मेरो पालामा धवलागिरिलाई अवसर : विशेश्वर आचार्य


लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्य आफू डिष्ट्रिक्ट गभर्नर बन्ने वर्ष धवलागिरिले डिष्टिक्टमा अवसर पाउने प्रतिवद्धता जनाएका छन् । उनले आफूले नेतृत्व पाउँदै गर्दा धवलागिरिबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर बनाउने आफ्नो चाहना रहेको सुनाए ।

३ वटै जिल्लामा भएको कार्यक्रममा नेता आचार्यले धवलागिरिलाई सहयोग गर्न आफू सधैं प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘तपाइँहरू ढुक्क हुनुहोस् । म धवलागिरिको मागप्रति सधैं सकारात्मक छु । डिष्ट्रिक्टमा मैले नेतृत्व पाउँदै गर्दा धवलागिरिले महत्वपूर्ण अवसर पाउँछ । यतिबेला मलाई तपाइँहरूको सहयोग र समर्थनको खाँचो छ ।’

आचार्यले सबैको भावना, चाहना, सल्लाह र सहमति अनुसार आफू अघि बढेको भन्दै कदापि पछि नहट्ने स्पष्ट पारेका थिए । उनले लायन्सभित्र मन विभाजन गर्ने चेष्टा भएको भन्दै यसलाई असफल पार्नुपर्नेमा जोड दिए । उनले भने, ममाथि अन्यायको प्रयास भइरहेको छ । न्यायाको खोजीमा तपाइँहरू समक्ष आएको छु । लायन्सभित्र एकखालको सहमति, तपाइँहरुसंगको सल्लाहबाट मात्र म अघि बढेको छु । मलाई विश्वास छ मैले अवश्य न्याय पाउनेछु ।’

साथै सहमतिको प्रयास भइरहेको, सहमतिकै लागि अग्रजहरूले पनि प्रयास गरिरहेको र पटकपटक छलफल भइरहेको भन्दै अन्तिममा सहमति भएर आफू एकमात्र उम्मेदवार बन्ने उनले विश्वास व्यक्त गरे ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशनमा डिष्टिक्टका करिब ३ हजार प्रतिनिधि सहभागी हुने बताइन्छ । पोखरास्थित २६ वटा महिला लायन्स क्लबले महाधिवेशन आयोजना गरेका छन् ।

महाधिवेशनले २ वर्षपछिको गभर्नर निर्वाचित गर्ने भएकाले महत्व र चासोको रुपमा हेरिएको छ । २ वर्ष पछि गभर्नर बन्न पाउने अवसर यसपटक पोखराले पाएको छ ।
उक्त महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका आचार्यले डिष्टिक्ट अन्तर्गतका जिल्लामा प्रतिवद्धता अभियानसंगै र समर्थन मागेर फर्किएका छन् । उनी अहिले लायन्सका पूर्व गभर्नरहरु लगायत नेताहरुसंग घनिभूत छलफलमा छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।