ताजा समाचार

जेठ २ गते २०७६

गाउँपालिकाको ढोका फोरेर च्यातियो गाउँ सभाको माइन्युट

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको गाउँ सभाको माइन्युट च्यातेर नष्ट गरिएको छ । रातिको समयमा बैठक कक्षको ढोका फोडेर माइन्युट च्यातिएको अवस्थामा फेला परेको छ । माइन्युट कसले च्यात्यो भन्ने एकिन भने हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । बैठक कक्षमा नै राखिएको माइन्युट च्यातिएको पाइएको प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । माइन्युटमा चौथो गाउँसभाले सेवा केन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो ।

निर्णय भएपछि बजारबासी आन्दोलित भएका थिए । मंगलवार आन्दोलन भएपछि तत्काल निर्णय कार्यान्वय नगर्नेसहितका पाँच बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सोही राति कार्यालयको ढोका फोरेर माइन्युट च्यातिएको हो ।