खेलकुदबाट समृद्धिको सम्भावना

समृद्धि ! निर्वाचन पछि सबैभन्दा धेरै भनिने र बोलिने शब्द हो । समद्धि प्राप्त गर्न हरेक क्षेत्रमा पुर्वाधार तयार पार्ने काम शुरु भईसकेको छ । शिक्षा, स्वास्थ्य, पर्यटनसँगै पछिल्लो समय खेलकुदबाट समृद्धिको परिकल्पना गरिएको छ । पोखरा आफैंमा पर्यटकीय शहर । त्यसमा जोडिएको छ खेलकुद । अर्थात स्पोर्टस टुरिज्म(खेल पर्यटन) । खेलुकदका पुर्वाधार धमाधम शुरु भईसकेको छ ।

पोखराको लक्ष्य साग गेम्स हो । त्यही लक्ष्य पुरा गर्न शुरु गरिएको छ पोखरा रंगशालाभित्र फुटबल मैदानसहितको प्यारापिट । मैदानसँगै जोडिएको होम अफ पोखरा क्रिकेट । जहाँबाट पोखराले अन्तराष्ट्रिय छवि बनाईसकेको छ । फोटोबाटै अन्तराष्ट्रिय पुरस्कार जितेको क्रिकेट मैदानमा वर्षदिन अघि मात्रै पोखरा प्रिमियर लिग क्रिकेटको शुरुवात गरियो । जसलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले वेभसाईट मार्फत खेललाई प्रत्यक्ष प्रशारण गर्यो । प्रत्यक्ष प्रशारणले पोखरालाई पर्यटन मात्रै होईन खेल पर्यटनको शहरको रुपमा अन्तराष्ट्रिय बजारीकरण गराईदियो ।

नेपाल सरकारले आगामी डिसेम्बरमा साग गेम्स गर्ने अन्तिम निर्णय गरिसकेको छ । त्यसको पुर्वाधार धमाधम शुरु गरिएको छ । पोखरामा सागलाई लक्षित गर्दै फुटबल मैदान र आर्चरीको भेन्यु बनाउन तल्लिन छ । फुटबल मैदान बनाउन आवश्यक टेण्डर प्रक्रिया टुग्ंयाई जग खन्ने तयारी छ । जमिन सम्याई जगको काम अबको केहीदिनभित्रैमा शुरु हुने छ । १ अर्ब २७ करोडको योजनालाई पुरा गर्ने जिम्मेवारी भारतीय ग्रेट स्पोर्टस र एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी) लिएका छन् । यो वर्ष ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल सरकारले आगामी डिसेम्बरमा साग गेम्स गर्ने अन्तिम निर्णय गरिसकेको छ । त्यसको पुर्वाधार धमाधम शुरु गरिएको छ ।

मार्शल आर्ट खेलको लागि १६ करोड रुपैयाँको बहुउद्देश्यीय कभर्ड हल तयार भईसकेको छ । आन्तरिक सिट, साउण्ड सिष्टम र पार्केटिङको काम टुग्याउनुपर्ने छ । आर्चरीको लागि पनि राष्ट्रिय खेलकुद परिषद मार्फत २ करोड ४० लाख रुपैयाँको बजेटबाट काम पुरा गरिएको छ । बाँकी केवल मैदानलाई ग्रिनरी(दुबो रोप्न) बनाउने काम बाँकी रहेको छ । पोखरा रंगशालाभित्रै अर्को पुर्वाधार हो टेनिस कोर्ट र व्याडमिन्टन कभर्ड हल । दुवैलाई परिषदले लगानी गरेको छ । तर पुर्वाधार तयार भने भईसकेको छैन् । बजेटले नै अडकिएका छन् । १ करोडमा टेनिस कोर्टको भौतिक पुर्वाधार बनाउने तय गरिएको थियो । तर बजेट अभावमा रुमलिएको छ । हार्ड कोर्ट बनाउन बाँकी छ । अर्को क्ले कोर्ट बन्ने छ । अहिले ५ वटा क्ले कोर्ट छन् । जुन कोर्टमा भर्खरै मात्र अन्तराष्ट्रिय टेनिस महासंघले दिएको यु–१४ सर्किट १–२ का खेलहरु आयोजना गरियो । जुन प्रतियोगितामा विभिन्न २० देशका खेलाडी तथा अफिसियल एवं अभिभावकको उपस्थितिले पोखरालाई खेलकुद शहरमा परिभाषित मात्रै गरेन कि खेलकुदले पर्यटनलाई समेत टेवा पुर्याईदिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल सुनाउँछन् । भन्छन–‘ फुटबल र अन्य पुर्वाधार बनेपछि पोखरा ‘स्र्पोटस हब’ बन्ने छ ।’

