लैना गाई भैसी र बिगौतीको कथा !

बुवाले गाउबाट ल्याइदिएको ब्याउति दूध फ्रीजबाट निकालेर तताएर खाइयो। पहेंलो देखेपछि थाहा भयो, बाले गाई पालेका रछन। कुडेमा तात्दै गरेकोे ब्याउतिको त्यो बेला लामो कथा हुन्थ्यो। गाईको दूध कुडेमा देखाउदै नदेखाइकन गर्जो टार्नको लागी भकाराबाट सिधै डेरीतिर कुद्नुपर्ने बाध्यता हुदैनथ्यो। त्यसैले कोही सलक्क परेका सेता, अनि कोही टलक्क टल्किने काली भैँसी पालिन्थ्यो। पछिपछि मुर्‍आ पनि पालियो। रागो खोजेर भैँसी कराएर रातभरि सुत्न नदिएपछि भोलिपल्ट बिहानै रागोको पछि भैसि, भैँसीको पछि बा अनि बाको पछि हामी दौडिन्थ्यौ। यदि त्यो दिन भाज्ञले साथ दिएर रागोको बल मिस भएन भने यो ब्याउतिको कथा सुरु हुन्थ्यो। अनि दिन गन्न थालिन्थ्यो कमसेकम एक्काइस दिनभित्र त्यो भैँसीको थून नपगृयोस। अन्यथा फेरी अर्को रात सुत्न नपाइने हुन्थ्यो।

अर्को चिन्ता ब्याउने भएको भैसीलाई अब दूध सजिलै दिन गारो भएर दुहुने बेला उफृन्थ्यो। अनि बालाई रिस उठेर चिर्पाटे दाउराले खुट्टा र करङ्मा बजार्दा आफैलाई बजारेको अनुभूतिले पिडा हुन्थ्यो। केही दिन वा महिनापछि भैँसी एक साझे हुन्छ, मतलब दिनको एक साझ मात्र दूध दिनसक्ने हुन्छ। चिर्पाटे दाउराहरु भाचिदै जान्छन् । बिस्तारै भैँसी अब दूध दिन छोड्छ। बिचरा त्यसले अब पराल र फालेको खस्रो घासमा चित्त बुझाउछ, गतिलो घाँस खान पाउदैन।

नौ दिनमा दूध चोखाएपछि बल्ल ठेकामा दूध राखेर घ्यु बनाउने चलन हुन्छ।

ब्याउन लगभग एक महिना बाकी भएपछि फेरी त्यसका दिन आउछन। ठेटा, अथवा भुटेको अन्नको फतलो खान पाउछ, अब। पेट भारी हुँदै जान्छ भने कल्चौडो भरिदै जान थाल्छ। दिनदिनैका त्यसका परिवर्तन हेर्नु सगै घाँस काट्न मज्जा लाग्छ हामिलाई, कहिले त्यो ब्याउछ अनि ब्याउति खान पाइन्छ। कल्चौडो अगाडी नाइटो भन्दा पछाडी बडेको राम्रो मानिन्छ, दूधको हिसाबले। अब हामिलाई भैँसी ब्याउने दिन अर्थात किलोको हिसाब किताब हुन्छ। किलो नकाटिकन अथवा अगाडी नै ब्याइदिए हाम्रो जिब्रो रसाउने हुन्थ्यो। कतै पाडो उल्टो बसेको छ कि, चिन्ताको विषय हुन्थ्यो। अनि आमाहरुले छोरो पाए खुसि हुने बाहरु भैसीले चाहि पाडी नै पाइदिए खुसि हुन्थे। खेल्दाखेल्दै एउटा साथिले खवर ल्याउछ, तेरो भैँसीले पानी पोको निकालेको छ, जा बा कहा छ्न भन्न जा! सकेसम्म बा नजिकै भैदिए अब आइपर्ने विपद सहज हुन्थ्यो।

बा आउछन अनि कालो तपेसमा पानी तात्न थाल्छ। आमा एक दुर्इ माना घ्युको जोहो गर्न थाल्छिन किनकि उम्रो फाल्न भैसिलाइ तागत चाहिन्छ। एकैछिनमा पछाडीपट्टिबाट भैँसीले पाडो खसाल्छ। आधा काम त पूरा भयो। बाले जुरुक्क उचालेर पाडो भैँसीको अगाडी राख्दिन्छन। भैँसी पाडो चाट्न थाल्छ र अहिलेका बच्चालाई जस्तै नुहाइदिन्छ चाटेरै। यदि बालाई दूधको लोभ लाज्ञो भने र पाडी नभई पाडो रछ भने त्यो पाडो कतै बिलाउथ्यो। छोराछोरिलाई ब्याउति चाख्न हतार अनि सुत्केरिलाई थून चस्किने हुनाले उम्रो नफालिकनै बाले ठूलो बाल्टिभरि ब्याउति दूध दुहुन्थे।

अब एकातिर त्यो खस्रो ब्याउति तताउन ठुलो कराई बसालिन्छ तर भैसीले उम्रो नचुडालीकन पुरै खसालिदिए पुरै काम सकिन्थ्यो। आगोमा ब्याउति दूध तताउन पसिना नै निस्किन्थ्यो। त्यसलाई अलि बेसि पकाउनु पर्थ्यो। अब त्यो ब्याउति देबतालाई नचराइकन कसैको अधिकार हुदैन। निगालाको टुक्रा चिरा पारेर, बेडुलाको पातमा पोको पारिएको ब्याउति निगालाको कप्टेराभित्र छुट्टै तरिकाले कतै राखिन्थ्यो। अन्त्यमा यो खस्रो ब्याउति चाहि तिन पुस्ते दाजुभाईलाई बाडेर चखाएपछि बल्ल खान पाइन्थ्यो। अर्को पाला देखीको मसिनो ब्याउति चाहि दुर्इ पुस्ते दाजुभाइसग बाडेर खाइन्थ्यो। नौ दिनमा दूध चोखाएपछि बल्ल ठेकामा दूध राखेर घ्यु बनाउने चलन हुन्छ।

प्रविधिले धनी बन्दै गरेका हामी संस्कृतिले कति खोक्रो हुदैछौ, कहिलेकाहीँ उदेक लाग्छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।