साहित्यकार छम गुरुङ पोखराका पुरस्कृत भएका छन् । गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङले स्थापना गरेको गौरी तमु लेखन पुरस्कारबाट कवि छम गुरुङलाई सम्मान गरिएको हो ।
छमलाई नगद १५ हजार ५ सय ५५, फेटा, भाङग्रासहित प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, तमु धी नेपाल उपाध्यक्ष हुम गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष क्या. इन्द्रबहादुर गुरुङ, गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष गिरीप्रसाद गुरुङ, तमु ह्युल छोंज धीका केन्द्रीय सदस्य विष्णु गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चीजकाजी गुरुङ तथा मञ्चका सल्लाहकार शान्ति गुरुङले सम्मान गरे ।
मञ्च दोस्रो स्थापना दिवसमा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गुरुङ जातिले पनि वाङ्मयिक क्षेत्रमा चासो राख्नुपर्ने सुझाव दिए । सोही अवसरमा भएको आख्यान लेखनसम्बन्धी प्रशिक्षणमा प्राध्यापक तथा समालोचक गुरुङ सुशान्तले सहभागीलाई लेखन सीप सिकाए । उनले समाज, संस्कृतिको गहिरो अध्ययन गरी प्रशस्त अध्ययनपछि मात्र लेखनयात्रामा लाग्न आग्रह गरे । प्रशिक्षणमा ४० जना सहभागी थिए ।
मञ्चका सल्लाहकार शान्ति गुरुङले कवि छम साहित्यिक जगतमा गुरुङ समुदायलाई अरु समुदायसँग चिनाउनका निम्ति काबिल रहेको बताइन् । पुरस्कृति कवि छमले पहिले पुर्खाको पालामा आफनो उमेरका युवाले विदेशी भूमिमा बहादुरी देखाएर इनाम थाप्ने उमेरमा आफूले पुरस्कार थाप्न पाएकोमा खुसी व्यक्त गरे ।
मञ्चका उपाध्यक्ष इन्जिनियर रोशन गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रम अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रोशनी गुरुङले गर्नुभएको थियो ।
मञ्चका सल्लाहकार हाल बेलायत निवासी योगेस गुरुङले आफू र आफनी श्रीमतीको नाममा १ लाख १ सयको अक्षयकोष स्थापना गरेका छन् । गुरुङ साहित्यिक मञ्चले सञ्चालन गर्ने अक्षयकोषको ब्याजबाट आगामी वर्षदेखि मञ्चको स्थापना दिवसकै दिन राष्ट्रव्यापी खुला कविता प्रतियोगिता गर्ने योजना छ ।