पोखरा प्रिमियर लिगबाट अझै माईलेज पाएको रंगशालाको क्रिकेट मैदान अन्तराष्ट्रियस्तरको बनाउने धुनमा परिषद छ । आवश्यक डिपिआर समेत बनाईसकिएको छ । यद्यपी बजेट निकासा नहुदाँ ठ्याक्कै पुर्वाधारको काम भने भएको छैन् । तर मैदान फराकिलो बनाउन माटो भर्ने काम भने गरिएको छ । केवल १० लाख रुपैयाँबाट माटो भर्ने काम गरिएको छ । मैदान फराकिलो बनाइएको छ । अर्को संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरिदाँ मैदानको स्वरुप अझै परिवर्तन हुने विश्वास पोखरेली क्रिकेट प्रेमीले गरेका छन् ।

गल्फ पर्यटक तान्ने अर्को खेल हो । वर्षेनी सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्षमा आयोजना गरिने छ । विजयपुर खोला वारी र पारी गर्दै गल्फ खेल्ने धोको पोखरा छिर्ने आन्तरिक तथा बाह्य पर्यटकले पुरा गर्न गल्फ कोर्ष पुग्ने गर्छन् । त्यसो त पछिल्लो समय बेलायती सेनामा भर्ती भएका नेपालीहरु (जो गैर आवासिय नेपाली) वर्षेनी गल्फ खेल्नकै लागि एक बटालियन टोली आउने गरेको छ । ‘गल्फ निकै अनुशासित खेल हो । आफुमा अनुशासित नभए खेलमा प्रगति नै हुदैन् ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन) बताउँछन् ।

सरकारले एक निर्वाचन क्षेत्र एक खेल मैदानको अवधारणा अघि सारेको छ । त्यही अवधारणाले पोखरासँगै जोडिएको गाँउहरुमा पनि धमाधम पुर्वाधारको लागि बजेट निकासा भईरहेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ठूला र साना पुर्वाधारका काम यसै आर्थिक वर्षभित्रमा टुग्याउने गरी बजेट आएको छ । कास्कीको निर्वाचन क्षेत्र नं ३ हेमजास्थित गौरीशंकर खेल मैदानलाई ५० लाख रुपैयाँमा फुटबल मैदान व्यवस्थित बनाइएको छ । लामाचौरस्थित गोस्ते खेल मैदानलाई १ करोड ४९ लाख रुपैयाँ परिषदबाट प्राप्त भएको छ । प्राप्त रकमबाट लामाचौर गोस्ते खेल मैदान निर्माण उपभोक्ता समितिले खेलमैदानसहित प्यारापिट निर्माण गरिसकेको छ । जुन खेल मैदान पोखरा रंगशालाको बैकल्पिक खेलमैदान बन्ने सक्ने विश्वास छ ।

गण्डकी प्रदेश सरकारले पनि प्रदेशलाई स्पोर्टस सिटीको रुपमा विकास गर्न आवश्यक पुर्वाधार तयार पार्ने योजना अघि सारेको छ । बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान, गल्फ कोर्ष, एक निर्वाचन क्षेत्र एक खेल मैदान तथा हाईअल्टिच्युड खेल मैदान बनाउने अभियानलाई मुर्त रुप दिने योजना बुनेको छ । हाईअल्टिच्युड खेल मैदान बनाउन प्रदेश सरकार, खेलकुद मन्त्री तथा पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिको भने मतान्तर देखिएको छ । प्रदेशले मुस्ताङमा आवश्यक जग्गा हेरेको छ । क्षेत्रीय खेलुकदले ढोरपाटन क्षेत्रलाई उपयुक्त ठहर्याएको छ भने युवा तथा खेलकुद मन्त्रीले घान्द्रुकमा बनाउनुपर्ने सुझावयुक्त निर्देश गरेका छन् ।

आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । चार महिनाकै बीचमा सक्ने गरी राष्ट्रिय खेलकुद परिषदले पोखरा महानगरपालिका , माछापुच्छ«े तथा अन्नपुर्ण गाउँपालिकाका विभिन्न खेलमैदानको लागि १ करोड ३५ लाख रुपैयाँ बजेट निकासा गरी जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिईसकेको छ । जिम्मेवारी अनुसार खेलकुद समितिले उपभोक्ता समितिसँग सम्झौता गर्दै धमाधम काम अगाडि बढाईसकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ बताउँछन् ।

‘हामीले नियमित रुपमा कामको प्रगति विवरण र स्थलगत अध्ययन गर्दै आएका छौं । बजेट सक्ने नाममा जथाभावी काम गरेको नगरेको अनुगमन समेत गरेका छौैं ।’ उनी प्रष्याउँछन् । केही खेल मैदान विद्यालयका छन् । तिनको स्तरोन्नति गर्ने काम गरिएको छ । विद्यालयस्तरीय देखि नै खेलकुदको विकास र विस्तारसँगै खेलाडी उत्पादन गर्ने अभियानलाई सार्थकता प्रदान गर्ने उद्देश्य अनुसार विनियोजन अधिकांश बजेट विद्यालयको खेलकुद मैदान निर्माणको लागि छुट्टाईएको हो ।

पोखरा महानगरपालिका–१६ स्थित बडहर बोट इण्डोर खेलकुद मैदान उपभोक्ता समितिका सचिव नन्दु शर्मा तिमिल्सिनाले इण्डोर हलको लागि छुट्टाइएको १० लाख रुपैयाँले पर्खाल निर्माण, ढलान लगायतका काम गरिने बताए । सरकारी तथा स्थानीयस्तरको आर्थिक सहयोगबाट समितिले झण्डै १ करोड ५० लाखको लागतमा इण्डोर हल निर्माणलाई टुग्याउने योजना बनाएको छ । सरकारी तबरबाट ३५ लाख रुपैयाँ निकासा भईसकेको छ । स्थानीयस्तरबाट ३० प्रतिशत काम गरिने उनी बताउँछन् । १०१ फिट लम्बाई र ५४ फिट चौडाईको इण्डोर हलमा तीन वटा व्याडमिन्टन कोर्ट बन्ने छ । १० फिटको स्टेज समेत निर्माण गरिएको छ । तीन स्टेपको झण्डै १ सय जना दर्शक अटाउने सिमेन्ट प्यारापिट समेत निर्माण गरिने याजना समितिले बनाएको उनले बताए । उनका अनुसार भईरहेको बास्केटबल कोर्टलाई स्तरोन्नति गरिएको हो । हलको छानो छाउनेदेखि, सिटी बनाउने, पर्खाल निर्माण गर्ने लगायतका काम बाँकी छन् ।

पोखरा स्पोर्टस हब मात्रै नभई एडभेन्चर स्पोर्टस हबको रुपमा परिचित बन्दै गएको छ । बैशाखको दोस्रो साता एशिया कप र साउथ एशियान ट्रायथलन च्याम्पियनसिप हुदैं छ । त्यसभन्दा अघि प्याराग्लाईडिङको राष्ट्रिय प्रतियोगिता समेत पोखरामै आयोजना गरियो । प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ठ गन्तव्यस्थलको रुपमा परिचित सराङकोटमा वर्षेनी एफ ए आई क्याटगोरी २ अन्तर्गतको प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैं आएको छ । प्रतियोगितामा सहभागिता जनाउन विश्वका उत्कृष्ठ प्यारा पाईलटहरुको उपस्थिति हुने गरेको छ । त्यसले पनि पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा अन्तराष्ट्रिय शहरमा बजारीकरण गरिदिएको छ ।

