ताजा समाचार

चैत्र २८ गते २०७५

कहाँ खोज्ने भविष्य ?

यो विश्वमा लाखौं पशुपंक्षी छन्, अनेक जातका बोट विरुवा छन् । ती सबैमध्ये चेतना भएको र सबैलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गर्ने मानिस विवेकमा सबैभन्दा श्रेष्ठ छ । त्यसैले होला मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिएको । यही मान्छेका अनेक चासो छन्, चिन्ता छन्, दुःख छन्, खुसीका विषय पनि छन् । अहिलेलाई विश्वकै इतिहास भनेको करिब करिब यही मान्छेको इतिहास हो । उसको विकास, समृद्धि, सहकार्य, झगडा, विकास र आकांक्षाको इतिवृत हो । मानिस पहिल्यैदेखि आफ्नो र आफ्ना सन्ततिको भविष्यप्रति चिन्तित रहेको देखिन्छ । धेरै मानिसको जीवन यही चिन्ताको समाधान गर्ने यत्नमै सकिन्छ । कतिले भविष्यको लक्ष्य भेट्टाउछन्, कति बीचैमा थाक्छन् । थाक्नेहरु शिखरमा नपुगी बीचमा हराउँछन् ।

नेपालीको भाग्य अहिले आफ्नै हातमा छैन । हामी अहिले देशमा भविष्य खोज्दैनौं । औकात अनुसार भविष्य खोज्ने चलन सुरु भएको छ । सक्नेहरु अमेरिका, युरोप र विकसित मुलुकमा भविष्य खोज्छौं । हैसियत कम भएकाहरु अरब, मलेसिया आदि देशमा सपना खोज्न भौतारिन्छौं । त्यति पनि नभए छिमेकी भारतकै विभिन्न सहरमा सुखको खोजीमा चाहार्छाैं । कालापत्थर र कोइलाखानीमा ज्यामी हुन्, होस् कि दरबार र कुल्ली हुन्, देश छाड्छौं । केही युवायुवती सहर झरेका छन् । कमाइ नभए पनि, आवश्यकतै नभए पनि हामीलाई गाउँ जान, त्यहाँ काम गर्न लाज लाग्न थालेको छ । ७, ८ हजारको जागिर खाएर भए पनि सहरमै बस्नुपरेको छ । परिवारमा श्रीमान् वैदेशिक रोजगारीमा गए छोराछोरी पढाउने बाहानामा वा अन्य निहुँमा श्रीमती सहर झरिहाल्छन् । गाउँका तेज हराएका झुप्राहरु कुर्ने बुढाबुढाहरु मात्र बाँकी छन् ।

पुर्खाले खुकुरीले मात्र युद्ध जितेको इतिहास सम्झेर वर्तमान सुन्दर बन्दैन । भविष्य त झन् बन्ने कुरै भएन । भविष्य अब आफ्नै देशमा खोजौं ।

कुनै समय नेपालका गाउँहरु गुल्जार थिए । अर्म, आलोपालो गरेर खेतीपाती, निर्माणका काम गरिन्थे । गाईवस्तु पालिन्थे, सहर गएकाहरु पनि गाउँ पुग्न हतारिन्थे । गाउँको झल्को धेरै समयसम्म लागिरहन्थ्यो । तर अहिले गाउँहरु मणि हराएको सर्पजस्ता भएका छन् । उनीहरुको आकर्षण सकिएको छ । घरबारी नै बाँझा हुन थालेका छन् । मलामी र जन्ती पाउन पनि कठिन हुन थालेको छ । छोराछोरीलाई चामल, दाल सहर पठाउने गाउँहरु अचेल सहरबाटै चामल र दाल लैजान्छन् । त्यहाँ मकै भुटिदैन, रोटी हालिन्न, सहरकै चाउचाउ, थुक्पा, मम, चाउमिन पुगिसके । मेलापातका भाकाहरु हराइसके, हिन्दी र पप गीत बज्छन् ।

नेपालीको भविष्यको खोज पुरानो हो । पहिला सकेसम्म सरकारी जागिर खाने प्रयास हुथ्यो । नसके खेतीपातीको विकल्प थिएन । कोही कोही परदेशिन्थे, अर्थात लाहुरे हुन्थे । विदेश गएर धन कमाएर ल्याउनेहरुको शान, सौकत नै बेग्लै हुन्थ्यो । परदेशिनेहरु सबैका दिन फिरेका थिएनन्, कतिपयले दुःख पनि पाएका थिए । विदेश जानेहरुका दुःखका कथा नेपालीबीच ज्यादै प्रिय छन् । मुनामदनको कथा सुनेर हुर्किएका हामी अहिले दैनिक ४, ५ लाख विमानस्थलमा देख्नुपर्ने अवस्थामा छौं । दैनिक १५ सय बढी युवा विदेशिन्छन् ।

शिक्षादीक्षा दिएर, पालेर, सक्षम बनाएर हामी विदेशीको सेवामा युवा शक्ति पठाउँदै छौं । हामी देशलाई के बनाउन खोज्दै छौं ? यसबारे गम्भीर बहस जरुरी छ । चालिस कटेसी रमाउँला भन्ने गीत सुनेर भावुक हुँदैमा मात्र अब हाम्रो भविष्य फेरिन्न । मरुभूमिका सुन्दर बगैचा बनाउने हातहरुलाई चुहिरहेका गाउँका घरका छानाहरु प्रश्न गरिहेका छन् ः तिमीहरु जिउँदै त छौं ? मरुभूमिमा सुन्दर बगैचा बनाउनेहरुलाई बाझिँदै गएका खेतबारीहरुको प्रश्न छ ः यहाँ मान्छे बस्छन् कि बस्दैनन् ?

देशमा गणतन्त्र आएको छ । स्थिर सरकार बनेको छ । अब पनि यो क्रम रोकिएको छैन । गाउँ गाउँमा वैज्ञानिक खेती, उद्योग धन्दाको विकास हुनु जरुरी छ । खाद्यान्नमा समेत परनिर्भर भएर हामी अझै कृषिप्रधान देश लाजै नमानी लेखिरहेका छौं । पुर्खाले खुकुरीले मात्र युद्ध जितेको इतिहास सम्झेर वर्तमान सुन्दर बन्दैन । भविष्य त झन् बन्ने कुरै भएन । भविष्य अब आफ्नै देशमा खोजौं । यसका लागि देशकै साधन, स्रोतको प्रयोग गरौं । सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गरोस् । बल्ल हामीले खोजेको नयाँ नेपाल सँगसँगै हाम्रो भविष्य पनि भेटिनेछ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...