँगै दलाल पूँजीवादी संसदीय व्यवस्था अन्त्य गरौँ, सामाजिक दलाल पूँजीवादी सरकार खारेज गरौं, नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।’

वडाध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दी गरिएको रामारोशन–३ का अध्यक्ष ताराबहादुर साउदले जानकारी दिएका छन् । ‘दलाल पूँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलिएमा सम्बन्धित ब्याक्ति नै जिम्मावर हुनेछ’ भनेर धम्कीपूर्ण रुपमा लेखिएको सन्देश समेत भेटिएको अध्यक्ष साउदले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर अहिले विभिन्न वडा कार्यालयमा तालाबन्दी भएको खबर आइरहेको जानकारी दिए । उनले तालाबन्दी भएका वडामा प्रहरी पठाएर ताला खोल्ने तयारी भइरहेको जनाए ।