पोखरा सफल म्याराथन, सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप, कास्की जिल्ला फुटबल संघको मनकामना केवलकार पोखरा कप, लेखनाथस्थित आदर्श युवा क्लब भण्डारढीकले आयोजना गर्ने आदर्श कप, ट्रेल रेस, साइक्लिङ पोखरा आई भी(फोर), १०० किलोमिटरको याक एट्याक साईक्लिङ रेस, बन्जी जम्प, रक क्लाईम्बिङ, क्यानोनिङ, ¥याफटिङ, कायाकिङ जस्ता प्रतियोगिताले पोखराको खेलकुद गतिविधिलाई अझ उचाईमा पु¥याएको छ । पोखराबाटै शुरुवात भएको भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता पनि पछिल्लो समय ब्राण्डिङ बन्दै गएको छ ।
अलपत्र योजना –नियमित बजेट अभावमा केही योजनाहरु भने अलपत्रै छन् । ताकेता गर्दा समेत बजेट नआउँदा काम भने अगाडि बढ्न सकेको छैन् ।

परिषदले पोखरा महानगरपालिका भण्डारढीक खेलमैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको लागि दुई वर्षयता कुनैपनि बजेट विनियोजन गरेको छैन् । बजेट विनियोजन नहुदाँ कभर्ड हल जगको फाउण्डेशन मात्रै पुरा भई अलपत्र अवस्थामा छ । परिषदले उपलब्ध गराएको ५० लाख बजेटबाट काम शुरु गरिएको थियो । जुन बजेट फाउण्डेशन निर्माणमै खर्च भएपछि आर्थिक अभावले अहिलेसम्म काम अगाडि बढ्न नसकेको स्थानीय आदर्श युवा क्लब भण्डारढीकले जनाएको छ ।

त्यसो त पोखरा रंगशालाभित्र निर्माणाधिन साग गेम्सलाई लक्षित गरी शुरु गरिएको टेनिसको पुर्वाधारको काम रोकिएको छ महिना भन्दा बढी बित्यो । निकासा भएको एक करोडबाट पुर्वाधार बनाउन शुरु गरिएको थियो । चेन्जिङरुम, शौचालयसहितको पुर्वाधार अहिले बजेट सकिएपछि रोकिएको छ । अर्को बजेट असार मसान्तपछि मात्रै आउने सम्भावना छ । त्यसले गर्दा तयारी भईसक्नुपर्ने पुर्वाधार बजेटकै अभावमा रोकिन पुगेको हो ।


‘बजेट निर्वाचन क्षेत्र अनुसार छर्नु भन्दा एउटा देखिने गरी पुर्वाधार बनाउन उपयुक्त हुन्छ । यो त केवल कार्यकर्ता रिझाउन मात्रै बजेट दिए जस्तो देखिन्छ ।’

मन्त्रीकै निर्वाचन क्षेत्रमा दुई योजना–युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफनो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं ३ मा दुई वटा महत्वपूर्ण योजना अघि सारेका छन् । अन्नपूर्ण गाँउपालिकामा पर्ने कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा हाईअल्टिच्युड खेल मैदान बनाउने योजनासहित १५ लाख रुपैयाँ छुट्टाइएको छ । छट्टाइएको बजेट अनुसार चार जना प्राविधिकले मैदानको आवश्यक अध्ययन गरी जिल्ला खेलकुद विकास समिति कास्कीमा पठाइएको इन्जिनियर प्रनिस ताम्राकार बताउँछन् ।

त्यो सँगै मन्त्रीकै आफनै जन्मगाँउ पोखरा महानगरपालिका १९ घार्मीमा बहुउद्देश्यीय कभर्ड हल बनाउन ५० लाख यसै आर्थिक वर्षको लागि छुट्टाइएको छ । द्वारेको खरबारीको लागि आएको बजेटलाई मन्त्री विश्वकर्माले आफनै जन्मभूमि घार्मीमा योजना पार्दै बजेट त्यता सोभ्mयाएका हुन् । त्यसको लागि आवश्यक डिजाईन गरी परिषदमा पठाईएको छ ।

