पछिल्लोपटक साहित्य बजारमा आएका किताबको सूचीमा `गोहो´ को आफ्नै किसिमको चर्चा छ । सोही पुस्तकमाथी शनिबार चितवनमा अन्तरक्रिया गरियो । लेखक जिके पोख्रेलको `गोहो´ मा १० कथा छन् । किताबमाथि समीक्षकद्वय डा. एकनारायण पाैडेल र रमेश प्रभातले टिप्पणी गरेका थिए ।
`सम्पूर्ण किताब एक बसाइँमा पढेर सकिन्न । तर, हरेक कथा एक बसाइमा पढेर सकिने खालका छन्,´ गोहोमाथि बोल्दै समीक्षक डा. एकनारायण पौडेलले भने, `कथामा पारम्परिक बिम्बका अलावा लेखकले आफैँ सिर्जना गरेका बिम्बको राम्रो प्रयोग भएको छ ।´ उनले कथाले उठान गर्न खाेजेकाे विषयमाथि प्रकाश पार्दै भने, `अधिकांश कथाले द्वन्द्वकालीन समयका घटनाक्रमलाई प्रस्तुत गरेका छन् ।
अर्का समीक्षक रमेश प्रभातले सामाजिक परिवेशमा लेखिएका कथाहरू पठनीय खालका भएको बताए । उनले भने, `गाेहाेले विगत दशककाे समकालीनता बाेलेकाे छ । हामीले निकट विगतकाे दशकमा जुन जीवन बाँचेर अायाैँ त्यसकाे राम्राे चित्र छ । गाेहाेका कथामा सामाजिक जीवनलाई द्वन्द्वले पार्ने असर कतै न कतै अाएकै छ । यति हुँदाहुँदै पनि कथामा प्रजातान्त्रिक साेच हाबी भएकाे हाे कि भन्ने लाग्छ । अर्थात्- जनयुद्धका सकारात्मक प्रभावमाथि भने कथाकार माैन छन् ।´
किताबकाे शक्तिकाे बारेमा चर्चा गर्ने क्रममा प्रभातले भने, `समाजकाे वास्तविक घटनाजस्ता लाग्ने समाचारमा मात्रै पढिँदै अाएका कुराहरूकाे सुन्दर अाख्यानीकरण भएकाे छ ।´
पुस्तकमाथी सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, विजय विश्वकर्मा र सन्ध्या सापकोटाले पनि आफ्ना टिप्पणी राखेका थिए । जिके पोखरेल लेखन र सम्पादनका अलावा प्राध्यापन गर्छन् । २०६४ सालदेखि कथा लेखन थालेका पोखरेलका यसअघि जून निदाएको रात (२०६९) र स्वाभिमानको चिता (२०७०) कथासङ्ग्रह प्रकाशित छन् । कार्यक्रम अक्षर समूहले आयोजना गरेको हो ।




