ताजा समाचार

वैशाख ९ गते २०७६

लायन्सलाई थप उचाईमा पुर्याउन अघि बढेको छु -विशेश्वर आचार्य

लायन विशेश्वर आचार्य
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उमेद्वार
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

पोखरालाई आफ्नो कर्मथलो बनाएर कार्य गरिरहेका शिक्षासेवी विशेश्वर आचार्य यतिखेर लायन्स डिष्ट्रिक्ट ३२५ बि १ को द्धितिय भाइस गभर्नर बन्ने दौडमा छन् । शिक्षा संगै आचार्यले लायन्सबाट सामाजिक क्षेत्रमा गरेका कार्यहरू निकै प्रशंसनीय छ । पोखराको नोभेल एकेडेमी सहित दर्जनौं संघसंस्थामा आवद्ध आचार्यको २ वर्षपछि गभर्नर बन्ने ढोका यस वर्ष खुल्दैछ । यसका लागि अहिले द्धितिय भाइस गभर्नरमा उम्मेदवारी दिएर चुनावी प्रचार अभियानमा सक्रिय छन् । चुनावी अभियानका क्रममा आफ्नो पक्षमा देखिएको माहोलले उनी निकै उत्साहित भएका छन् । पोखरामा हुन गइरहेको लायन्स डिष्ट्रिक्ट ३२५ बि १ को आसन्न सातौं राष्ट्रिय महाधिवेशबाट लायन बर्ष २०१९-२०२० का लागी सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा विजयी बन्नेमा आचार्य ढुक्क छन् । उनै सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लायन विशेश्वर आचार्यसंग समसामयिक विषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :

शिक्षा क्षेत्रमा यतिधेरै परिचित व्यक्तित्व लायन्समा किन आउनुभयो ?
मैले लामो समय शिक्षा क्षेत्रमा रहेर काम गरिसकेको छु । तपाइँले भनेजस्तै शिक्षा क्षेत्रमा एक हिसावले सफल पनि छु । नोभेल एकेडेमीमार्फत शिक्षा क्षेत्रमा काम गरिरहँदा अथवा सेवा गरिरहँदा मैले धेरै उतारचढाव, उकाली–ओराली व्यहोरेको छु । योसंगै शिक्षा क्षेत्रबाट मैले धेरै अनुभव र शिक्षा समेत हासिल गरेको छु । शिक्षा पछिको मेरो अर्को रोजाई समाज सेवा क्षेत्र हो । शिक्षा क्षेत्रमा लाग्दा लाग्दै लायन्समा प्रवेश गर्न पुगें । त्यतिबेला मेरो उमेर २२ वर्षको मात्र थियो । त्यतिबेला हामीले रोज्ने क्षेत्र भनेको कि त राजनीति थियो, कि त समाजसेवा । राजनीतितर्फ मैले ध्यान दिइन । लायन्सका अगुवाहरूको सल्लाह बमोजिम नै म लायन्समा लागेको थिएँ र अहिले पनि उहाँहरूकै आग्रह, सल्लाह र सुझावलाई शिरोधार्य गर्दै अघि बढिरहेको छु । लायन्स अन्तर्राष्ट्रियस्तरको विशाल सामाजिक नेटवर्क हो । लायन्सको दायरा, लायन्सले सामाजिक क्षेत्रमा खेलेको भूमिका र लायन्सले गर्न सक्ने कार्य निकै नै उच्चस्तरको भएको महसूस गरें । लायन्सका उद्देश्य, नाराप्रति म निकै प्रभावित भएँ । शिक्षाबाट शिक्षा क्षेत्रमा बटुलेको अनुभव र ज्ञानलाई लायन्समार्फत समाज र मानव सेवामा समर्पित गर्न लायन्समा लागेको हुँ । मेरो बाँकी जीवन पनि लायन्सको महासागरमा समर्पित गर्ने प्रण छ ।

