ताजा समाचार

असार १२ गते २०७६

मेयरको डोजरले किच्यो बालक, काटियो दुवै खुट्टा, घटना गुपचुप राख्ने प्रयास

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ। डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुट्टा काटेर उपचार भईरहेको छ ।

घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन । उता मेयर शर्माले भने क्षतिपुर्ति र उपचार गर्ने सर्तमा कुरा मिलेको बताए । स्थानीय र उनका अभिभावकहरुले सहयोगीले डोजर चलाएको कारण घटना घटेकोले कारबाही समेत हुनुपर्ने माग गरेका छन । डोजर आफ्नो रहेपनि ठेक्का अर्काको रहेकोले सम्पुर्ण खर्च ठेकेदारले नै व्यर्होने भएपछि कुरा मिलेको मेयरले जिकिर गरे ।

तर प्रहरी मुचुल्का तयार नगरेको र सहयोगीलाई डोजर चलाउन दिएको बिषयमा भने कुनै कुरा नभएको स्थानीयले आरोप लगाएका छन । सार्वजनिक पदमा रहेका मान्छेका नजिककाले घटना घटाउदा प्रहरी मुचुल्का समेत तयार नगर्ने र सहयोगीलाई कारबाही नहुने भन्दै स्थानीय डिल्ली शर्माले आक्रोस व्यक्त गरे ।

रोकाको अहिले दुवै खुट्टा काटेर ललितपुर स्थित आन्नद बन अस्पतालमा उपचार भईरहेको भएपनि घटनाको न प्रहरी रिर्पोट नै छ न जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय चौरजहारीले आफुहरुलाई जानकारी नै नभएको बताएको छ ।

मेयर शर्माले भने मुचुल्का भन्दा बालकको ज्यान बचाउनतर्फ जोड दिएको दाबी गरे तर नगरका स्थानीय ठेक्का पटटामा मेयर शर्माले हालीमुहाली गरेकाले यस्ता घटनालाई सामान्य रुपमै मिलाउने गरेका छन । उनी पुर्व माओवादीबाट निर्वाचित मेयर हुन । रुकुमका सामाजिक अभियान्ता र विद्यार्थी नेताहरुले उक्त घटनावारे विरोध जनाएपछि मात्र घटना सार्वजनिक भएको हो ।