राजनीतिक संक्रमणभन्दा कर्मचारीतन्त्र संक्रमण जटिल

राजनीतिक पुन:संरचनाको संक्रमण भन्दा कर्मचारी व्यवस्थापनको संक्रमण जोखियुक्त र जटिल हुन्छ। यसलाई राजनीतिक २, ४ जना नेता बसेर संकट टारेजस्तो हुनेछैन भनेर पटकपटक औपचारिक र अन्य मिटिंगको अवसरमा मन्त्रीहरू र उच्च पदस्थ अधिकारीसंग मैले भनिरहेकै थिएं । तर त्यसमा गंभीर नभैदिदा अहिले यही कर्मचारी व्यवस्थापनले सरकार र नेताहरूको गिदी खल्वलिदै गरेको देखिन्छ । यसबारेमा मैले सिधा हातले कान समाउनुपर्छ, घुमाएर हैन भन्दा के गर्ने संविधान नै अप्ठेरो छ भन्नेगर्थे ।

संविधान भनेको कामकाज सजिलो पार्न हुनुपर्छ, अप्ठेरो हैन, नभए संविधान संसोधन गरेरै भए पनि कर्मचारी व्यवस्थापन सरल , सजिलो र प्रभावकारी बनाउनुपर्यो जसमा मुलुकको, स्थानीय जनताको र स्वयं कर्मचारीको अधिकतम् हित हुन सकोस भनिरहन्थें । तर आत्मबिश्वास अनुभव ज्ञान र भीजनको कमीका कारण तिनले केही आजसम्म गरेनन् । अहिले एकले अर्कालाई सराप्दै देखिएको कर्मचारी व्यवस्थापन संकटमा ती किंकर्कव्यविमूढ भैरहेका छन् । सरकारले संघीय निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदमा कूल सिटको १०/१०% खुला प्रतिस्पर्धा गरेर निजामति सेवाबाहिरका दक्ष अनुभवी जनशक्ति भित्राउने २०४९ साल देखि लागू रहेको तर पूर्णत: असफल र आकर्षणबिहीन कानुनी प्रावधानलाई हटाउने गरी नयॉ संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

निजामति सेवाको तलब र सुविधा वाहिर स्थापित दक्ष जनशक्तिलाई आकर्षण नभएकै कारण खासमा बाहिरिया टेलेन्ट र अनुभवी, दक्ष जनशक्ति कोही प्रवेश गरेनन् । बरू, तिनका ठॉउमा जुनियर निजामति भित्रकै अनुभवहीन, चुनौति नबेहोरेका कॉचा रटन्ते विद्यामा पोक्त शाखा अधिकृतहरू डबल प्रमोशन हुदै निजामति प्रशासनमा जुनियर -सिनियरको विवाद र द्वन्द सिर्जना भएर झन् बिथोलिन पुगिरहेको पाईयो ।बाहिरका मान्छेलाई माथिल्लो पदमा नल्याउने यो नयॉ व्यवस्थालाई म स्वागत गर्न चाहन्छु। निजामति भित्र सिनियर र अनुभवी पदमा डबल प्रमोशन कहिले पनि प्रशासनिक संस्कृतिमा सही नीति हुन सक्दैन । अनुभव, सिर्जनसीलता र कार्यसम्पादन नै बढुवा लागि एकमात्र मूल आधार हुनुपर्छ !

बाहिरिया विज्ञ, दक्ष जनशक्ति चाहिने हो भने तिनका निम्तिमात्र सेवाप्रवेश गर्न तलब सुविधा पनि बाहिरकै जत्तिकै दिन र निश्चित अवधिका लागि करार गर्न, स्थायी सरह अधिकार दिन र विशेष नविन व्यवस्थापन विज्ञता क्षेत्रमा निम्त्याउन सकिन्छ । तर यसबाट पनि बाहिरियालाई विद्यमान भ्रष्ट प्रशासन पद्दतिमा सफल हुने संभावना देखिदैन । सेवाप्रवेश गर्दा बेस्ट ब्रेन लिने र सशक्त समयानुकूलको प्रशिक्षण उच्चशिक्षा र एक्सपोजर दिदै चुनौति र जिम्मेवारी दिदै परखगर्दै /दिदै पदोन्नति गर्दै लैजानु नै सबैभन्दा उत्तम विकल्प हो । तर केही नगर्नु पनि केही गर्नु नै हुन्छ। र जैसा करनी वैसा भरनी हुन्छ, जो अहिले मुलुकमा भइरहेकै देखिएकै छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।