बोर्डिङभन्दा निकै अब्बल सरकारी स्कुल

बुटवल स्थित कालिका मानवज्ञान माविले माध्यमिक शिक्षा परीक्षा एसइइ नतिजामा जिल्लाका सबै निजी विद्यालयलाई समेत उछिनेको छ । विद्यालयबाट एसइइ परीक्षामा सहभागी ३७१ विद्यार्थीमध्ये १५ जनाले ४ सहित ३.९ माथिको जीपीए प्राप्त गरेका छन् ।

५० विद्यार्थीले ३.८ माथिको जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट एसइइ दिएका विद्यार्थीमध्यै १ जनाले ४ जीपीए, १७१ जनाले ३.६ माथिको जीपीए प्राप्त गरेका छन् ।

विद्यालयका प्रअ घनश्याम पाठकका अनुसार १२५ जना विद्यार्थीले ३.२ माथिको जीपी प्राप्त गरेका छन् । ८९ जना विद्यार्थीले २.८ माथिको जीपीए प्राप्त गरेका छन् भने २.४ माथिको जीपीए ल्याउने विद्यार्थीको संख्या ३६ छ । जम्मा २ जनाको नतिजा मात्र २ जीपीए माथि छ ।

विद्यालयबाट साधारणतर्फ ३२५ र प्राविधिक तर्फका ४६ विद्यार्थी एसइइमा सहभागी भएका थिए । ५ हजार बढी विद्यार्थी रहेको मुलुककै उत्कृष्ठ मध्येको एक उक्त विद्यालयले एसइइ नतिजामा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको हो । सामुदायिक विद्यालयमात्रै होइन जिल्लाका निजी विद्यालयका नतिजासमेत उक्त सामुदायिक विद्यालयको छेउसम्म छैन ।