योजना कार्यान्वयनमा समस्या–वर्षेनी खेलकुद मन्त्रालयले खेलकुद पुर्वाधार बनाउने नाममा रकम निकासा गर्दै आएको छ । निकासा गरिएको रकमले आवश्यक पुर्वाधार बन्ने सम्भावना देखिदैन् । छरिएर दिईने बजेटले पुर्वाधारको काम अघि बढाउदा अलपत्र पर्ने सम्भावना देखिन्छ । त्यसपछि बजेट नआउँदा पुर्वाधारको नाममा बेकारको लगानी देखिन्छ । गाँउ ठाँउमा पुर्वाधारको लागि छुट्टाइएको जग्गामा बनाउन समस्या हुने गरेको छ । जमिन सम्याउन नपाउँदै बजेट सकिने परिपाटीले पुर्वाधारको काम टुंगोमा पुग्ने सम्भावना नहुने खेलकुदकर्मी स्वीकार्छन् । भन्छन–‘बजेट निर्वाचन क्षेत्र अनुसार छर्नु भन्दा एउटा देखिने गरी पुर्वाधार बनाउन उपयुक्त हुन्छ । यो त केवल कार्यकर्ता रिझाउन मात्रै बजेट दिए जस्तो देखिन्छ ।’

योजना तथा निकासा भएको बजेट
पोखरा रंशगाला फुटबल मैदान –५३ करोड(कुलअर्ब २७ करोड)
आर्चरी खेल मैदान– १० लाख(खर्च भैसकेको कुल २ करोड २४ लाख)
व्याडमिन्टन कभर्ड हल–१० लाख(परिषदबाट १ करोड २० लाख प्राप्त भईसकेको )
ह्याण्डबल कोर्ट–९० लाख( काम पुरा)
बहुउद्देश्यीय कभर्ड हल–निर्माणाधिन (साउण्ड, सिट र पार्केटिङको काम बाँकी)
टेनिस कोर्ट तथा पुर्वाधार–१ करोड(थप १ करोड ५० लाख अनुमानित)
क्रिकेट मैदान–१० लाख(माटो भर्न खर्च गरिएको)
माछापुच्छ«े गााउँपालिका २ स्थित गैरखोर खेल मैदान– १० लाख
अन्नपुर्ण गाउँपालिका–४ बहादुरे माविको खेल मैदान–१० लाख,
पोखरा टुडिखेल खेल मैदान–१५ लाख,
दिव्यदृष्टि युवा क्लब खेलमैदान हेमजा–१० लाख,
बेगनास खेल मैदान निर्माण– १० लाख,
अन्नपुर्ण गाँउपालिका ६ स्थित ढावा सेभेन ए साईड फुटबल मैदान–१० लाख
पोखरा ५ मालेपाटन खेल –१० लाख,
पुम्दीभुम्दीस्थित शुक्रराज मावि खेल मैदान– १० लाख,
महेन्द्रमावि खेल मैदान निर्माण –१५ लाख,
माछापुच्छ«े ६ स्थित पृथ्वीनारायण मावि– १० लाख,
अन्नपूर्ण–८ बाकोट आधारभूत विद्यालय खेल मैदान– १० लाख,
पोखरा १६ बाटुलेचौरस्थित इण्डोर खेल मैदान– १० लाख र
उल्लेरी खेलमैदान– ५ लाख रुपैयाँ
पुम्दीभुम्दी ट्रायथलन भेन्यु–५ लाख(गतवर्ष २५ लाख)
लामाचौर गोस्ते खेल मैदान–५० लाख(हालसम्म १ करोड ४९ लाख परिषदबाट प्राप्त)
हेमजा गौरीशंकर खेल मैदान–५० लाख
धम्पुस खेल मैदान–१० लाख

kheladinews.com