गभर्नर नै बन्ने चाहना कसरी आयो ?
हेर्नुस्, लायन्समा लाग्नै गाह्रो र लागेपछि निस्कनै गाह्रो छ । म जतिबेला लायन्समा लागेको थिएँ त्यतिबेला लायन्सको यतिधेरै चर्चा र चासो थिएन । जब हामी जस्ता युवाहरू लायन्समा प्रवेश गर्यौं त्यसपछि लायन्सले नयाँ मोड र उचाइ लिन थाल्यो । लायन्सको विश्वास यति बढेर गयो कि विश्व नै तरंगित बन्न पुग्यो । नेपालकै कुरा गर्नुहुन्छ भने लायन्सको माहौल यति विघ्न बढ्यो, युवामा उत्साह यति धेरै जाग्यो कि ! लायन्सको क्रेज अझै बढ्दैछ । नेपालको शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई एउटा उचाइमा पुर्यायो । नेपालमा महाभूकम्प जाँदा जनताको घाउमा पहिलो मल्हमपट्टी लगाउने काम लायन्सले नै गरेको थियो । यसले लायन्सप्रति जनताको विश्वास अझ बढेर गएको छ । लायन्समा हामी केही गर्नका लागि आएका हौं, गरिरहेका छौं र गर्छौं पनि ।
अर्को म गभर्नर बन्ने जुन कुरा छ, यो समयको परिस्थिति हो माग हो । काम गर्न पद नै चाहिन्छ भन्ने छैन तर अहिले लायन्समा मेरो आवश्यकता नै भइसकेको छ । त्यहि आवश्यकताले मलाई अगाडि डोर्याउँदै ल्याएको छ । मैले पद खोजेको होइन, पदले नै मलाई खोजिरहेको छ । लायन्समा मेरो भूमिकाप्रति धेरैको आशा, भरोषा र विश्वास पनि छ । म क्याविनेट सेक्रेटरी बन्दै गर्दा अगुवा नेताहरूले ‘विशेश्वर ! लायन्समा तिम्रो खाँचा छ । तिमी अघि बढ हामी तिमीलाई सफल बनाउन कम्मर कसेर लाग्छौं’, भन्नु भएपछि हौसला, जोस, जाँगर, उत्साह झनै बढेर आयो । लायन्समा केही गरेरै छाड्छु भन्ने अठोट पनि त्यतिबेला गरेको थिएँ । अग्रजहरूकै चाहना, सल्लाह, सुझाव अनुसार म अघि बढेको छु । आफ्ना समग्र काम धन्दा थाति राखेर मिसन र भिजन लिएर अघि बढेको छु । लायन्सलाई थप नयाँ उचाईमा पुर्याउन नेतृत्वका लागि अग्रसर भएको हुँ ।

तपाइँको पक्षमा माहोल कस्तो छ त ?
लायन साथीहरूको म प्रतिको यतिधेरै विश्वास र भरोसा देख्दा मलाई पनि निकै उत्साहित बनाएको छ । लायन अग्रज लिडर देखी धेरै क्लबका साथीहरुले मेरो पक्षमा खुलेर माहोल बनाउनु भएको छ । जब मैले क्याविनेट सेक्रेटरी भएर काम गर्ने अवसर पाएँ, माहोल त्यति बेलादेखि नै बढेको थियो । क्याविनेट सेक्रेटरी भएर काम गर्दै डिष्ट्रिक्टलाई अन्तर्राष्ट्रिय रुपमै परिचित गराउन सकें, डिष्ट्रिक्ट गभर्नरले ल्याउनुभएको योजनालाई मूर्तरुप दिन महत्वपूर्ण भूमिका निर्वाह गरें । त्यसले डिष्ट्रिक्टका ११ हजार ५ सय लायन्स सदस्यमा ममाथि आशा, भरोषा र विश्वास निकै बढेर गयो ।
लायन्सको नेतृत्व तहमा उम्मेदवारी दिएसंगै प्रतिवद्धता अभियान लिएर जब म धवलागिरी उक्लिएँ । एक किसिमको राष्ट्रिय चुनाव नै आएको अनुभूति गरायो । लामो समय लायन्सका नेताहरूसंग भेट्न र आफ्ना कुरा राख्न नपाएका सदस्यमा उकुसमुकुस अवस्थामा रहेको मैले पाएँ । उनीहरूले मसंग साक्षात्कार गर्ने अवसर पाएसंगै निकै खुलेर कुरा गरे । म माथि निकै आशा र भरोसा पनि गरेका छन् । साथै मेरै पालामा धौलागिरीले पनि नेतृत्व तहमा चाहना गरेका छन् । आफ्नै पालामा धौलागिरीलाई नेतृत्व तहमा ल्याउने मेरो पनि चाहना थियो । उनीहरू समक्ष मैले यो प्रतिवद्धता पनि जनाएको छु । धौलागिरीका कतिपय साथीहरू मेरो साथमा बाग्लुङ, म्याग्दी र कुश्मा ३ वटै कार्यक्रम सहभागी हुनुभयो । मेरो पक्षमा माहोल सृजना गर्न खटिनुभयो । त्यसपछि म स्याङ्जा पुगें त्यहाँ पनि धौलागिरीकै जस्तै माहोल बन्यो । यस्तै, तनहूँ लमजुङ, गोर्खा, हुँदै बागमती प्रवेश गरें । बागमती क्षेत्रमा त ८० प्रतिशत भन्दा बढी साथीहरु मेरो पक्षमा खुलेरै लागेका छन । यी सबै जिल्लाका लायन सदस्यमा मैले यतिधेरै उत्साह कहिल्यै पाएको थिइन । म सबै साथीहरुप्रति कृतज्ञ पनि छु ।

