कुनै पनि मुलुक विदेशीको सहयोगको भरमा वन्दैन, न कहीं बनेको ईतिहास छ । मुलुक जनताको ऐक्यवद्धता, परिश्रम, लगन, राष्ट्रप्रेम, आन्तरिक श्रोतको अत्यधिक परिचालन; विदेशी श्रोतको विवेकपूर्ण सचेष्ठ उपयोग, विश्व व्यापारमा दख्खल; रक्षा तथा अर्थतन्त्रको शक्ति र विकासको मेरूदण्ड विज्ञान र प्रविधिमा गंभीर ध्यान र निरन्तर दिगो लगानी; बिद्वान विज्ञहरूलाई निरन्तर स्वतन्त्र योगदान गर्न ईन्गेज गराईरहन सक्ने सरकारको ल्याकत, क्षमता; विज्ञ प्राविधिक अनुसंधानात्मक संस्थाहरूको निर्माण र सम्बर्धन, उच्च प्रविधिको अधिकतम् उपयोग, प्राविधिज्ञ/ईन्जिनियरहरूका निम्ति चुनौतिपूर्ण अर्थपूर्ण अवसर; मुलुकको सपना निर्माण र ती सपना पूरागर्न वलिदानयुक्त लागिपर्ने प्रतिभावान , जोखिम लिनसक्ने युवावर्गलाई उत्प्रेरितगर्ने योजना निर्माणबाट मात्र बन्न संभव र सुरू हुन्छ !
के हाम्रा अहिलेका राजनीतिक, ब्युरोक्रेटिक, व्यावसायिक उद्योगी, एकेडेमिया जस्ता विभिन्न क्षेत्रका कथित नेताहरूमा राष्ट्र निर्माण के हो र कसरी यसलाई मूर्त रूप दिने भन्ने क्षमता र सपना देखिएको पाईन्छ? नेताहरूको विदेश भ्रमण नियमित कार्य हुन् । भारतमा महिनाका सरदर २ जना विदेशी राष्ट्र वा सरकार प्रमुख वा उच्च सरकारी प्रतिनिधिमंडलको भ्रमण हुनेगर्छ र मोदीलाई पनि विदेश भ्रमण गर्ने टूरिष्ट प्रधानमन्त्री पनि भन्ने गरिन्छ । विदेश भ्रमणले मुलुक बनिहाल्छ भनेर अनावश्यक हौसिनु वा उत्ताउलो हुनु हुदैन/पर्दैन ।
मुलुक आफैले हो, आफ्नो क्षमताले हो बन्ने तर छिमेकीको सद्भाव, सकारात्मक रवैया तथा स्वतन्त्र सार्वभौमसत्ता मुलुकको सम्मान र ईज्जत गर्न छिमेकीलाई र आफूलाई प्रेरित भने गरिरहनुपर्छ । कचकचे छिमेकी भयो भने जति पनि भौतिक विकास भए पनि मनमा आनन्द र संतोष हुदैन । जसको छिमेकी असल छ, उसको जिवन रमाईलो हुने गर्छ । आफू असल वन्ने र छिमेकीलाई पनि असल बन्न तिर उत्प्रेरित गर्न सक्ने नेताको खासमा यहॉ खॉचो हो ।
नेपालमा हरेक काममा किन मतिभ्रष्टता देखिएको होला भनेर गम्दा मैले के बुझें भने- यहॉ न परम्परा, न संस्कृति, न कुनै राष्ट्रिय मूल्यमान्यता, न कुनै आधुनिक विकास र विज्ञानमूखी सोच, न दह्रो राष्ट्रिय वा अन्तरराष्ट्रिय भाषामाथि दखल, न ब्युरोक्रेसीको भिजन वा दृष्टकोण, न निजी क्षेत्रमा राष्ट्रिय पुंजी निर्माणको रहर, न नेपालको अन्तर्राष्ट्रिय पहिचान र चिनारीप्रतिको संवेदनशीलता, न मुलुकको गुदी क्षमताको ठहर, न भएको क्षमताको परिचालन, न मुलुकको खास विशेषता वा ऐतिहासिक धरोहर र समाज व्यवस्थाको जगेर्ना, न परम्परागत सामाजिक सद्भावको प्रवर्धन, न विगतको ईतिहास र योगदानको सम्मान , न वर्तमानको सुसंचालन , न भविष्यको सपना हुन पुगेको कारणले हो ।
मुलुक भूगोल मात्र हैन, राष्ट्र त सामाजिक पहिचान, मान्यता , आम-भीजन र पहिचान, विश्व व्यवस्थामा आफ्नो योगदान गर्ने तीब्र चाहना वासना हो । वासना मर्दै गयो भने यो अभिभावकत्व मरेको टुहुरो भूगोल वन्छ , फलस्वरूप नेपाली समाज समाज रहने छैन, पददलित, हेपिएको र हेप्ने मानवहरूको बगाल मात्र हुनेछ ।
लेखक नेपाल सरकारका पूर्व सचिव हुन्






