फेसन सप्ताहका मोडलको फोटोसुट

पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलको फोटोसुट गरिएको छ । पोखराको फेवाताल, वेगनास तार सेती नदी किनारामा उनीहरूको फोटोसुट गरिएको हो । उनीहरूका विभिन्न पोजलाई एसटु क्रियशनका फोटोग्राफर सुरज श्रेष्ठले क्यामरामा कैद गरेका थिए ।

विभिन्न रमणीय ठाउँमा तस्विर खिच्न पाउँदा मोडलहरू समेत उत्साहित थिए । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा हुने फेसन सप्ताहका लागि उनीहरूको फोटोसुट गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दिपक न्यौपानेले जानकारी दिए ।
नेपाली नयाँ वर्षको अवसर पारेर दि काठमाडांै पोष्टले प्रस्तुतिमा फेसन सप्ताह आयोजना गरेको हो ।

चैत २८ गतेदेखि ३० गतेसम्म न्यूरोडस्थित पोखरा स्काई स्र्पोटस्मा कार्यक्रम आयोजना हुनेछ । फेसन सप्ताहमा नेपालभरका २१ महिला र ५ पुरुष गरी २६ जना मोडलहरू र्याम्प वाल्कमा उत्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभूषा स्थानीय मोडलबाट प्रदर्शन गरिनेछ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउने आयोजकको विश्वास छ ।

कार्यक्रममा गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल लगायतले रौनतका थप्नेछन् । साथै कल्चरल नृत्य समेत हेर्न पाइनेछ । ३ दिनसम्म हरेक साँझ ६ बजेबाट राति ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ५ सय रुपैयाँ तिनुपर्नेछ । डिनरसहितका लागि २ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

ज्वलरी डिजाइनर मोना श्राफले मोडललाई तालिम दिइरहेकी छन् । फेसन सप्ताहमा नेपाली संस्कृति झल्कने खालका भेषूषालाई महत्व दिंदै प्रर्दशन गरिनेछ । यसले अन्तर्राष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सृजना गर्ने अपेक्षा आयोजकको छ ।

फेसन सप्ताहको मेकअप पार्टनर गुरुङ व्युटी पार्लर र अनलाइन टिकट पार्टनर खल्ती रहेको छ । ३ दिने फेसन विकमा कुल २१ वटा सिक्वेन्स हुनेछन् । मोडललाई आर्कषक बनाउन १९ जना डिजाइनर खटिनेछन् ।