तपाइँ डिष्ट्रिक्ट गभर्नर बनेपछि गर्ने कार्य योजना के–के छन त ?
सबै लायन साथीहरुको म माथीको साथ र बिस्वास देख्दा अबको २ वर्षपछि गभर्नर बन्ने निश्चित छ । लायन्सले गर्ने काम भनेको समाजसेवा तथा मानव सेवा नै हो । सरकारसंग सहकार्य गर्दै हामी भन्दा कम अवसर पाएका नागरिकको सेवा गर्ने हो । म नेतत्वका लागि अघि बढ्दै गर्दा नेपालमा अन्तर्राष्ट्रियस्तरबाटै मेघा प्रोजेक्ट ल्याउने प्रयास हुनेछ । दीगो परियोजना अन्तर्गत गरिबी निवारणका लागि भूमिका खेल्नेछु । लायन्स क्लब्स संसारको सबैभन्दा ठूलो सेवा संगठन हो । यसले मानवीय सेवा गर्छ र आफूभन्दा बढी समस्या भएका र आफूले भन्दा कम अवसर पाएकालाई सहयोग गर्ने यसको उद्देश्य हो । त्यही उद्देश्यअन्तर्गत लायन्स क्लब सञ्चालित छ । सबैको भावना समेटेर लायन्सलाई अझै माथिल्लो तहमा पुर्याउने मेरो प्रयास हुनेछ । गभर्नरहरूले ल्याउने योजनामा दिलो ज्यान दिएर पूर्ण समर्थन र सहयोग गर्नेछु । डिष्ट्रिक्टलाई सबै सदस्यले गर्व गर्ने तथा सबै अटाउने खालको संस्था बनाउनेछु । एउटा युवाले हाँकेको संस्था यस्तो सम्म हुँदोरहेछ भन्ने अनुभूति गराउने छु । रोलमोडल भएर काम गर्नेछु ।

लायन्समा चुनाव जित्न पूर्व गभर्नरहरूको भूमिका महत्वपूर्ण मानिन्छ । के सबै पूर्व गभर्नरको सहयोग यहाँलाई हुन्छ ?
ठीक कुरा उठाउनुभयो । चुनावमा पूर्व गभर्नरहरू भूमिका नै रोलमोडलको रुपमा हुन्छ । जे जसरी भए पनि उहाँहरूले लायन्स हाक्नुभएको हो । अझै पनि उहाँहरूको सहयोग विना लायन्स अघि बढ्नै सक्दैन । उहाँहरूकै सल्लाह, सुझाव र निर्देशन अनुसार नयाँ गभर्नरले लायन्स हाँक्ने हो । अब पूर्व गभर्नरले मलाई सघाउने कुरा छ, अवश्य सघाउनुहुनेछ । म उहाँहरूको राय सल्लाह, सुझाव बिना एक कदम पनि अघि बढेको छैन । उहाँहरूले नै विशेश्वरको पालो आयो, अब अघि बढ्नुपर्छ भने अनुसार नै म अघि बढेको हुँ । उहाँहरूले यसपटक अघि नबढ भन्नुभएको भए म अघि सर्दैनथें । मलाई आशा छ, तीन तिहाई पूर्व गभर्नर सावहरूको सहयोग मलाई हुनेछ । म आफ्नो एजेण्डा र पूर्वजलाई सम्मान गर्दै अघि बढेको छु । म दिनका लागि लायनिजममा लागेको हो । सहमतिको प्रयास भईनै रहला । तर पनि म पूर्व गर्भनरहरुको विवेकशील निर्णयलाई मान्न तयार छु ।

यसअघिका गभर्नरहरूले फरक–फरक मुद्धालाई प्रमुख बनाएर अघि बढ्नुभयो । तपाइँ गभर्नर बन्दै गर्दा के हुन्छ ?
समृद्धि र स्वरोजगार प्रमुख विषय नै मेरो एजेण्डा हो । लायननिजममा लाग्नुको अर्थ कुनै कुराको प्राप्तिका लागि हो भने त्यो आत्म सन्तुष्टि नै हो । जसलाई अरुको सेवाबाट आत्मसन्तोष मिल्छ त्यो व्यक्ति नै लायनिजममा लाग्ने हो । हामीले अब कनिका छरेजस्तो गरेर गर्ने कामलाई निरुत्साहित गरेर समाजले देख्ने गरी काम गर्न जरुरी छ । समृद्ध नेपालको सपना अगाडि बढिरहँदा लायननिजमा लाग्नेहरु पनि अब समृद्धिको बारेमा लाग्नुपर्छ । म पनि यो देशमा सधंै गरिवी भोकमरी रहोस् भन्ने सोच्दिन । त्यसैले अब लायनवादमा लाग्नेहरुले पनि यस विषयमा सोच्नुपर्ने हुन्छ । ४२ वर्षे ठिटो एक सय वर्षसम्म चलेको चलनलाई पूरै परिमार्जन गर्न त सम्भव नहोला । यो त हाम्रो सोचमा भर पर्ने कुरा हो।

अन्त्यमा भन्नु पर्ने केही छ की ?
समाजमा रहेर जबसम्म एकले अर्काको अस्तित्व स्विकार गर्न सकिँदैन तबसम्म हामीले चाहेको र गर्न खोजेको काममा पूर्ण सफलता प्राप्त गर्न सकिंदैन । म कसरी देखिने गरी काम गर्न सक्छु भन्ने विषयमा बिगतबाटै योजना बनाएर अगाडि बढेको छु । समाजलाई अब सक्षम नेतृत्व चाहिएको छ । बेरोजगार कम गर्ने र उद्यमशिलताको विकास गर्ने क्षमतावान् युवा सोचको मान्छे चाहिएको छ । १९९८ जूलाई ३१ मा पोखराकै छैटौं क्लबको रुपमा स्थापित लायन्स क्लब अफ पोखरा सेन्ट्रलको सदस्यको रुपमा क्लबमा प्रवेश गरेको हुँ । अनि क्लबको सदस्य, सह–सचिव, पि.आर.ओ., तृतीय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष हुँदै लायन वर्ष २००६-००७ को क्लब अध्यक्ष भए । लायनिजमको अभियानमा डिष्ट्रिकको जोन चेयर पर्सन, रिजन चेयर पर्सन, कमिटी चियर पर्सन, चिफ एम्बेस्डर अफ गभर्नर, कोचिफ एडभाइजर हुँदै लायन वर्ष २०१५-१६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेको छु ।

सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालमा उद्यमशिलताको विकास र प्रवद्र्धन गर्न स्थापित नोभेल युनुस सेन्टरको अध्यक्ष, नोभेल फाउन्डेसनको उपाध्यक्ष र पोखरा जेसिसको अध्यक्ष समेत भई काम गरेको अनुभवले अहिलेको आकाँक्षी पदलाई स्थापित गर्न सक्नेमा म बिश्वस्त छु । पढाई र समाजसेवा भनेको मेरो जीवनमा पर्याय जस्तै हुन् । त्यसैले मैले एमबीबीएसम्म अध्ययन सँगसँगै मेल्भिक जोन फेलो डोनर र नेपाल लायन्स फाउण्डेशनको प्लाटिनम लिड डोनर समेत भएर काम गरे भने टियू लायन्स ब्लड बैंकका संस्थापक सदस्य भएर पनि आफूलाई समाजको अंगको रुपमा स्थापित गर्ने प्रयास गरेको छु । लायन वर्ष २०१५-१६ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्टयान्डर्ड ग्रान्ट अन्तर्गत मुटुरोग उपचार केन्द्र स्थापनका लागि १ लाख डलर प्राप्त गर्ने सन्दर्भमा होस् वा लायन वर्ष २०१६-१७ मा लेखनाथ लायन्स अस्पतालमा १ करोड ५० लाखको लागतमा मातृशिशु कक्षा स्थापना गर्न प्रोजेक्ट चियरपर्सनको रुपमा गरेको छु । यसमा कसैले पनि नजरअन्दाज गर्न सक्दैनन् । अन्त्यमा फेरी भन्छु म दिनका लागि लायनवादमा होमिएको हो । हामीमा खुला प्रतिस्पर्धा हुने कुरालाई सकारात्मक रुपमै लिएको छु । सेवा गर्ने संस्थामा नेतृत्व लिदै गर्दा प्रतिस्पर्धा नभएको भए बेश हुन्थ्यो । जे होस यो निर्वाचन अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञ छु । तपाईहरुले यो पटक मलाई अमुल्य भोट दिई न्याय गर्नुहुनेछ भन्नेमा बिश्वस्त छु ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...